स्वतन्त्र प्रेसको सम्मान गर

स्वतन्त्र प्रेसको सम्मान गर

हिजो मे महिनाको ३ तारिख अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरेपछि हरेक वर्ष युनेस्कोको आह्वान्मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपाल पत्रकार महासंघले ‘संवेदनशील समयका लागि संवेदनशील विचार ः शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ भन्ने नाराका साथ प्रभातफेरी र कोणसभा कार्यक्रम आयोजना गरी प्रेस स्वतन्त्रता प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइएको छ । यो दिवस प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्दै पत्रकारिता निर्वाहका क्रममा जीवन उत्सर्ग गर्ने पत्रकारहरुप्रति श्रद्धा एवम् स्मरण गर्ने विशेष दिनको रुपमा मह¤वपूर्ण रहिआएको छ । तर विडम्बना ! संविधानमा प्रेस स्वतन्त्रता उल्लेख भए पनि र स्वतन्त्र प्रेसको जतिसुकै वकालत गरिए पनि अझै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुन सकिरहेको छैन ।
नेपालमा एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७१ वटा घटना घटेको देखिनुले नेपाली प्रेस अझै असुरक्षित रहेको देखाउँछ । विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको छ । प्रेसमाथि आक्रमण गर्नेलाई उन्मुक्ति दिइनु, आक्रमण गर्नेमाथि छानबिन नहुनुजस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटनाले व्यावहारिक रुपमा प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन नसकेको देखिन्छ । प्रेस स्वतन्त्रताको अनुभूति हुन नसकेकै कारण पत्रकारहरुले निर्भीक ढंगबाट समाचार लेख्न सकिरहेका छैनन् । नेपालमा संविधानतः प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ । तर व्यवहाररतः पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण अझै बन्न सकेको छैन । मुलुक परिवर्तनको संवाहक मानिने पत्रकार र स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहँदा पनि राज्य जिम्मेवार नहुनुले अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रतासम्बन्धी घटनामा कमी आएको देखिए पनि निर्भीक रुपमा काम गर्ने वातावरणचाहिँ हुन सकेको छैन । यो मुलुककै लागि दुर्भाग्य हो ।
नेपालमा विगत एक वर्षको अवधिमा पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएका छन् । ११ जना पत्रकार पक्राउ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना महासंघको सञ्चार अनुगमन इकाइमा दर्ता भएको देखिएको छ । यस्तै, पत्रकारमाथि धम्की दिइएको सात, सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले नियन्त्रणमा लिइएकोलगायतका घटना छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना दर्ता भएका थिए । संख्यात्मक हिसाबले यस वर्ष केही सुरक्षित भएको देखिए पनि सारमा प्रेस स्वतन्त्रताको सम्मान हुन नसकेको देखिएको छ । राज्यको चौँथो अंगका रुपमा लिइएको पत्रकारहरुको काम राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि ‘वाच डग’को भूमिका निभाउनु हो । तीनवटै अंगबाट सम्पादन भएका असल कामको प्रशंसा गर्ने र खराब कामको भण्डाफोर गर्ने दायित्व पनि प्रेसकै हो । पत्रकारहरुले पनि आफ्नो पेसागत इमानदारिता र धर्मलाई आत्मसात् गर्दै स्वतन्त्र प्रेसको सम्मानका लागि राज्यलाई दबाब दिइरहनु जरूरी देखिएको छ ।

The post स्वतन्त्र प्रेसको सम्मान गर appeared first on चितवन पोष्ट.