चुनाव विरोधी गतिविधि निस्तेज पारिने

चुनाव विरोधी गतिविधि निस्तेज पारिने

भरतपुर,२१ बैशाख ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चुनाव विरोधी गतिविधिलाई निस्तेज पारिने बताएका छन् ।
चुनाव बिथोल्न खोज्ने गिरोहप्रति प्रहरी कडारुपमा प्रस्तुत हुने बताउँदै उनले प्रहरीले त्यसमा बल प्रयोग गर्न पनि पछि नहट्ने बताए । प्रहरी उपरीक्षक थापाले निर्वाचनलाई भयरहित ढंगबाट सम्पन्न गराउनको लागि शान्ति सुरक्षाको लागि विभिन्न रणनीतिहरु अघि सारिएको बताए । जसको लागि जिल्लामा १ हजार २ सय ५५ म्यादी प्रहरीसहित पर्याप्त प्रहरी परिचालन गरिएको उनले बताए । “शान्ति सुरक्षाको लागि प्रहरी जनशक्ति यथेष्ट छ”, थापाले भने, “९१४ जनशक्ति रिजर्भमा छन् । त्यसमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा मोबाइल टोली तथा सशस्त्र प्रहरीको हरेक तहमा एउटा–एउटा ६० जनाको बेस छ ।” विशेषगरी सिविलमा खटिएको प्रहरीले सूचना संकलनको कार्य तीव्रता दिएको उनले बताए ।
स्थानीय निकायको तल्लो निकायसम्म पनि शान्ति सुरक्षालाई बलियो बनाइएको उनको भनाइ छ । जिल्लामा रहेका ७ स्थानीय तहका १६१ मतदान स्थलमध्ये विगतका घटना तथा भौगोलिक चुनौतीलाई मध्यनजर गर्दै शान्ति सुरक्षाको रणनीति बनाइएको उनी बताउँछन् । उनी भन्छन्, “भौगोलिकरुपमा विकट रहेका स्थानबाट मतपेटिका ल्याउनको लागि हेली लिफ्टििङ (हेलिकप्टरबाट ओसारिने)को व्यवस्था गरिएको छ ।”