निराश कांग्रेसीसँग भोट माग्दै किन जारी ग¥यो एमालेले यस्तो विज्ञप्ति ?

भरतपुर, २२ वैशाख ।

पार्टी नेतृत्वको जवरजस्ती उम्मेद्वारी फिर्ताले निराश कांग्रेसी मतदातासँग नेकपा एमाले चितवनले घुमाउरो गरी भोट मागेको छ । आफूहरुको उत्साहलाई मारेर पार्टी सभापति शेरबहादुर देउवाले दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता लिएपछि तीव्र असन्तोष प्रकट गरिरहेका कांग्रेसीलाई एमालेको उम्मेद्वारलाई नै भोट हाल्न एमालेले विज्ञप्ति नै निकालेर अपिल गरेको छ । एमालेले भरतपुर महानगरमा देवी ज्ञवालीलाई मेयर पदमा उठाएको छ ।
नेकपा एमाले चितवनले इमेलमार्फत सञ्चारमाध्यममा पठाएको विज्ञप्तिमा कांग्रेस–माओवादीले गरेको गठबन्धनलाई ‘स्थानीय नेता तथा कार्यकर्ताको भावनाविपरीत’ भनिएको छ । “उम्मेद्वारी दर्ता भईसकेपछि सत्तासिन दुई दलले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरित केन्द्रीय तहमा गठबन्धन गरी भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी फिर्ता भएको परिदृष्यप्रति नेकपा (एमाले) चितवनको गम्भीर ध्यान आकृष्ट भएको छ”, पार्टी अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय तहका केही नेताहरुको निजी स्वार्थसिद्ध गर्ने उद्देश्यले गरिएको यस किसिमको अस्वाभाविक गठवन्धनबाट दलीय प्रतिस्पर्धा र लोकतान्त्रिक पद्धतिमा नै आघात पुग्न गएको महानगरवासी आम जनसमुदायहरूले अनुभूति गरेका छन् ।”
एमालेले प्रतिस्पर्धी शक्ति मैदानबाट हटेकोमा लोकतन्त्रलाई फाइदा नहुने भन्दै यसप्रति महानगरबासीसँगै एमाले बराबर चिन्तित भएको भनेको छ । एमालेले आहत कांग्रेसी कार्यकर्तालाई फकाउने मनसायले भनेको छ, “यी कुराले हामीलाई जति चिन्तित बनाएको छ, भरतपुर महानगरपालिकावासीले प्रकट गर्नुभएको यही प्रकृतिको चिन्तालाई हामी सम्मान गर्दछौं । यस परिस्थितिमा महानगरवासी आदरणीय जनसमुदायले लोकतान्त्रिक आन्दोलनको अगुवा पार्टी नेकपा (एमाले) को सूर्य चिन्ह वाहक तपाईहरुकै साथमा राष्ट्र र समाजका लागि लड्दै आएका उम्मेदवारलाई मतदान गरी आगामी पाँच वर्षकालागि भरपर्दाे स्थानीय सरकार निर्माण गर्ने अवसरको सदुपयोग गर्न हामी हार्दिक अपिल गर्दछौं ।”
यसअघि स्थानीय नेता तथा कार्यकर्ताले नमान्दा नमान्दै पार्टी सभापति शेरबहादुर देउवाले बलजफ्ती गरेर बिहीबार मेयर उम्मेद्वार कोइरालाको उम्मेद्वारी फिर्ता लिएका थिए । कोइराला स्वयं यो कदमप्रति सकारात्मक छैनन् भने कार्यकर्ता निकै बेखुसी छन् । पार्टीको केन्द्रीय गठबन्धनअनुसार कांग्रेस मतदाताले अब माओवादी उम्मेद्वार रेणु दाहाललाई भोट हाल्नुपर्नेछ ।

नेकपा एमाले चितवनले ई–मेलमार्फत सञ्चारमाध्यममा पठाएको प्रेस विज्ञप्ति

वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट, केन्द्रदेखि वडातहसम्मका घोषणापत्र र प्रतिबद्धताहरू सार्वजनिक गर्ने, मतदाताहरूसँग घरदैलोमा भेटघाट गर्ने क्रममा आम जनसमुदायबाट जेजस्तो प्रतिक्रिया प्राप्त भएको छ, यसबाट हाम्रो पार्टी र हाम्रो पार्टीका सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई थप उत्साह प्राप्त भएको छ ।
उम्मेदवारी दर्ता भईसकेपछि सत्तासिन दुई दलले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरित केन्द्रीय तहमा गठबन्धन गरी भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी फिर्ता भएको परिदृष्यप्रति नेकपा (एमाले) चितवनको गम्भीर ध्यान आकृष्ट भएको छ । केन्द्रीय तहका केही नेताहरुको निजी स्वार्थसिद्ध गर्ने उद्देश्यले गरिएको यस किसिमको अस्वाभाविक गठवन्धनबाट दलीय प्रतिस्पर्धा र लोकतान्त्रिक पद्धतिमा नै आघात पुग्न गएको महानगरवासी आम जनसमुदायहरूले अनुभूति गरेका छन् । यस कार्यले लोकतन्त्रप्रति निष्ठावान नागरिकको भावनामा गम्भीर चोट पुगेको कुरा सार्वजनिक भइरहेका छन् ।
आफ्नो घर दैलोमा आफ्नै बीचमा खारिएका जनप्रतिनिधिमार्पmत स्थानीय सरकारको नेतृत्व निर्माण गर्ने क्रममा केही व्यक्तिका निजी स्वार्थका लागि लोकतन्त्र, निष्ठा र आदर्शलाई नै दाउमा राखेर भएका यस्ता गठबन्धनले ल्याउने परिणामप्रति भरतपुर महानगरपालिकावासीहरुले गम्भीरतापूर्वक विश्लेषण गरिरहेका छन् ।
प्रतिस्पर्धी शक्ति मैदानबाट हटेकोमा लोकतन्त्रलाई फाइदा नहुने कुराले हामीलाई जति चिन्तित बनाएको छ भरतपुर महानगरपालिकावासीले प्रकट गर्नुभएको यही प्रकृतिको चिन्तालाई हामी सम्मान गर्दछौं । यस परिस्थितिमा महानगरवासी आदरणीय जनसमुदायले लोकतान्त्रिक आन्दोलनको अगुवा पार्टी नेकपा (एमाले) को सूर्य चिन्ह वाहक तपाईहरुकै साथमा राष्ट्र र समाजका लागि लड्दै आएका उम्मेदवारलाई मतदान गरी आगामी पाँच वर्षकालागि भरपर्दाे स्थानीय सरकार निर्माण गर्ने अवसरको सदुपयोग गर्न हामी हार्दिक अपिल गर्दछौं ।

(कृष्णभक्त पोखरेल)
अध्यक्ष