योग्य र सक्षम मेयरको प्रतीक्षा

योग्य र सक्षम मेयरको प्रतीक्षा

राजनीतिक तहमा उत्पन्न प्रतिकुल परिस्थितिमा अन्योल र आशंकाबीच पनि स्थानीय निर्वाचनको रौनक बढेको छ । हिजो मंगलबार वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि चितवनको भरतपुर महानगरपालिकासहित अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चुनावी सरगर्मी बढ्दै गर्दा यतिबेला दलहरुको पहिलो आकर्षण भरतपुर महानगर नै बन्न पुगेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले तामझामका साथ आआफ्नो मनोनयन निर्वाचनमा दर्ता गराएका छन् । नवगठित महानगरमा दलहरुले प्रतिष्ठाको लडाइँ गरिरहँदा यहाँका मतदाताले भने राजनीतिक दलको झुण्डलाई हेर्नुभन्दा पनि विकासप्रेमी र महानगरलाई समृद्धिको बाटोमा डो¥याउन सक्ने योग्य र सक्षम मेयरको प्रतीक्षा गरिरहेका छन् । राजनीतिक दल तथा तिनको प्रतिनिधित्व गर्ने उम्मेदवारका लागि महानगरमा पूर्वाधार विकासको लागि अवसर र चुनौती दुवै छन् । यसलाई समन्वय गरेर लैजान सक्षम र योग्य व्यक्तिको महानगरले अपेक्षा गरेको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगको विकास गर्न स्पष्ट देष्टिकोण र इच्छाशक्ति भएको व्यक्तिलाई महानगरवासीले छान्न सक्नुपरेको छ ।
झण्डै २० वर्षपश्चात् हुन गइरहेको स्थानीय तहको आसन्न निर्वाचनले सिंहदरवारको अधिकार नगर र गाउँमा केन्द्रित गरी अधिकारसम्पन्न सार्वभौम नागरिक बनाउने भएकाले मतदाताले ‘हाम्रो होइन राम्रो उम्मेदवार’लाई जिताउन सक्नुपरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसमेत रहने गरी हुन लागेको निर्वाचनमा योग्यता र अनुभव अनि इमानदार र विकासप्रेमी मेयर आजको भरतपुरको चाहना हो । दलको सीमारेखा नाघ्नुपर्ने अवस्था आए पनि त्यसलाई स्वीकार गर्दै योग्यभन्दा झन योग्य व्यक्तिको चयन गर्नु आजको प्रमुख आवश्यकता बन्न गएको छ । अन्यकुरा यथावत रहेमा मतदाताले मतदान गर्ने समय अब ११ दिनमात्र बाँकी छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घरदैलो तीव्र बनाएका छन् । चुनावी प्रचारप्रसार र मतदातामा देखिएको उत्साहले अहिले गाउँसहर जताततै रौनक छाएको छ । राजनीतिक दल र तिनका कार्यकर्ताको दौडधूप र व्यस्तता निकै बढेको छ । कतिपयले अनावश्यक प्रलोभन र आश्वासन पनि बाँड्न भ्याएका छन् । हरेक राजनीतिक पार्टीको घोषणापत्र र तिनका उम्मेदवारहरुको प्रतिबद्धतापत्रले पनि यसको पुष्टि गर्दछ ।
चुनावी अभियानमा कुनै पनि दलले ल्याएका एजेन्डा हेर्दा लाग्छ कि– त्यसको एकचौथाइ कार्यान्वयन भएमात्र पनि नगर विकासले ठूलो फड्को मार्ने पक्का छ । प्रतिबद्धतापत्रमा बालदेखि वृद्धसम्म, युवादेखि प्रौढसम्म, आधारभूत स्वास्थ्यदेखि प्राविधिक शिक्षासम्म विषय समेटिएका देखिन्छन् । विकास निर्माण, सिंचाइ, खानेपानी, कृषि, पर्यटन र वातावरणमैत्री नगर बनाउने प्रतिबद्धताका साथ उम्मेदवारहरुले विनम्र व्यवहार, मृदु मुस्कान र नमन गरेर मतदातालाई आकर्षित गरिरहेका छन् । तर, यो पनि सत्य हो कि अब आश्वासनले मात्रै जनताले पत्याउँदैनन् । उम्मेदवारको आचरण, योग्यता, कार्यकुशलता र दृष्टि कस्तो छ भन्ने जानकारी लिन सक्ने भएका छन् । राजनीतिक चेतना अहिले हरेक गाउँबस्तीमा पुगिसकेको अवस्था छ । सबैलाई समेटेर अगाडि बढ्न सक्ने, आफ्नो र अर्को भनेर भेदभाव नगर्ने र पाँच वर्षे कार्यकालमा समग्र महानगरको विकास गर्न सक्ने योग्यतम उम्मेदवारलाई मतदाताले रोज्न सक्नुपरेको छ । सही व्यक्तिलाई सही ठाउँमा पु¥याउन मतदाताको भोट अमूल्य रहन्छ । सही उम्मेदवारको छनौट गर्न मतदाताको मत अर्थपूर्ण हुन्छ । त्यसैले विवेक प्रयोग गरी योग्य मेयर छान्न आवश्यक देखिएको छ ।

The post योग्य र सक्षम मेयरको प्रतीक्षा appeared first on चितवन पोष्ट.