नारायणी किनारमा व्यापारिक मेला हुने

गैँडाकोट । नवलपरासी जिल्लाको गैँडाकोटलाई पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि गैँडाकोटस्थित नारायणी नदी किनारमा सांस्कृतिक तथा व्यापारिक मेला गरिने भएको छ ।
विगतमा गैँडाकोट महोत्सव, खाद्य मेलालगायतका विभिन्न मेला महोत्सवको आयोजना भइरहेको गैँडाकोटमा यस पटक भने लियो क्लब अफ मौलाकालिकाले मेलाको आयोजना गर्न लागेको हो । मेलाको तयारी तीव्ररूपमा अगाडि बढिरहेको शनिबार गैँडाकोटमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
नारायणी नदी किनारमा सोलार बत्ती राख्न र गैँडाकोटलाई पर्यटन तथा धार्मिक क्षेत्रकोरूपमा विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको गैँडाकोट सांस्कृतिक तथा व्यापारिक मेला–२०७३ का मूल समिति संयोजक एवम् लियो क्लब अफ गैँडाकोटका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । पहिलो पटक गैँडाकोटका युवाहरुको सक्रियतामा मेलाको आयोजना गर्न लागिएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
चितवनको नारायणगढतर्फको नदी किनारमा सोलार बत्तीको व्यवस्था भइसकेको र नवलपरासीतर्फको नदी किनारमा सोलार बत्ती जडान गर्नका लागि गैँडाकोट उद्योग वाणिज्य संघ र गैँडाकोट नगरपालिकाले पहल गरिरहेकामा लियो क्लब अफ मौलाकालिकाले पनि सहकार्य गर्ने गरी मेला आयोजना गरिन लागेको उनले बताए । साथै मेलामा स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिने आयोजकले जनाएको छ ।
यही फागुन २० गतेदेखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने मेलामा १७० भन्दा बढी स्टलहरु रहने अध्यक्ष सापकोटाले जानकारी दिए । मेला अवलोकनका लागि विद्यार्थीका लागि ३० र अन्यका लागि ४० रूपैयाँ टिकट शुल्कको व्यवस्था गरिएको उनले बताए । सांस्कृतिक मेला भएकैले स्थानीय कलाकारहरुका साथै नाम चलेका राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

The post नारायणी किनारमा व्यापारिक मेला हुने appeared first on चितवन पोष्ट.