भोटमाग्न उम्मेदवारहरु घरदैलोमा

भोटमाग्न उम्मेदवारहरु घरदैलोमा

रत्ननगर । रत्ननगर नगरपालिकामा विभिन्न राजनीतिक दलका तर्फबाट मेयर, उपमेयर तथा वडा अध्यक्षका उम्मेदवारहरु भोट माग्न जनताको घरघरमा पुगेका छन् ।
रत्ननगरमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलका उम्मेदवारहरु भोट माग्न जनताको भरदैलोमा पुगेका हुन् । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार नारायण वन, उपमेयर पदकी उम्मेदवार विमला दुवाडी र वडा अध्यक्षका उम्मेदवार रामशरण कुँवरसहितका उम्मेदवारहरुले वडा नं.१ मा घरदैलो गरी भोट मागेका छन् । एमालेका उम्मेदवारहरुले जनताको घरघरमा पुगेर भोट दिएर एक पटक नगरको विकास गर्ने अवसर प्रदान गर्न आग्रह गरेका थिए । घरदैलोका क्रममा मतदाताहरुले विकास र सुशासनलाई प्राथमिकता दिएर काम गर्न आग्रह गरेका थिए ।
मतदाताहरुले समग्र नगरको विकासभन्दा पनि गाउँकै सडक मर्मत र विस्तार, विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरिदिन आग्रह गरेको नगर कमिटीकी निर्वतमान सचिव एञ्जिला कुँवरले जानकारी दिइन् । वडा नंं.१ मा वडा अध्यक्षमा रामशरण कुँवर, नगर सदस्य खुल्लामा शालिकराम पराजुली, निरज श्रेष्ठ, महिला सदस्यमा चन्द्रिका महत केसी र दलित सदस्यमा विभादेवी परियार उम्मेदवार बनेकी छन् । त्यसैगरी एमालले वडा नं.२ मा पनि बुधबार नै घरदैलो गरी भोट मागेको छ । मेयरका उम्मेदवार नारायण वन, उपमेयर पदकी उम्मेदवार विमला दुवाडी र वडा अध्यक्ष पदकी उम्मेदवार भागिरथी प्रजापतीसहित वडा सदस्यका उम्मेदवारहरु जनताको घरदैलोमा पुगेर भोट मागेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसले पनि रत्ननगरका वडा नं.५, ६ र ७ नम्बर वडामा घरदैलो गरी जनतासँग भोट मागेको छ । मेयर पदका उम्मेदवार रुपनराज घिमिरे, उपमेयर पदकी उम्मेदवार नीता ढकाल र वडा अध्यक्षका उम्मेदवारसहित कांग्रेसका उम्मेदवारहरुले भोट मागेका हुन् ।
त्यसैगरी माओवादी केन्द्रबाट रत्ननगरको मेयर पदका उम्मेदवार पूर्णबहादुर अम्गाई सुबोध र उपमेयर पदकी उम्मेदवार संगिता भट्टराई विभिन्न वडामा पुगेर मतदातासँग भोट मागेका छन् । माओवादी उम्मेदवारहरुले बिहान वडा नंं १३ जयमंगला र यस आसपास तथा दिउँसो वडा नं.८ को चित्रसारी र यस आसपासमा घरदैलो गरेका थिए ।
त्यसैगरी राप्रपाबाट मेयर पदका उम्मेदवार गोविन्दप्रसाद अधिकारी र उपमेयर पदकी उम्मेदवार उर्मिला पासवान पनि भोट माग्न जनताको घरदैलोमा पुगेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय रत्ननगरमा उम्मेदवारी दर्ता गराएका दलहरुले बुधबारदेखि भोट माग्न जनताको घरघरमा जाने कामलाई तीव्र पारेका हुन् । मंगलबार मात्रै मेयर र उपमेयरको टुङगो लगाएको कांग्रसले बुधबारदेखि घरदैलो सुरू गरेको हो । समय कम रहेकोले दलहरुले विभिन्न वडामा कार्यक्रमको आयोजना गरी एक मुष्ट रुपमा भोट माग्ने कार्यक्रम तय गरेका छन् ।
यता नेकपा क्रान्तिकारी माओवादी खैरहनीका नगर इन्चाजसहित दुई क्षेत्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नगर इन्चार्ज अर्जुन सापकोटा, क्षेत्रीय सदस्यहरु सुस्मिता सेवा र प्रमिला घिमिरे बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । स्थानीय तह निर्वाचनको चुनावी कोण सभाका अवसरमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । सापकोटा, सेवा र घिमिरेलाई नेकपा एमाले अनुशासन आयोग सदस्य एवम् खैरहनी नगरपालिकामा मेयरका उम्मेदवार लालमणी चौधरी र उपमेयरकी उम्मेदवार सुनिता खरेल थपलियाले फूल गुच्छा दिएर पार्टी प्रवेश गराएका थिए ।

The post भोटमाग्न उम्मेदवारहरु घरदैलोमा appeared first on चितवन पोष्ट.