कांग्रेस पछि हटेपछि देवी ज्ञवाली भन्छन्, ‘अब मेरो मैदान खाली भयो’

भरतपुर, २१ वैशाख ।
चुनावी तालमेलपछि भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसको उम्मेद्वारी फिर्ता भएपछि एमाले उम्मेद्वार देवीप्रसाद ज्ञवाली आत्तिनुको सट्टा उल्टै उत्साहित भएका छन् । उनले कमजोर माओवादी उम्मेद्वार र तालमेलप्रति कांग्रेस समर्थकको असन्तुष्टिले आफूलाई पर्याप्त फाइदा गर्ने ठानेका छन् ।
कायाकैरन दैनिकसँगको कुराकानीमा ज्ञवालीले भनेका छन्, “यो घटनाले मेरो मैदान खाली गरिदिएको छ । मेरो मुख्य प्रतिस्पर्धा नै नेपाली कांग्रेससँगै थियो । अब उहाँहरु पछि हट्नुभएपछि मलाई त आराम भएको छ । म त अब मेरो अगाडि कोही देख्दै देख्निँ ।”
कांग्रेस कार्यकर्ताले गरेको विरोधलाई उनले अवसरको रुपमा लिएका छन् । “कांग्रेस कार्यकर्ताले गरेको विरोध देख्नुभएकै होला”, उनले भने, “यो निर्णयलाई चितवने कांग्रेसले स्वीकारेका छैनन्, कांग्रेसका बहुसंख्यक कार्यकर्ता कयौं वर्ष हिंसाविरुद्ध जोसँग लड्नुपरेको थियो, त्यसैलाई भोट हाल्न तयार छैनन् । उहाँहरुसँग मिल्ने त बरु हामी हौं । कयौं आन्दोलनमा हामी सँगै थियौं ।”
उनले माओवादी उम्मेद्वार दाहाललाई बाबुको बलमा राजनीति गर्न आएको आरोप लगाउँदै भने, “मेरो राजनीति पैतृक वरदान होइन । उहाँ त पैतृक राजनीतिमा रमाउन खोजिरहनुभएको छ । यो अवस्थामा जनताले बुझ्छन् कि देवी ज्ञवालीको विकल्प अब छैन ।”
बिहीबार नै भएको माओवादी र कांग्रेसको तालमेल सहमतिपछि कांग्रेसका उम्मेद्वार कोइरालाको नाम कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले नै पत्र पठाएर फिर्ता लिएका हुन् । तर, कोइराला यो निर्णयबाट रुष्ट छन् । कार्यकर्ता पनि रिसाएका छन् ।

(ज्ञवालीसँगको विस्तृत कुराकानी २२ वैशाखको कायाकैरन दैनिकमा प्रकाशित हुनेछ ।)