आत्मनिर्भर र सफल बन्दै आदिवासी जनजाति

आत्मनिर्भर र सफल बन्दै आदिवासी जनजाति

तुलमान गुरूङ
अमलटारी । नवलपरासी जिल्लाको अमलटारी गाउँको रूप फेरिँदै गएको छ । चार वर्षअघिदेखि गाउँमा विभिन्न खालका योजना र अभियान चलाएपछि अहिले यहाँका स्थानीय आत्मनिर्भर बन्न सफल भएका छन् । कुनैबेला यहाँको जंगल र खोलानालाबाट आश्रित हुन बाध्य बनेका यहाँका आदिवासी जनजाति समुदाय अहिले फरक–फरक पेसा अपनाउन सफल भएका छन् ।
विशेषगरी वन संरक्षणमा स्थानीय सक्रिय भएपछि लोपोन्मुख जनावर गैँडा हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँसम्म आउन थाले । अहिले अमलटारीमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सेवा सुविधालाई मध्यनजर गरेर गाउँभरी २४ वटा होमस्टे सञ्चालनमा ल्याइएको छ भने एउटा होमस्टे सञ्चालनको तयारीमा छ । होमस्टे सञ्चालन भएपछि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न खालका तालिम तथा कार्यक्रमहरू समेत अमलटारीमा गर्न थालेका छन् ।
वनजंगलमा जिप सफारी, हात्ती सफारी गरेर नजिकैबाट गुन्द्रेहीढकाह मध्यवर्ती सामुदायिक वनमा पाइने वन्यजन्तुहरू देख्न पाइने हुँदा आयोजकले अमलटारीलाई नै कार्यक्रम आयोजना गर्ने थलोको रोजाइमा पारेको सामुदायिक वनका अध्यक्ष प्रेमशंकर मर्दनिया थारू बताउँछन् ।
जंगल संरक्षणमा लागेपछि दोहोरो फाइदा भएको उनले बताए । ‘वन्यजन्तुको संरक्षण गरेपछि पर्यटक आउने हुँदा गाउँलेलाई दुई पैसा आम्दानी गर्न पनि सजिलो हुने र पर्यटकहरूका लागि पनि नजिकैबाट गैँडा, चित्तल, हरिण, जरायो, मयुरलगायतका जीवजन्तु देख्न पाएपछि दोहोरो फाइदा भएको छ,’ अध्यक्ष थारूले भने ।
सधैँ परम्परागत खेतिपाती र वनजंगलसँग मात्रै आश्रित हुनु परेको यहाँका स्थानीय अहिले दैनिकजसो पाहुनाहरूको स्वागत सत्कारमा तल्लिन हुन्छन् । ‘केही वर्ष पहिलेसम्म खेतिपातीबाहेक केही थिएन,’ होमस्टे सञ्चालक शोभाराम महतोले भने, ‘अहिले केहीले होमस्टे सञ्चालन गरेका छन् भने केहीले आफ्नै छुट्टै व्यवसाय थालेका छन् ।’

The post आत्मनिर्भर र सफल बन्दै आदिवासी जनजाति appeared first on चितवन पोष्ट.