तनाव बढेपछि एमाले उम्मेदवारबाट आत्महत्या

तनाव बढेपछि एमाले उम्मेदवारबाट आत्महत्या

केशव अधिकारी
धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी बीना मिजारले आत्महत्या गरेकी छन् ।
मंगलबार दिउँसो धुनीबेसी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर धुनिबेसी नगरपालिका वडा नं ३ मा नेकपा एमालेको लागि दलित तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिजारले बुधबार बिहान घरभित्रै डोरीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएकी हुन् ।
धुनिबेसी नगरपालिकाको वडा नम्बर ३ मा परेको साविकको जीवनपुर गाविस वडा नम्बर ७ थुम्की घर भएकी ३५ वर्षीया मिजारले घर भित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जीवनपुर प्रहरी चौकीले जनाएको छ । मिजारको श्रीमान, १ छोरी र २ छोरा छन् ।
दलित महिलाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि उनले नेकपा माओवादी केन्द्रका केही व्यक्तिले उम्मेदवारी फिर्ता दिन दबाब दिएको र फिर्ता नलिए जे पनि हुन सक्ने त्रास देखाएका कारण तनाव सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्ने एमालेका स्थानीय नेता राजेन्द्र न्यौपालेने बताए ।
‘उम्मेदवारी दिने चर्चा सुरू भएसँगै बीनालाई केही व्यक्तिले त्रास देखाउने काम गरेकाले मलाई थर्काइरहेको छ अब म के गरुँ होला भनेर भनेकोमा केही हुँदैन नआत्तिनुस भनेका थियौ तर ज्यानै फाल्नु भएछ, घटनाको निष्पक्ष छानबिन हुनु जरूरी छ’ं न्यौपानेले बताए ।
उम्मेदवारी दर्ता गरेर आएपछि खुसी देखिएकी थिइन् पनि तर बुधबार बिहानै उनको आत्महत्या हुनुमा कसैको डर, त्रास र धम्की मुख्य कारक हुन सक्ने बीनाका श्रीमान् भरतबहादुर मिजारले बताएका छन् । ‘बिहान घर सल्लाह हुँदा मलाई मकै छर्न जानुस्, म घरमा बसेर खाना पकाउँछु, छोरा छोरीलाई बिद्यालय पठाउन ढिला हुन्छ भनेकी थिइन, मैले घर छाडेको केही बेरमा उनले हामी सबैलाई छाडेर गइन’ मेरो श्रीमती कमजोर मान्छे त होइनन् तर कसैले मार्ने धम्की दिएकै कारण यस्तो घटना हुन गएको हनुपर्छ ।’
बीनाले एमालेबाट उम्मेदवारी दिने चर्चा चलेदेखि नै केही व्यक्तिले पटकपटक फोन गरेर थर्काउने, धम्की दिने गरेको नेकपा एमालेले बताएको छ ।

The post तनाव बढेपछि एमाले उम्मेदवारबाट आत्महत्या appeared first on चितवन पोष्ट.