भरतपुरको मेयरमा १५ जना

भरतपुरको मेयरमा १५ जना

हेम रोकाहा
भरतपुर,२० बैशाख ।
आगामी स्थानीय निकायको निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयरमा १५ जनाको उम्मेद्वारी परेको छ भने उपमेयरमा १२ जना प्रतिस्पर्धा गर्दै छन् । मेयर र उपमेयरमा २–२ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
मेयर पदको लागि नेपाली कांग्रेसका दिनेश कोइराला, नेकपा एमालेका देवीप्रसाद ज्ञवाली, माओवादी केन्द्रकी रेणु दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बद्री तिमिल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेसका उम्मेद्वार कोइरालाको प्रस्तावकमा उत्तम जोशी तथा समर्थकमा उद्धव लोहनी छन् । एमालेका उम्मेद्वार ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी छन् । साथै माओवादी केन्द्रकी उम्मेद्वार दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल छन् भने समर्थकमा सूर्यप्रकाश सुवेदी छन् ।
मेयरका अन्य उम्मेद्वारहरुमा नेपाल दलित पार्टीको तर्फबाट डिलबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट ज्ञानबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटको तर्फबाट जीवनराम महतो, राष्ट्रिय जनमोर्चाको तर्फबाट भक्तिराम गौतम शर्मा, फोरम लोकतान्त्रिकको तर्फबाट राजु पौडेल रहेका छन् । त्यसैगरी मालेका सृजना रुवाली, नेपाल मजदुर किसान पार्टीका रविनकुमार प्रधान, नयाँ शक्ति पार्टीका सूर्यप्रसाद तिमिल्सिना, परिवार दलका राजेन्द्रप्रसाद अर्याल र स्वतन्त्र तर्फबाट प्रेमकुमार सुनुवार र अम्बिका मुडभरीले उम्मेद्वारी दिएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह, एमालेकी दिव्या शर्मा, माओवादी केन्द्रका सुरेन्द्र गुरुङ र राप्रपाकी रीना गुरुङले उम्मेद्वारी दिएका छन् । कांग्रेस उपमेयरकी उम्मेद्वार शाहको प्रस्तावकमा शिवदत्त सापकोटा तथा समर्थकमा गणेश भण्डारी छन् । एमालेकी उम्मेद्वार शर्माको प्रस्तावकमा मेकबहादुर खड्का र समर्थकमा योगबहादुर गुरुङ छन् । माओवादी केन्द्रका उम्मेद्वार गुरुङको प्रस्तावकमा ज्ञानु सुवेदी र समर्थकमा दण्डपानी पौडेल छन् ।
त्यसका साथै उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी निर्मला आले मगर, राष्ट्रिय जनमोर्चाकी उमादेवी शर्मा, फोरम लोकतान्त्रिककी निरु कार्की, नयाँ शक्तिकी शारदा घिमिरे, मालेका सूर्य रेग्मी, परिवार दलकी कोपिला गौतम लामिछाने, तथा स्वतन्त्रबाट सुन्दरी विक र बाबुराम परियारले उम्मेद्वारी दर्ता गराएका छन् ।