गोरक्षा महायज्ञको आयव्यय सार्वजनिक

नारायणगढ । यही फागुन ३ देखि १३ गतेसम्म नारायणी नदी किनारमा आयोजित विराट् गोरक्षा महायज्ञ–२०७३ को आयव्यय सार्वजनिक गरिएको छ ।
गौ सेवा कोष स्थापनार्थ हिन्दू ॐकार भोलिन्टियर्सले आयोजना गरेको महायज्ञको आयव्यय शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महायज्ञबाट १९ लाख ३६ हजार ७७४ रूपैयाँ आम्दानी भएको छ भने ४९ लाख ५१ हजार ९९५ रूपैयाँ खर्च भएको महायज्ञ मूल समारोह समितिका संयोजक एवम् गौ सेवा कोष स्थापनार्थ हिन्दू ॐकार भोलिन्टियर्सका अध्यक्ष पदमराज पाण्डेले बताए । यसरी खर्च र आम्दानीको विवरण हेर्दा महायज्ञमा ३० लाख १५ हजार २२१ रूपैयाँ घाटा भएको देखिएको छ ।
आयोजकले दिएको जानकारीअनुसार पण्डित, व्यास, लामा गुरू, बज्राचार्य गुरु, कलाकारलगायतको खर्चमा ९ लाख ६८ हजार ९८५ रूपैयाँ, ट्रान्सपोर्टेशन खर्च एक लाख पाँच हजार रूपैयाँ, टेण्टको खर्च २० लाख रूपैयाँ र अन्य व्यवस्थापनतर्फ १८ लाख ७८ हजार १० रूपैयाँ भएको अध्यक्ष पाण्डेले जानकारी दिए । नेपालमा स्थानीय जातका गाईको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको उनले बताए ।
अब नारायणी नदी किनारलाई धार्मिक पर्यटन क्षेत्र बनाउनका लागि प्रयास भइरहेको गौ सेवा कोष स्थापनार्थ हिन्दू ॐकार भोलिन्टियर्सका महासचिव दीपक सुवेदीले बताए ।

The post गोरक्षा महायज्ञको आयव्यय सार्वजनिक appeared first on चितवन पोष्ट.