उम्मेदवारबाट महानगरलाई  कायापलट पार्ने होडबाजी

उम्मेदवारबाट महानगरलाई  कायापलट पार्ने होडबाजी

किशोर खनाल
भरतपुर । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि भरतपुर महानगरमा उठेका मेयरका उम्मेदवारहरु आफ्नो घोषणापत्र सार्वजनिक गर्दै हिँडेका छन् । मेयरका उम्मेदवारबीच कसले कस्तो खालको प्रतिबद्धता सार्वजनिक गर्ने भनेर यतिबेला होडबाजी नै चलेको छ ।
विशेषगरी चार दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका मेयरका उम्मेदवारहरुले महानगरलाई कस्तो बनाउने भनेर विकासका प्रतिबद्धताहरु बताउँदै जनताको घरदैलोमा हिँडेका छन् । उम्मेदवारहरुले भोलि मेयरमा विजयी भएपछि आफूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सकिन्छ, या सकिदैन भन्ने कुरालाई हेक्का राख्न जरुरी छ । भोट माग्ने नाममा आज जनतालाई विकासका आश्वासन बाँड्दा भोलि त्यो काम पूरा भए त ठीक छ, नभएको खण्डमा महानगरका बासिन्दामा निराशामात्र पैदा हुनेछ ।
कांग्रेसको प्रतिबद्धता
नेपाली कांग्रेसबाट भरतपुर महानगरमा मेयरमा उठेका दिनेश कोइरालाले महागरलाई कायापलट पार्न आफू सक्षम रहेको बताए । महानगरलाई समृद्ध बनाउन आफ्नो पार्टीले आफूलाई मेयरको उम्मेदवार बनाएको उनी बताउँछन् । उनी भन्छन्, ‘भरतपुर महानगरलाई दक्षिण एसियाकै एउटा नमुना महानगर बनाउने भिजन मसँग छ । कांग्रेस पार्टीसँग छ ।’ उनले महानगरको दुईतर्फ रहेको नारायणी नदी र राप्ती नदीमा ड्याम निर्माण गरी सिंचाइलगायत थुप्रै गतिविधि गर्न सकिने बताए ।
‘भरतपुर महानगरका प्रत्येक गाउँहरुले पर्यटक बोलाउन सक्छन्, म मेयरमा विजयी भए यहाँका प्रत्येक गाउँहरुलाई पर्यटकीय नगरी बनाउँछु’ कोइरालाले भने, ‘पर्यटकीय दृष्टिकोणले यस महानगरको सम्भावना बलियो छ, यहाँको आम्दानीको प्रमुख स्रोत पर्यटन हो, यसलाई विकास गर्न म हरहमेसा लागिरहनेछु ।’
मेयरका उम्मेदवार कोइरालाले महानगरलाई महानगरलाई समृद्ध बनाउन सबैभन्दा पहिला जलविद्युत् उत्पादन गर्नुपर्ने बताए । उनले महानगरवासीको लगानीमा जलविद्युत् उत्पादन गर्ने आफ्नो योजना रहेको बताए । महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने आफ्नो योजनासमेत उनले सुनाए । कृषिमा आधुनिकीकरण ल्याउने, शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, सडक सञ्जाललाई व्यवस्थित र विस्तार गर्ने, एउटा सुन्दर र समृद्ध महानगर बनाउने आफ्नो सोच रहेको उनले बताए ।
नेकपा एमालेको प्रतिबद्धता
एमालेबाट महानगरमा मेयरका उम्मेदवार बनेका देवी ज्ञवालीले आफू मेयरमा चुनिए महानगरलाई कायापलट पार्ने जनतासामु प्रतिबद्धता जनाएका छन् । उनले आफू तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर हुँदा थालेका कामहरु पूरा हुन नसकेको बताउँदै भने, ‘कविलासमा १५० मेघावाटको जलविद्युत् निर्माण गर्ने मेरो योजना छ ।’ उनले जनताको लगानीमा हाइड्रोपावरसम्म निर्माण गर्ने प्रतिबद्धता गरे ।
बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत उनले जलयातायात, हाइड्रोपावरदेखि कृषि, पर्यटनको अवधारणा अघि सारे । ज्ञवालीले पाँच वर्षभित्र भरतपुरलाई देशकै उत्कृष्ट महानगर वनाउने दाबी गरे । प्रत्येक वडामा एउटा पार्क बनाउने, स्वच्छ पानी पु¥याउने, सुकुमबासी समस्या समाधान गर्ने, रंगशाला निर्माण गर्ने, अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गर्ने, व्यवस्थित मेडिकल सिटी बनाउने प्रतिबद्धतासमेत ज्ञवालीले गरे ।
उनले केरा, माछा र पोल्ट्रीको विकासलाई प्रथामिकता दिने वताए । उनले नारायणी नदीमा ड्याम निर्माण गरी गाइघाटदेखि गोलाघाटसम्म जल यातायात र नारायणी नदीमा सुन्दर पार्क निर्माण गर्ने योजनासमेत सुनाए । उनले देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्नेे योजना सुनाए पनि सुनाए । साविकको भरतपुर नगरपालिकाको उपमेयर हुँदा भरतपुरको केन्द्रीय बस टर्मिनल निर्माण, नारायणगढको ढल निकास लगाएतका थुप्रै उदाहरणीय काम गरेको उनले दाबी छ ।
नेकपा माओवादी केन्द्रको प्रतिबद्धता
माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार भएकी रेणु दाहालले पनि महानगरलाई विकासमा छलाङ मार्ने गरी अगाडि बढाउन आफ्नो क्षमता रहेको बताइन् । उनले भनिन्, ‘महानगरलाई दुई नदी केन्द्रित पर्यटन गतिविधिको विकास गरी समृद्ध र नमुना महानगर बनाउने मेरो सोच छ’ उनले भरतपुर महानगरलाई वैकल्पिक राजधानी बनाउने प्रतिबद्धतासमेत गरिन् । आफू महानगरको मेयरमा विजयी भए राप्ती र नारायणी नदीको किनारैकिनार रिङरोड निर्माण गर्ने आफ्नो योजना रहेको उनले बताइन् ।
मेयरकी उम्मेदवार रेणुले भनिन्, ‘मसँग महानगरलाई कस्तो बनाउने भनेर स्पष्ट भिजन छ । मैले महानगरलाई एउटा सुन्दर र सजिसजाउ सहर बनाउनेछु ।’
उनको प्रतिबद्धतापत्रमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, दक्षिण एसियाकै पर्यटकीय गन्तव्य, व्यवस्थित र सानदार सहर, सडक र ढलको उचित प्रबन्धजस्ता कुराहरु समेटिएको छ । भरतपुरलाई मेट्रो सिटीको रुपमा विकास गर्ने उनको भनाइ थियो । कृषिमा विशेष कार्यक्रम ल्याएर समग्र कृषिलाई माथि उकास्ने आफ्नो योजना रहेको उनले सुनाइन् ।
उम्मेदवार रेणुले भरतपुरलाई नमुना स्मार्ट सिटीको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताइन् । उनले भरतपुरलाई बाहिरी र भित्री चक्रपथ निर्माण गर्ने, शिक्षा स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, आफ्नै स्रोत साधनले भरतपुर महानगरलाई सुन्दर र विशाल बनाउन पर्यत्नशील रहने बताइन् ।
राप्रपाको प्रतिबद्धता
राप्रपाका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार बद्री तिमिल्सिनाले पनि भरतपुर महानगरलाई कायापलट नै पार्ने गरी आफ्नो घोषणापत्र सुनाएका छन् । उनले आफू मेयर पदमा विजयी भए कसैले गर्न नसकेको काम गरेर देखाइदिने दाबी गरे । उनले भने, ‘भरतपुर महानगरलाई सबैभन्दा पहिला पर्यटकीय नगरी भनेर विश्वमा चिनाउन सक्ने खुबी मसँग छ ।’
नारायणी नदीमा सरर जलयात्राको कार्यक्रम ल्याएर विश्वका पर्यटकलाई यहाँ बोलाउन सकिने उनले बताए । उनले भरतपुरमा चक्रपथ निर्माण गरी एउटा सहज सहरको परिकल्पना आफूले गरेको समेत दाबी गरे । उनले भने, ‘सुकुमबासी समस्या समाधान गर्ने, पहाडी क्षेत्रमा हिलटावर बनाउने मेरो योजना रहेको छ ।’ भरतपुरलाई सुरक्षित सहर बनाउने योजना पनि आफ्नो रहेको उनले बताए ।
‘विकासबाट अलि पर परेको मेघौली, जगतपुर र शुक्रनगर क्षेत्रलाई नजिकबाट आफूले हेरेको र त्यहाँको विकासमा म जोडतोडले लाग्नेछु’ मेयरका उम्मेदवार तिमिल्सेनाले भने, ‘समग्र भरतपुर महानगरलाई हरेक कुराबाट उचाइमा पु¥याउने मेरो प्रतिबद्धता रहेको छ ।’

The post उम्मेदवारबाट महानगरलाई  कायापलट पार्ने होडबाजी appeared first on चितवन पोष्ट.