त्यागबाट त्यागतिरको यात्रा

त्यागबाट त्यागतिरको यात्रा

—लक्ष्मण भण्डारी
acharyalb@gmail.com
‘उन्नतिका लागि इच्छुक व्यक्तिले निद्रा, तन्द्रा, भय, क्रोध र आलस्यलगायत अवगुणहरुलाई यथाशीघ्र त्याग गर्नुपर्दछ ।’ — हितोपदेश
‘जसले सबै कुरा त्यागिदिएका छन्, उनीहरु मुक्तिको मार्गमा छन् । बाँकी सबै मोहजालमा फँसेर बसेका छन् ।’ — तिरूबल्लुबर
‘मान त्याग्नाले मनुष्य सबैको प्रिय हुन्छ, क्रोध त्याग्नाले शोकरहित हुन्छ, कामको त्याग गर्नाले धनवान् हुन्छ र लोभ त्याग्नाले सुखी हुन्छ ।’ — धर्मराज युधिष्ठिर
‘यस संसारमा त्यागभन्दा ठूलो अर्को कुनै शक्ति छैन ।’ — स्वामी रामतीर्थ
‘जुन व्यक्तिको त्यागको भावना आफ्नो जातिभन्दा अगाडि बढ्न सक्दैन, ऊ स्वयं स्वार्थी हुन्छ र आफ्नो जातिलाई पनि स्वार्थी बनाउँदछ ।’ — महात्मा गान्धी
‘अमरत्व धनले होइन, त्यागले प्राप्त गर्न सकिन्छ ।’ — वेदव्यास
‘जसमा त्याग छ, त्यही व्यक्ति प्रसन्न हुन्छ, बाँकी सबै दुःखका अधिकारी हुन्छन् ।’ — उमर खैयाम
यी विभिन्न विद्वान्का विचार अध्ययन गर्दा त्याग मनुष्यजीवनको सभ्यता भएको कुरा स्पष्ट हुन्छ । त्यागको सामान्य अर्थ छोडनु हो, अपनत्वबाट टाढा रहनु हो र त्यसमाथि अरु कसैको स्वामित्व स्थापित गराइदिनु हो । संसारमा यो शरीरदेखि धनसम्पत्ति, रूपैयाँपैसा, पदप्रतिष्ठा, जमिन, जाति, देश, सबैलाई छोडेर हामी अलग रहनु पर्ने समय आउँछ । यो दुनियाँमा आजसम्म जो–जो भए सबैले त्याग गरेर नै गए ।
कुनै पनि कुराको स्थायीत्व छैन । सबै अस्थायी छन् । सबैको निश्चित आयु छ र त्यही आयुभित्र उनीहरु हाँस्छन्, रमाउँछन्, खुसी हुन्छन् अनि समाप्त भएर जान्छन् । हामीसँग कति कुरा आएर गए । धेरैपटक ती वस्तुलाई हामीले आफूसँगै राख्ने, आफ्नो बनाउने प्रयत्न ग¥यौँ पनि तर हामीलाई थाहै नदिई हामीबाट छुट्टिएर गए, हराएर गए ।
संसारका सबै विषय, वस्तु र पदार्थ सबै हराउनकै लागि बनेका हुन् । केही क्षण फेला पर्नु, अस्तित्वमा आउनु र अस्तित्वहीन भएर जानु नै सांसारिक विषय र सामग्रीको धर्म हो । हाम्रो जीवन पनि मृत्युको लागि हो । आज हामीसँग छ, भोलि रहँदैन । हाम्रो घरमा हिजो हाम्रा बाजेबराजुले घरव्यवहार सम्हाल्थे, आज हामीले सम्हालेका छौँ, भोलि हाम्रा छोराछोरीले सम्हाल्ने छन् । हाम्रा पूर्वज मरेर हाम्रा लागि ठाउँ खाली गरिदिए र त आज त्यही ठाउँमा हामी बाँचिरहेका छौँ । अब भोलिका लागि पनि हामीले हाम्रा सन्तान दरसन्तानका लागि मरेर स्थान खाली गरिदिनुपर्छ हामीले ।
जङ्गलमा कति रुखबिरूवा उम्रन्छन्, हुर्कन्छन्, बढ्छन् र समाप्त भएर जान्छन् । विकासको पनि निश्चित सीमा हुन्छ । आगोमा तताउन राखिएको दुध एकपटक मात्र उम्लिएर पोखिन्छ । त्यसपछि जति आगोमा राखे पनि त्यो उम्लिएर पोखिँदैन । हाम्रो जीवनविकासको पनि त्यस्तै सीमा छ । त्यो सीमापछि हाम्रो पतनको यात्रा आरम्भ हुन्छ । यसरी हेर्दा जीवन जन्म, विकास, पतन र समापन गरी चार चरणबाट अनिवार्य गुज्रनुपर्दछ ।
जन्मेदेखि मृत्यु अर्थात् निर्माणदेखि विनाशसम्मको यो क्रम प्राकृतिक र शाश्वत् क्रम हो । यसलाई कसैले पनि दायाँबायाँ गराउन सक्दैन । हामीले आज जम्मा गरेका सामग्री सबै केही कालका लागि मात्र हुन् । त्यसैले, जतिसुकै यी आकर्षक र मनमोहक नै किन नहोऊन्, आखिर हामीबाट अलग भएर जान्छन् भन्ने सत्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन ।
त्याग सार्वकालिक ईश्वरीय व्यवस्था हो । त्याग सिर्जना र प्राप्तिको आधारभूमि हो । त्याग नगरी हामीलाई कुनै पनि कुराको प्राप्ति पनि हुँदैन । हामीलाई थाहा छ— हरेक बिहानीहरुले हामीलाई त्यागका निम्ति प्रेरित गरिरहेका हुन्छन् । जब हामी राति सुतेर बिहान ब्यँुझन्छौँ, अनि सबैभन्दा पहिला शौचालय जान्छौँ । शौचालयमा गएर मलमूत्र विसर्जनपछि हाम्रो पेट खाली हुन्छ । खाली पेटमा त्यसपछि मात्र हामीले नास्ता गरेर पेटको भोक शान्त पार्दछौँ ।
त्याग र प्राप्ति जीवनमा सँगसँगै यात्रा गर्ने दुई अनिवार्य आवश्यकता हुुन् । त्यागपछि प्राप्ति र प्राप्तिपछि त्याग यही नियमित जीवनको अस्तित्व हो, प्रकृतिको दैवी व्यवस्था हो । जहिलेसम्म त्याग र प्राप्तिको नैसर्गिकतालाई बोध गर्न असक्षम हुनेछौैँ, त्यतिन्जेसम्म हामीले जीवनमा प्राप्त गर्ने स्वाभाविक आनन्द, खुसी र शान्तिलाई गुमाउन बाध्य हुनेछौँ ।
त्याग गर्ने मानिस मात्रै प्राप्तिको अधिकारी हुन्छ, किनभने त्याग कर्तव्यको पर्याय हो भने प्राप्ति अधिकार । कर्तव्य निर्वाह गर्ने व्यक्तिले नै अधिकार पाउन सक्छ । कामचोरहरुलाई प्राप्तिको अधिकार पनि हुँदैन । जहाँ प्राप्तिको मात्र आशा हुन्छ तर त्यागको भावना हुँदैन, त्यहाँको जीवन पनि अत्यन्त शुष्क र निरस हुन्छ, यान्त्रिक हुन्छ । महात्मा गान्धीले भनेझैँ बिस्तारै हामी स्वयम्, घरपरिवार, समाज, देश र जातिलाई पनि त्यागेर सबैको साझा बन्न सक्नुपर्दछ । त्यागले मानिसलाई कहिल्यै कङ्गाल बनाउँदैन । बरू त्यागीहरु जति सम्पन्न अरु कोही हुनै सक्दैन । धनसम्पत्ति हुने मान्छे भौतिक रुपमा सम्पन्न भएर पनि मानसिक रुपमा विपन्न हुन सक्छन्, तर त्याग गर्ने त्यागीहरुलाई भौतिक, मानसिक सबै प्रकारका सम्पत्तिहरु प्राप्त हुन्छन् । त्यागले नै हामीलाई सीमाबाट असीमतिर लैजान्छ, सङ्कीर्णताबाट व्यापकतातिर लैजान्छ ।
मदर टेरेसाले विवाह गरेका भए उनका श्रीमान् हुने थिए र घरमा छोराछोरी पनि हुने थिए, तर उनले त्यसो गरिनन् । उनले वैवाहिक जीवन, घरपरिवार र छोराछोरीको आवश्यकतालाई परित्याग गरिन्, तर पनि उनी सन्तानविहीन भइनन् । बरू, उनका संसारभर हजारौँ छोराछोरी भए । उनले घरको स्वार्थलाई त्याग गरेबापत् संसार प्राप्त गरिन्, दुई–चार जना छोराछोरीको मोहलाई त्याग गरेबापत् हजारौँ छोराछोरी पाइन् । यही हो त्यागको प्रतिफल । हामीले प्रसिद्ध योगगुरू रामदेवको अरबौँ सम्पत्तिका बारेमा थाहा पाएका छौँ । उनी अविवाहित छन्, छोराछोरीविहीन छन् । घर र परिवारविहीन भएर पनि उनी करोडौँ भारतीय जनताका अभिभावक बन्न सफल भएका छन् । उनले विवाह गर्छु, घरपरिवार चलाउँछु भनेर बसेका भए उनको घरपरिवार राम्रोसँग चल्थ्यो होला, तर यतिधेरै मान्छे उनका समर्थक हुने थिएनन् । उनले घरपरिवार चलाउन लाखौँ रूपैयाँ कमाउँथे होलान्, तर अरबौँ रूपैयाँ जम्मा हुने थिएनन् ।
उनले त्यो सम्पत्ति अधिकांश दानमा पाएका छन् । रामदेवलाई नै मानिसले किन पैसा दिन्छन् ? किन यस्ता साधु र सन्तहरुलाई दान दिइन्छ ? किनकि, उनी सबैका लागि बाँचेका छन् । घरपरिवार, इष्टमित्र व्यक्तिगत स्वार्थ सबैलाई त्यागेबापत्को प्रतिफल हो । अर्थात् भनौँ यो त्यागको अभिनन्दन हो, सम्मान र प्रशंसा हो ।
फ्लोरेन्स नाइटिङ्गेल पनि सबैका लागि बाँचिन्, त्यसैले सबै उनका लागि बाँचे । तपार्ईं आफ्नो घरपरिवारका लागि मात्र सोच्नुहुन्छ भने तपाईंलाई पनि घर र परिवारका सदस्यले मात्रै सोच्छन् । यदि सारा समाजका लागि तपाईंले सोच्नुहुन्छ भने सारा समाजले पनि तपाईंका बारेमा सोच्न थाल्दछ ।
हामी त्याग गरेर कङ्गाल कहिल्यै हुँदैनौँ । त्यागले हामीलाई सम्पन्नताको सगरमाथातिर लैजान्छ । सानासाना कुराको त्यागले पनि हामीले ठूलाठूला कुरा पाउन सक्छौँ । घरको कोठा र आँगनमा जम्मा भएको तुच्छ फोहोर बढारेर फाल्दा त हामीलाई आनन्द हुन्छ भने अझ विशिष्ट वस्तुको त्यागले कति आन्द देला !? हाम्रो जीवनमा त्यागको सभ्यताले नयाँ सौन्दर्य थपिदिन्छ, गतिशीलता र सिर्जनाको मार्ग प्रशस्त गरिदिन्छ । त्याग त्यसैले हाम्रो शारीरिक एवम् मानसिक शुद्धीकरणको एक दैवी प्रक्रिया हो भन्न सकिन्छ ।
आज मान्छेमान्छेका बीचमा अविश्वासको वातावरण व्याप्त छ । यही अविश्वासको कालो अँध्यारोमा अन्धाधुन्ध यात्रा गर्दा हामीले थुप्रै दुर्घटनाहरुको नमीठो अनुभूति गर्नु परेको छ । यसपछाडिको कारण त्यागका बदलामा प्राप्तिको चाहना नै हो । हामीलाई प्रायः दिन मन लाग्दैन । आज पनि लिन, भोलि पनि लिन, यताबाट पनि लिन, उताबाट पनि लिन, जेहोस् हामी लिन चाहन्छौँ, केवल लिन । त्यसैले, हामीले केवल दुःखसिवाय पाउन पनि केही सकेनौँ ।
सङ्ग्रहका कारण हामी पवित्र हुन सकेनौँ । पोखरी फोहोर हुने मुख्य कारण नै त्यहाँ जमेको पानी र पानीभित्रका पातपतिङ्गर, भ्यागुता, कीराफट्याङ्ग्रा हुन् । तर कुनै पनि नदी पोखरीभैmँ प्रदूषित हुँदैनन् । नदीको पवित्रतापछाडि उसको निरन्तर गतिशीलताको हात छ भने पोखरीको प्रदूषण र अपवित्रताका पछाडि उसको गतिहीनताको हात छ । पोखरी जमेर बस्नुको परिणाम नै उसको प्रदूषण हो, अपवित्रता हो ।
दिएर कोही गरिब हुने भए त्यागको यो सभ्यताका बारेमा कसैले बताउने थिएनन् । दिने बानीले सबैभन्दा पहिला हामीलाई पाउनका लागि आवश्यक योग्यताको विकास गरिदिन्छ भने सँगसँगै आनन्द र शान्तिको पनि अनुभूति गराउँछ । के हामी हाम्रो शरीरमा अनावश्यक दिशा र पिसाब साँचेर बस्दा आनन्दित हुन्छौँ ? निश्चय नै दिसापिसाबको सङ्ग्रहले हामीमा पीडा उत्पन्न हुन्छ, तर त्यसको त्यागपछि आनन्दको अनुभूति हुन्छ । शरीरका विकार जस्तै, पसिना, थुक, सिँगान, खकार, मल, मूत्रको निष्कासनमा हामीलाई आनन्द हुन्छ ।
त्याग त्यसैले आनन्दको भरपर्दो स्रोत हो । कसैलाई केही दिएको अवस्थामा हामीलाई अपार खुसीको अनुभूति हुन्छ । व्यापारमा पनि पहिला लगानी गरिन्छ । व्यापारमा गरिने लगानी त्याग हो भने त्यसबापत् पाइने नाफा प्राप्ति हो । बिनालगानी यदि कसैले मुनाफा खोज्दछ भने उसले कहिल्यै व्यापार गर्न सक्दैन । तपाईं चाहे जे गर्नुस्, तपाईंको पहिलो यात्रा त्यागबाट सुरू हुन्छ र त्यागमै गएर टुङ्गिन्छ ।
हामीले गर्ने हरेक प्रयत्नहरु त्यागबाट आरम्भ हुन्छन्, तिनले हामीलाई फल पनि प्रदान गर्दछन् र त्यो फललाई फेरि खर्च गर्दछौँ । हामीले, पेट खाली गर्दछौँ, फेरि भर्दछौँ र फेरि खाली गर्दछौँ । हामीपूर्व पनि हाम्रो पूर्वजले आफ्नो जीवन त्यागेर गए, आज हामीलाई हाम्रो जीवन प्राप्त भएको छ र फेरि भोलि यसलाई त्यागेर हामी पनि जानुछ । यसरी हेर्दा संसारको यात्रा अर्थात् मनुष्यको जीवनको यात्रा त्यागबाट प्राप्ति र फेरि त्याग नै हो ।
हामीले लगानी गर्दछौँ, कमाउँदछौँ तर त्यो कमाइ त्यसै साँचेर त राख्दैनौँ । त्यसलाई पुनः लगानी गर्दछौँ र फेरि पाउँदछौँ । पहिला गुमाउँदछौँ, त्यसपछि कमाउँदछौँ र फेरि गुमाउँदछौँ । हाम्रा तमाम प्रयत्न त्याग, प्राप्ति र त्यागको दर्शनमा आधारित भएर अघि बढ्ने गर्दा रहेछन् । प्राप्ति त बीचमा देखा पर्ने एकप्रकारको भ्रम पो रहेछ । सत्य त त्याग नै रहेछ, हुनु होइन, नहुनु नै जीवनको अस्तित्व रहेछ ।
हिजो हामी थिएनौँ, आज हामी छौँ र फेरि भोलि हामी रहनेछैनौँ । आजको यो जीवन त्यसैले केही कालको पाहुना हो । केही समय देखा पर्ने र फुटेर जाने पानीको फोकासिवाय हाम्रो जीवनको अर्को कुनै आयु छैन । हामीलाई समय भनेको हाम्रो आयु मात्र हो भन्ने भ्रम परेको छ । सायद, नदीको पानीको फोकालाई पनि समय भनेकै ऊ देखा पर्ने र अस्तित्वमा आउने क्षण मात्र हो भन्ने लाग्दो हो । तर समयको कुनै आदि छैन, त्यसैले अन्त पनि छैन । हामीभन्दा अघि पनि समय थियो, मनुष्य सभ्यता थियो र हामीपछि पनि रहनेछ । समय सबै घटनाप्रतिघटनाको एकमात्र साक्षी हो ।
हामीलाई पानीको फोकाको आयु अत्यन्त छोटो लागेजस्तै परमात्माका अगाडि हाम्रो जीवनको आयु पनि पानीको क्षणिक फोकासिवाय अर्को केही हुँदैन । त्यसैले, आफ्नो अभिमानलाई अगाडि सारेर प्राप्तिका लागि मात्रै मरिमेट्ने प्रवृत्तिले हाम्रो सर्वनाशबाहेक अर्को केही गर्र्दैन । आजको विनाशको मुख्य कारण नै खोस्ने चाहना हो, प्राप्त गर्ने र जम्मा गर्ने प्रवृत्ति हो । यदि हामीभित्र त्यागको संस्कृति विकसित हुने हो भने यो संसारको रुप कस्तो हुन्थ्यो होला !? जहाँका मानिस लिनभन्दा धेरै दिन चाहन्छन्, उनीहरु पनि नदीजस्तै नित्य निर्मल र पवित्र हुन्छन्, अग्रगामी र गतिशील हुन्छन् ।
आजको मानवसमाज लिनेहरुको भीडले भरिएको छ । ढाँटेर, छलेर, चोरेर वा मारेर जसरी हुन्छ, आफ्नो बनाउनुपर्छ भन्ने मान्यताले स्थान पाएका हुँदा कसैले पनि केही पाउन सकेको देखिँदैन । यस्तो अवस्थामा त्यागको भावना भएका मान्छेको ठूलो मूल्य हुन्छ । त्यस्ता मान्छे अत्यन्त पूज्य र स्तुत्य हुन्छन् । त्यागका अगाडि कसैको पनि केही दया चल्दैन । स्वामी रामतीर्थले भनेभैmँ त्यागभन्दा अर्को कुनै शक्ति छैन । वेदव्यासले त त्यागले अमरत्व प्राप्त हुने सत्यको उद्घाटन गरेका छन् ।
गौतम बुद्ध मरेर गएको सयौँ वर्ष भएको छ, तापनि उनलाई कसैले बिर्सिएका छैनन् । उनी मरेर पनि अमर हुनुका पछाडि उनले गरेको त्याग नै प्रमुख कारण हो । शान्ति र सत्यको अनुभूतिका लागि उनले दरबारको सुख, सयल र मस्तीलाई त्याग गरेका थिए । यही त्यागको प्रतिफल गौतम बुद्ध आज पनि जीवन्त छन् र रहनेछन्, आउँदा सयौँ वर्षसम्म । उनलाई समयले कहिल्यै पनि पुरानो बनाउने छैन । आज यस्तै त्यागको खाँचो छ ।
बुद्ध बन्न सबै चाहन्छन्, तर त्यागका लागि कोही तयार देखिँदैन । बुद्धले त त्यागका लागि केही बाँकी राखेनन्, त्यसैले त पाउनका लागि पनि केही बाँकी रहेन । सबैथोक गुमाउन चाहनेले मात्र सबैथोक पाउने हैसियत राख्दछ । केही पनि गुमाउन नचाहनेले केही पनि पाउन सक्दैन ।
हामीले कमाएको अन्न भकारीमा साँचेर राख्न र हामीले भोजनमा प्रयोग गर्नका लागि मात्र होइन । यसलाई फेरि खेतमा लगेर रोपेर थप उत्पादन गर्नु पनि हो । हाम्रो जीवन स्वयम्मा त्यागको विशिष्ट प्राप्ति हो । हाम्रा माता र पिताले रज र वीर्यको त्याग नगरेका भए हामीलाई हाम्रो जीवनको पनि कुनै अनुभूति हुने थिएन ।
यसैले, त्याग सिर्जना र प्राप्तिको साधन हो । हामीले सबै कुरा त्याग्नु नै पर्छ । हामीले नचाहे पनि प्रकृति त्यागको यो विशिष्ट व्यवस्थाबाट कहिल्यै पछि हट्ने छैन । जीवन त्यागबाट त्यागतिरको यात्रा हो । शून्यबाट शून्यतिरको यात्रा हो । त्यसकारण, अहिले हामीसँग सबैथोक छ भन्ने अभिमानमा फुलेर आफ्नो र अर्काको जीवनलाई दुःखी नबनाऔँ । जीवनमा आखिर एकदिन सबैथोक त्याग्नु नै छ भन्ने सम्झिएर आफ्नो हैसियतअनुसार त्यागको सभ्यता विकसित गरौँ । लाग्दछ, यसले हाम्रो जीवन मात्र आनन्दित र प्रसन्न हुनेछैन, हाम्रो वरपर रहेकाको जीवनलाई पनि केही त्राण मिल्नेछ । त्याग चानचुने कुरा होइन । त्यागको विशिष्टतालाई गहिराइमा बुझ्नेहरु पनि थोरै मात्र हुन्छन् । त्याग्नुको आनन्द नै बेग्लै छ । सङ्ग्रह मात्र गर्नेहरुले कसरी त्यसलाई बुझ्नु र !

The post त्यागबाट त्यागतिरको यात्रा appeared first on चितवन पोष्ट.