ट्रकसहित चरेस बरामद

ट्रकसहित चरेस बरामद

भरतपुर,२१ बैशाख ।
बुधबार बिहान चितवन प्रहरीले ठूलो परिमाणको चरेससहित २ जनालाई पक्राउ गरेको छ । नारायणगढको लायन्सचोकबाट प्रहरीले ना. ४ ख ७६३० नम्बरको ट्रकमा लुकाएर राखेको १२६ केजी चरेस विशेष सुराकीको आधारमा पक्राउ गरेको बताएको छ । ५०० ग्रामको २५३ पोका बनाएर राखिएको ६ वटा बोरा प्रहरीले बरामद गरेको हो ।
बुधबार पत्रकार सम्मेलनमार्फत प्रहरीले वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई र जिल्ला प्रहरी कार्यालय चितवनको लागूऔषध नियन्त्रण विशेष टोली‘क्याप’को संयुक्त टोलीले सो चरेस बरामद गरेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रकले धादिङको आदमघाटबाट चरेस लोड गरी ल्याएको थापाले बताए । चरेससँगै प्रहरीले ट्रक चालक बारा जिल्ला जितपुर, सिमरा उपमहानगरपालिका २३ बस्ने २८ वर्षीय मोजहर मन्सुर र ट्रकमा सवार प्रस्टोका नगरपालिका ४ वस्ने १९ वर्षीय अजयकुमार रामलाई समते पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३अन्तर्गत लागूऔषध ओसारपसार तथा बिक्री वितरणको कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थापाले बताए ।