शक्ति प्रदर्शनसहित गाउँपालिकामा एमालेको उम्मेदवारी

शक्ति प्रदर्शनसहित गाउँपालिकामा एमालेको उम्मेदवारी

इच्छाकामना । स्थानीय तह निर्वाचनको लागि जिल्लाको एउटै गाउँपालिका इच्छाकामना गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । इच्छाकामना गाउँपालिकामा मंगलबार ६ दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा नारायणप्रसाद अधिकारी र उपाध्यक्षमा जुनाराज भण्डारीले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका समर्थकहरु गाउँपालिकाको पहाडी क्षेत्र काउले, दाहाखानी, चण्डिभञ्जयाङ, दारेचोकबाट निर्वाचन अधिकृतको कार्यालय कुरिनटारसम्म आएका थिए । एमालेले निर्वाचन पूर्व आफ्ना पार्टी कार्यकर्ता र शुभचिन्तक उतारेर शक्ति पर्दशन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा एमाले गाउँपालिका निर्वाचन परिचालन कमिटीका संयोजक श्रीप्रसाद कँडेलले बताए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति नेपाल, नेमकिपा र नेपाल लोकतान्त्रिक फोरम गरी ६ दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दिवाकर पौडेलले बताए । नेपाली कांग्रेसको तर्फबाट गाँउपालिका प्रमुखमा गीताकुमारी गुरूङ उपप्रमुखमा कृति श्रेष्ठको उम्मेदवारी परेको छ । माओवादि केन्द्रको तर्फबाट प्रमुखमा प्रताप गुरूङ र उमप्रमुखमा साबित्रा सिलवाल यस्तै नयाँशक्ति नेपाल पार्टीको तर्फबाट प्रमुखमा अमरबहादुर गुरूङ र नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रमुखमा पदम थापा मगरले उमेदवारी दर्ता गराएका छन् । नयाँशक्ति नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टीले भने उपप्रमुखमा उमेदवारी दर्ता गराएका छैनन् । विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले भने वडा १ मा मात्र उम्मेदवारी दिएको छ । वडा अध्यक्षमा फोरमले सुनबहादुर चेपाङलाई वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको हो । मुख्य तीन राजनीतिक दलले भने सबै वडामा प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् भने गाउँपालिको वडा नम्बर ६ को वडाअध्यक्षमा स्वतन्त्र उमेदवारको रुपमा रमेश कुमार गुरूङले उमेदवारी दर्ता गराएका छन् । The post शक्ति प्रदर्शनसहित गाउँपालिकामा एमालेको उम्मेदवारी appeared first on चितवन पोष्ट.