महानगरको समृद्धि हाम्रो लक्ष्य – कोइराला


भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसबाट उम्मेद्वारी दिएका दिनेश कोइराला युवा नेता हुन् । कांग्रेस महासमिति सदस्य कोइराला महानगरपालिकाको विकास मोडलबारे अध्ययन गरेका नेता हुन् । २०४२ सालबाट विद्यार्थी राजनीति सुरु गरेका कोइराला बालकुमारी कलेजका स्ववियु सभापति, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, कांग्रेस चितवनको प्रवक्तासमेत भएर काम गरिसकेका छन् । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी कांग्रेस चितवन सभापतिमा समेत उम्मेद्वार बनेका थिए । युवामाझ लोकप्रिय नेता कोइरालालाई कांग्रेसीजनले तल्लोस्तरको जनस्तरमा अझै विश्वास जित्न मेहनत गर्नुपर्ने सुझाव दिने गरेका छन् । भरतपुर महानगरको समृद्धिलाई एकसुत्रीय एजेण्डा मानेर अघि बढिरहेका कोइरालासँग कायाकैरनका लागि विप्लव काफ्लेले गरेको कुराकानीः

भरतपुर महानगरमा मेयरको टिकट पाउनुभयो, यसलाई कसरी लिनुभएको छ ?
यो मेरो लागि अवसर र चुनौती दुवै हो । धेरै आकांक्षीमध्येबाट मैले मेयर पदमा उम्मेद्वारी पाएँ । तर, यो उम्मेद्वारी मेरौ मात्रै होइन, पार्टीका सबै आकांक्षीका उम्मेद्वारको प्रतिनिधित्व गर्ने गरी दिएको उम्मेद्वारी हो । मेरो उम्मेद्वारी सबै महानगरबासीका लागि हो । लोकतन्त्रमा प्रतिस्पर्धामा हुनु स्वाभाविक हो । पद्धतिलाई मान्नु हामी सबैको दायित्व हो । मेरो उम्मेद्वारीले अग्रज, समकालीन र नयाँ पुस्तालाई जोड्ने पुलको काम हुनेछ । हामी सबै ऐक्यबद्ध बनेर चुनावी अभियानमा लागेका छौं । सुन्दर र समृद्ध महानगर बनाउन मैले उम्मेद्वारी दर्ता गराएको हुँ ।
तपाईंले नेतृत्व गर्न पाउनुभयो भने कस्तो महानगर कल्पना गर्नुभएको छ ?
राप्ती र नारायणी नदी त्यसै खेर गइरहेको छ । यिनलाई सदुपयोग गर्न सकेमा महानगर स्वर्ग बन्नेछ । नदी किनार क्षेत्रमा तटबन्धन गरी किनारमा उद्यान निर्माण गरिनेछ । सिंचाई व्यवस्था मिलाइनेछ । हामी नगरपालिकामा थियौं, उपमहानगरपालिका गयौं, महानगरपालिका बन्यौं । जनसंख्या आवश्यक पर्दा धेरै क्षेत्र गाभिए । तर, असमानता धेरै छन् । असमनता हटाउन विकासमा पछि परेका क्षेत्रलाई उच्च प्राथमिकता दिएर विकासका योजना कार्यान्वयन गरिनेछ । महानगरभित्रका सडक सञ्जाल वर्गीकरण गरी सडक क्षेत्र तोक्ने, फराकिला सडक सञ्जाल निर्माण गर्ने, व्यवस्थित शाखा सडक बनाइनेछ । अत्यधिक ट्राफिक चाप रहेको महानगर क्षेत्रमा आकाशेपुल निर्माणमा तत्काल पहल गरिनेछ । भरतपुर विमानस्थल आसपासका स्थानीयमा परेका समस्यालाई सम्बोधन गर्दै मेघौली विमानस्थललाई विस्तार र विकास गर्ने रणनीति लिइनेछ । अटोल्याण्ड, व्यवस्थित बधशाला, तरकारी मण्डीको समुचित व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । नारायणी राप्ती नदीलाई जलक्रिडास्थलका रुपमा विकास गर्ने योजना ल्याइनेछ । बोटिङ, फिसिङ, फ्लोटिङ, रेष्टुरेण्ट, स्वीमिङ पुल, बगैंचायुक्त होटल, नदी किनारमा खेलमैदान, ¥याफ्टिङ आदि गर्ने संरचना बनाउन लाग्नेछौँ । बागिश्वरी क्षेत्रलाई धार्मिक संग्रहालय, योगशाला तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्न लाग्नेछु । चुनावी प्रतिबद्धता पत्रमा धेरै विषय समावेश गरेको छु । युवालाई अब रोजगारी खोजीमा बाहिरिन नपरोस् भनेर स्वरोजगारका अवसर सिर्जना गरिनेछन् । महिलाको वर्गको समस्या समाधान, आयआर्जन मूलक काममा अघि बढाउने, नेतृत्वदायी भूमिकामा पु¥याउन सहयोग पुग्ने नीति कार्यक्रम बनाइनेछ । किसान, मजदुर लगायत सबै जातजाति, समुदायको विकास गर्न प्रतिबद्ध भएर लाग्नेछु ।
क्यान्सर अस्पतालमा समेत सञ्चालक बनेर काम गर्नुभयो, महानगरमा स्वास्थ्य क्षेत्रलाई कसरी विकास गर्नुहुन्छ ?
५ वर्षभित्र सबैलाई स्वास्थ्य विमा र निःशुल्क शिक्षा दिने वातावरण बनाउन लाग्नेछु । वीपी कोइराला क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य लिएको छु । क्यान्सरसम्बन्धी एसियाकै अध्ययन र अनुसन्धानको केन्द्र बनाउने गरी कार्ययोजना बनाइने छ । पूर्वाधारयुक्त मेडिकल सिटीका रुपमा विकास गर्न पहल गर्नेछु । भरतपुर अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न पहल गर्नेछु । भरतपुर अस्पतालाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गर्न लापिर्ने सोच छ । मेघौली र पटिहानीमा कम्तीमा १५÷१५ बेडका सिटी अस्पताल बनाउन पहल गर्नेछु । अस्पताल फोहर व्यवस्थापनलाई कडाइका साथ लागू गर्न नीति निर्माण गरिनेछ ।
महानगरको पर्यटन अब कस्तो हुनेछ ?
देवघाट–गोलाघाट–त्रिवेणीधाम जलयात्रा सञ्चालन गरी पर्यटक प्रवद्र्धन गर्नेछु । कविलासमा हिलस्टेसन, भ्युटावर, गल्फकोर्ट, रंगशाला निर्माण गरिनेछ । प्रदेश नम्बर ३ को पर्यटन कार्यालय स्थापना गर्न पहल गर्नेछु । भरतपुर महानगरलाई पर्यटकीय गन्तव्य बनाउन नीति, योजना बनाउन लाग्नेछु । नदी प्रदूषणमुक्त बनाउन विशेष नीति बनाइनेछ, कार्यान्वयन गरिनेछ । चिडियाखाना, सूचना केन्द्र, मचान, ताल संरक्षण, पर्यटक विश्रमस्थल जस्ता संरचना विकास गर्ने लक्ष्य लिइएको छ ।
कांग्रेसको उम्मेद्वारी पाउनै संघर्ष गर्नुप¥यो, जितको आधार के छ ?
हालको महानगर क्षेत्रमा विगतका चुनाव कांग्रेसमय थियो । अहिलेपनि माहोल ज्यादै राम्रो छ । पार्टीका संरचना र संगठन सक्रिय छन् । नेता, कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन् । म आफै महानगरका हरेक क्षेत्रमा पुगेको छु । समस्याबारे जानकार छु । महनगरलाई कसरी समृद्ध बनाउने भन्ने हामीसँग भिजन छ । धेरै देशका महानगरपालिकाको विकास मोडलबारे अध्ययन गरेको छु । युवा, अग्रजको साथ छ । लाग्छ, मेरो राजनीतिक सक्रियता र वस्तुस्थिति बुझेको व्यक्ति भएकै कारण म चुनाव जित्ने कुरामा विश्वस्त छु । मैले विगतमा नेतृत्व गरेका क्षेत्रमा सफल भएको छु । त्यो जनताले हेरिरहेका छन् । कांग्रेस सरकारकै नेतृत्वमा विगतमा भएका विकास निर्माण कामलाई जनताले मूल्यांकन गरिरहेका छन् ।