‘अरुले गर्छन् कुरा, हामीले गछौं पूरा’

‘अरुले गर्छन् कुरा, हामीले गछौं पूरा’

भरतपुर । नयाँ शक्ति पार्टी चितवनले घोषित स्थानीय तह निर्वाचनका लागी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
बिहीबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत नयाँ शक्तिले ‘अरुले गर्छन् कुरा, हामीले गर्छौ पूरा’ भन्ने मूल नारासहित आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
पार्टीका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार सूर्यप्रसाद तिमिल्सिनाले नयाँ शक्तिको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरिएका विषयवस्तुहरुलाई संक्षिप्तमा प्रस्तुत गर्दै तिमिल्सिनाले पुराना राज्यको नराम्रा कुराहरुलाई लिएर दलहरु अघि बढेकोले आफूहरु त्यसको विकल्पको रुपमा नयाँ शक्ति आएको बताए । उनले अन्य दल स्वेच्छाचारी तरिकाले अघि बढेको उल्लेख गर्दै कालो धन र भ्रष्ट्रचार अन्त्यका लागि आफ्नो उमे्दवारी रहेको बताए ।
स्थानीय निकायको विकास र समृद्धिलाई लक्षित गरिएका कार्यक्रमहरु घोषणापत्रमा समावेश गरिएको छ । स्मार्ट महानगरपालिका नगरपालिका र अवधारणा अगाडि सारेको नयाँ शक्तिले बासिन्दा, पूर्वाधार, अर्थतन्त्र, स्थानीय, समाज र जीवनपद्धति समेतलाई स्मार्ट बनाउने स्पष्ट खाका प्रतिबद्धतापत्रमा छ ।
महानगरमा आकासे पुल निर्माण, घरघरमा पानी, ढल, फोहोर मैला व्यवस्थापन, प्रत्येक वडामा बैकिंङ सेवाकेन्द्र, बाल उद्यान, पार्क निर्माण, नारायणी राप्ती किनार पर्यटकीय स्थल लगायतका कुरा प्रतिवद्धतापत्रमा समावेश गरिएको छ ।
पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्दै उमेद्वार तिमिल्सिनाले आफ्नो ध्यान कुरा भन्दा कसरी महानगर संमृद्ध बनाउन सकिन्छ भन्नेतर्फ लान्ने बताए ।

The post ‘अरुले गर्छन् कुरा, हामीले गछौं पूरा’ appeared first on चितवन पोष्ट.