नारायणगढ–मुग्लिन सडक १० दिन खुला रहने 

नारायणगढ–मुग्लिन सडक १० दिन खुला रहने 

भरतपुर । मतदानका लागि काठमाडौं जान आउन खोज्नेहरुलाई खुसीको खबर । चुनावको समयमा नौ दिन नारायणगढ मुग्लिन सडक खण्ड २४ घण्टै सञ्चालन हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले बिहीबार सूचना जारी गरी वैशाख २५ देखि जेठ ३ सम्म बाटो बन्द नहुने जानकारी दिएको हो ।
निर्माण कार्यालाई तीव्रता दिन भन्दै अहिले बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सो सडक पूर्ण रुपमा बन्द हुने गरेको छ । अब १० दिन यो समय सीमा कायम रहने छैन । जेठ चार गतेदेखि फेरि यो समय सीमा कायम हुने आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । चुनावका लागि नै यस्तो व्यवस्था गरेको आयोजनाले जनाएको छ ।
वैशाख १९ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्याक्रमले यस्तो निर्णय गरेको हो । सो सडक राजधानीलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य सडक मार्ग हो । सडक बन्द हुँदा यात्रा गर्नेहरुले निकै हैरानी बेहोर्नु परेको छ । सो सडक खण्ड हुँदै दैनिक १० हजार गाडीहरु ओहर दोहर गर्ने आयोजना कार्यालयको अनुमान छ ।
काठमाडौंका साथै पर्यटकीय सहर पोखरालाई पनि यही मार्गले पुर्वपश्चिम नेपालसँग जोड्छ । नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरू भएको छ । दुई वर्षअघि विस्तारको काम सुरु भएसँगै सो सडकखण्डमा यात्रा गर्नु निकै कष्टकर हुने गरेको छ । सडकमा हैरानी भएपछि हवाइ यात्रामा पनि चाप बढेको छ ।
निर्माण कम्पनीहरुसँग सुरूमा भएको सम्झौता अनुसार अहिले सो सडकको निर्माण पूरा हुनु पर्दथ्यो । दुई वर्षभित्र निर्माण सक्ने भनेर सन् २०१५ को अप्रिलमा विभिन्न निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो । तर, निर्माण कार्यमा निकै विप्लव भएको छ । पुर्वानिर्धारित समय सीमा सकिए पनि काम अझै आधा मात्रै सकिएको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माणको काम सुरू भएको हो ।
निर्माण कार्यलाई तीव्रता दिनभन्दै दिनमा छ घण्टासम्म सडक पूरै बन्द गर्ने क्रम सुरू भएको हो । एकतर्फी रुपमा गाडी बन्द गरेर निर्माणको काम गर्ने भनिए पनि त्यसरी काम गर्न सम्भव नै नभएका कारण दोहोरै यातायात बन्द गर्नु परेको निर्माण कम्पनीका प्रतिनिधिहरु बताउँछन् । यातायता बन्द गरेर काम गरे पनि सोचे अनुरुप काम अगाडि बढ्न सकेको छैन ।

The post नारायणगढ–मुग्लिन सडक १० दिन खुला रहने  appeared first on चितवन पोष्ट.