‘मेयरका उम्मेदवार कोइरालालाई सघाउने प्रतिबद्धता’

‘मेयरका उम्मेदवार कोइरालालाई सघाउने प्रतिबद्धता’

भरतपुर । भरतपुर महानगरको प्रमुख पदमा आकाङ्क्षा राख्ने नेपाली कांग्रेसका ३३ जनाले पार्टीका उम्मेदवार दिनेश कोइरालालाई निर्वाचित गराउन सघाउने बताएका छन् ।
नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति एवम् प्रमुखका आकाङ्क्षी टेकप्रसाद गुरूङ्ले भरतपुर महानगरमा कांग्रेसका उम्मेदवार जिताउन आफू लागिपर्ने बताए । यसअघि संविधानसभाका दुवै निर्वाचनमा आकाङ्क्षी रहेर पनि केन्द्रीय सभापति सुशील कोइराला र रामकृष्ण घिमिरेलाई निर्वाचित गराउन सकेको भन्दै उनले यस महानगरबाट प्रमुख पदका उम्मेदवार कोइराला सहितको टोलीलाई निर्वाचित गराएरै छाड्ने बताए ।
११ वर्ष विशिष्ट श्रेणीको जागिर खाने अवसर छाडेर प्रमुख पदको दाबेदार रहेका प्रा डा सूर्यकान्त घिमिरेले कांग्रेसले जित्ने रणनीति बनाएर कोइरालालाई निर्वाचित गराउने बताए । पार्टीले उम्मेदवारको घोषणा नगरे सम्म दाबेदार भएको भए पनि अब आफैले टिकट पाएको मनन गरेर कोइरालालाई जिताउन लागि पर्ने उनले बताए । घिमिरेले कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रध्यापक पेसा छाडेर प्रमुखको दाबेदार थिए ।
अर्का दाबेदार नेपाली कांग्रेस भरतपुरका पूर्वनगर सभापति मिलनबाबु श्रेष्ठले अबको आफ्नो दायित्व कोइरालालाई जिताउने रहेको बताए । पछिल्लो समयसम्म प्रमुख पदको चर्चामा रहे पनि पार्टीको निर्णयलाई आत्मसाथ गर्दै आफू जुट्ने श्रेष्ठको भनाइ छ ।
कांग्रेस चितवनको क्षेत्र नम्बर ४ का महासमिति सदस्यसमेत रहेका अर्का आकाङ्क्षी विजय भुसालले पार्टीले हिजो उम्मेदवार घोषणा गरे सँगै कोइरालालाई जिताउने अभियान आफूले सुरू गरेको बताए । अर्का आकाङ्क्षी महासमिति सदस्य राजेश्वर खनालले पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै कोइरालासहितको टिमलाई निर्वाचित गराउन प्रयत्नशील रहने बताए । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आकाङ्क्षी धेरै हुनु स्वभाविक रहेको भन्दै अब पार्टीको आधिकारिक उम्मेदवार जिताउन सबै लाग्ने र जित्ने पनि बताए ।

The post ‘मेयरका उम्मेदवार कोइरालालाई सघाउने प्रतिबद्धता’ appeared first on चितवन पोष्ट.