नेपाली कांग्रेस चितवन स्तब्ध, ‘सभापति देउवाको राजीनामा माग्दै विरोध प्रदर्शन’

नेपाली कांग्रेस चितवन स्तब्ध, ‘सभापति देउवाको राजीनामा माग्दै विरोध प्रदर्शन’

–तुलमान गुरूङ
नारायणगढ । भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको खबर बाहिर आएपछि चितवनमा कांग्रेसको माहोल फेरिएको छ । केन्द्रमा भएको निर्णयले चितवन कांग्रेसमा उथलपुथल नै बनाएको छ ।
केन्द्रीय सभापतिले गरेको निर्णय आफूहरूलाई पाच्य नभएको भन्दै सभापति शेरबहादुर देउवा विरूद्ध जिल्ला पार्टी कार्यालयमा प्रदर्शन नै गरे । उनीहरूले पार्टी सभापति देउवाको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरे । आक्रोशित कार्यकर्ताको भीडले माओवादी केन्द्रको विरूद्धमा पनि नाराबाजी गरेका थिए । उनीहरूले कांग्रेस बेच्न पाइँदैन, केन्द्रीय सभापतिबाट राजीनामा दे, हँसिया हथौडासँग रूख साट्न पाइँदैनलगायतका नारा लगाएका थिए ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेलले व्यक्तिगत स्वार्थका लागि पार्टी नै बेचेको चितवनका कार्यकर्ताहरूले आरोप लगाएका छन् । देउवाले आफू प्रधानमन्त्री बन्ने षड्यन्त्रमा पार्टी नै बेचेर कार्यकर्ताको चित्त दुखाएको कार्यकर्ताहरूको भनाइ छ ।
‘नेपाली कांग्रेस कुनै पनि पार्टीसँग मिलेर जानुपर्ने आवश्यकता नभएको भन्दै उनीहरूले एक्लाएक्लै चुनावी मैदानमा उत्रन सक्ने क्षमता कांग्रेससँग छ,’ नेपाली कांग्रेस क्षेत्र नं. ३ की सदस्य प्रेमकुमारी तामाङले भनिन्, ‘सभापति एक्लैले आफूखुसी काम गरेपछि हामीले झण्डा बोकेर हिँड्नुको के अर्थ ?’ १९ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा जनतालाई आफ्नो अधिकार प्रयोग गर्नबाट बञ्चित गराइएको उनले आरोप लगाइन् ।
पार्टी केन्द्रीय सभापतिले पार्टी, कार्यकर्ता र नेपाली जनतामाथि खेलवाड गरेको जिल्ला सदस्य भूपतिदास सापकोटाले आरोप लगाए । अहिलेसम्म योगदान पु¥याएका पार्टी कार्यकर्ताहरूको भावनामा खेल्दै उल्टै तिलाञ्जली दिने प्रयास गरिएकोले कुनै पनि हालतमा मान्य नहुने बताए ।
यस्तै पार्टीका सक्रिय सदस्य गुरूदत्त पौडेलले केन्द्रीय स्तरका नेताहरूले स्वार्थले गर्दा कुनै पनि जिल्लाका कार्यकर्ता सन्तुष्ट नरहेको बताए । ‘सभापति देउवाको निर्णयले कार्यकर्तामा नैराश्यता छाएको छ,’ उनले भने । कांग्रेस चितवनका पूर्वसभापति टेकप्रासाद गुरूङले पनि चितवनमा एकता हुनु कुनै पनि आवश्यकता नभएको बताए । उनले भने, ‘चितवनको सबै निकायमा कांगे्रसको जित सुनिश्चित नै भइसकेको छ त किन मिल्नुप¥यो ?’ त्यसैले चुनाव लड्नका लागि डराउनुपर्ने कुनै कारण नै नभएको उनले स्पष्ट पारे ।
यसअघि मेयरका उम्मेदवार दिनेश कोइरालाले भरतपुरमा पत्रकार सम्मेलन गरेर कांग्रेसको जित पक्का भएको दाबी गरेका थिए । उक्त सम्मेलनमा बोल्दै सांसद रामकृष्ण घिमिरेले कुनै पनि पार्टीसँग तालमेल नहुने बताएका थिए । जिल्ला सभापति जीतनारायण श्रेष्ठले माओवादी केन्द्रसँग तालमेल हुने भनिएको खबर भ्रामक भएको भन्दै बिहीबार बिहान विज्ञप्ति नै निकालेर कांग्रेस कुनै पनि हालतमा माओवादीसँग नमिल्ने बताएका थिए ।
त्यसको केही समयपछि नै कांग्रेस र माओवादीबीच तालमेल मिलेको कुरा बाहिर आएपछि कार्यकर्ता आक्रोशित बनेका हुन् । कार्यकर्ताले पार्टी सभापति जितनारायण श्रेष्ठलाई केन्द्रीय समितिको निर्णयमा कुनै पहिन हालतमा सहमति जनाउन नहुने भन्दै दबाब दिएका थिए । कांग्रेसले भरतपुर महानगरको मेयरमा कोइराला र उपमेयरमा पावर्ती शाहलाई उठाएको थियो भने माओवादी केन्द्रले रेणु दाहाललाई मेयर र सुरेन्द्र गुरूङलाई उपमेयरमा उठाएको थियो ।
देउवाले मेयरको उम्मेदवारबाट कोइरालालाई हटाए
किशोर खनाल
भरतपुर । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले महानगरको मेयरको उम्मेदवारबाट दिनेश कोइरालालाई हटाएका छन् । भरतपुर महानगरका मेयरमा उम्मेदवार दिएका कोइरालाले फिर्ता लिन नमान्दा पनि देउवाले ठाडो पत्रमार्फत कोइरालालाई मेयरको उम्मेदवारबाट हटाएका
हुन् ।
नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र नै पठाएर भरतपुर महानगरको मेयरमा उम्मेदवार दर्ता गरेका दिनेश कोइरालाको उम्मेदवार फिर्ता लिन भनेका थिए । कांग्रेस कार्यकर्ताको व्यापक असन्तुष्टि भएपछि मेयरका उम्मेदवार कोइराला निर्वाचन अधिकृतको कार्यालय गएका थिएनन् । उम्मेदवार फिर्ता गर्ने समय ढल्कदै गएपछि निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र आयो ।
देउवाद्वारा हस्ताक्षरित पत्रमा ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १८ र २३ को उपदफा ५ बमोजिम पार्टीको तर्फबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारी फिर्ता लिने निर्णय गरिएकोले सोही अनुसार कार्यान्वयन गराउनु’ भनेर भनिएको थियो ।
‘जसबाट मेयरको टिकट आयो, उसैबाट फिर्ता गराउनु भनेपछि उम्मेदवार उपस्थित नभए पनि नियमअनुसार उम्मेदवार फिर्ता गराइन्छ’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिकृत केशवप्रसाद पौडेलले भने । बिहीबार साँझ ६ः१५ बजे मेयरका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवार फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा टाँसिएको थियो ।
स्थानीय कार्यकर्ताको व्यापक गुनासो आइरहँदा पनि पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग तालमेल गरेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएअनुसार भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाललाई समर्थन गर्ने समझदारी बनेको छ । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट पार्वती शाहलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने सहमति भएको छ ।
केन्द्रमा शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच भएको तालमेल स्थानीय तहमा यसको प्रभाव कति पर्छ भन्ने कुरामा कांग्रेस कार्यकर्ताहरु नै द्विविधामा परेका छन् । देउवा र दाहालबीचको सहमतिअनुसार काठमाडौँ र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने छ । उपमेयरमा भने कांग्रेसले माओवादीलाई समर्थन गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेसको कार्यालय कमलनगरका कांग्रेस कार्यकर्ताको व्यापक असन्तुष्टि देख्दा केन्द्रमा भएको सहमति स्थानीय तहमा कार्यान्वयन हुन अत्यन्तै जटिल देखिन्छ । कांग्रेस र माओवादी केन्द्रको सहमतिअनुसार भरतपुर महानगरको उपमेयरमा कांग्रेसका उम्मेदवार पार्वती शाहलाई माओवादीले समर्थन गर्ने भएको छ ।
माओवादी केन्द्रबाट महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेका सुरेन्द्र गुरुङको पनि फिर्ता भएको छ । ‘उम्मेदवारी फिर्ता लिने दुई तरिका हुन्छ, एउटा स्वयम् व्यक्ति नै उपस्थित भएर, अर्को जुन दलले टिकट दियो, उही दलको आधिकारिक पत्र आएर’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुगमन अधिकृत केशवप्रसाद पौडेलले भने, ‘मेयरका उम्मेदवार कोइराला र गुरुङको हकमा पार्टीबाटै आधिकारिक पत्र आएर फिर्ता भएको हो ।’
कोइराला र गुरुङसहित चितवन जिल्लाबाट १५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भरतपुर वडा नं. २६ मा एमालेका वडाध्यक्षले पनि उम्मेदवारी फिर्ता गरेका छन् । सोही वडामा माओवादीका ४ जना सदस्यले पनि उम्मेदवारी फिर्ता गरेका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुगमन अधिकृत पौडेलका अनुसार भरतपुर महानगरका विभिन्न वडामा स्वतन्त्रमा उम्मेदवार दिएका ८ जनाले पनि उम्मेदवारी फिर्ता गरेका छन् ।

The post नेपाली कांग्रेस चितवन स्तब्ध, ‘सभापति देउवाको राजीनामा माग्दै विरोध प्रदर्शन’ appeared first on चितवन पोष्ट.