भरतपुर महानगरमा कांग्रेस माओवादीको साझा उम्मेद््वार कार्यकर्ता रुष्ट, विरोधमा प्रदर्शन

भरतपुर महानगरमा कांग्रेस माओवादीको साझा उम्मेद््वार कार्यकर्ता रुष्ट, विरोधमा प्रदर्शन

विप्लव काफ्ले

२२ बैशाख ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा मेयर र उपमेयर पदमा चुनावी तालमेल गरेका छन् । कार्यकर्ताको तीव्र विरोध र असन्तुष्टिका वावजुत मेयर र उपमेयर पदमा भागबण्डा गरेर साझा उम्मेद््वार बनाएको हो ।
मेयरमा माओवादी केन्द्रबाट उम्मेद््वारी दर्ता गरेकी रेणु दाहाल र उपमयेरमा कांग्रेसबाट उम्म्मेद्वारी दर्ता गराएकी पार्वती शाहलाई जिताउन तालमेल गर्ने दुई दलबीच सहमति भएपछि कांग्रेसले मेयरका उम्मेद््वार दिनेश कोइराला र माओवादीले उपमेयर उम्मेद््वार सुरेन्द्र गुरुङको नाम झिकेको छ । ३४ जना आकांक्षी मध्येबाट अन्तिम समयमा टिकट पाएका कांग्रेस नेता कोइरालाको उम्मेद््वारी पार्टीले बलजफ्ती फिर्ता गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई फ्याक्समार्फत कोइरालाको उम्मेद््वारी फिर्ता लिने निर्णय कार्यान्वयन गर्न आग्रह गरेका थिए । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा १८ र दफा ५ बमोजिम पार्टीको तर्फबाट मेयर पदमा उम्मेद््वारी फिर्ता लिने निर्णय कार्यान्वयन गर्न हस्ताक्षरसहितको पत्र पठाएका थिए ।
दुई पार्टीबीच तालमेल भएपछि देउवाले कोइरालालाई केन्द्रीय सदस्य वा सांसद् बनाउने आश्वासनसमेत दिएका थिए । तर, कोइरालाले जिल्लाका अग्रज नेताको सल्लाहमा उम्मेद््वारी फिर्ता गर्न आफै जान मानेन । उनी जान नमानेपछि देउवाले उम्मेद््वारी फिर्ता गर्ने अन्तिम समयको दुई मिनेट अघि फ्याक्स पठाएका थिए । यस्तै माओवादी केन्द्रबाट उपमेयरमा उम्मेद््वारी दर्ता गराएका सुरेन्द्र गुरुङको उम्मेद््वारीलाई आधिकारिक नभएको भन्दै बदर गर्न आग्रह गर्दै फ्याक्स पठाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितमान शाक्यद्वारा जारी पत्रमा पार्टीको ९ गते प्रकाशित उम्मेद््वारी नामावलीमा प्रकाशित भएकोमा आधिकारिक नभएको भन्दै बदर गर्न आग्रह गर्दै पठाएको थियो ।
दुई दलका शीर्षनेताले हस्तक्षेप गर्दै उम्मेद््वारी झिकाएपछि माओवादी केन्द्रका कार्यकर्ता मौन छन् । तर, कांग्रेसका जिल्ला नेता, कार्यकर्ता रुष्ट बनेका छन् । भरतपुर महानगरपालिकाका २९ वडामा १ लाख ५० हजार २ सय ७४ मतदाता छन् । महानगरबाट १ सय ५० जना निर्वाचित हुनेछन् ।

विरोधमा उत्रिए कांग्रेसी
तालमेलमको खबर पाएलगत्तै कांग्रेस चितवनका नेता, कार्यकर्ता पार्टी कार्यालय कमलनगरमा पुगेका थिए । कांग्रेसको बलियो पकड रहेको क्षेत्रलाई माओवादीसँग तालमेल गरी कार्यकर्ताको मनोबल गिराउने काम भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् । आक्रोसित कार्यकर्ताले पार्टी कार्यालय अगाडी पुत्ला दहनसमेत गरेका छन् ।
उनीहरुले शेरबहादुर देउवाको राजीनामासमेत माग गर्दै राजीनामा माग गरेका थिए । ‘हसिया हथौडासित रुख साट्दैनौं’, ‘टिकट बेच्न पाइदैन’ जस्ता नारा लगाएका थिए । महानगरको वडा सदस्य पदमा उम्मेद््वारी दिएका एक युवा नेताले मेयर पदबाट पछि हट्नु ज्यादै दुर्भाग्यपूर्ण भएको बताएका छन् । “कांग्रेसको भोट कसरी माओवादीलाई दिन सकिएला र ?”, उनले भने, “अब माओवादीबाहेकका दलले जित्नेछन्, केन्द्रले तालमेल गर्दैमा हामी भोट दिदैनौं ।” नाराबाजीमा उत्रिएका कार्यकर्ताले जिल्ला पार्टीले निर्वाचनै बहिष्कारको घोषणा गर्नुपर्ने आवाजसमेत उठाएका थिए ।
कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङले उम्मेद््वारी फिर्ता गराउने कार्यले पार्टीलाई ठूलो क्षति पुगेको बताए । “यो ठूलो भूल हो”, उनले भने, “पार्टी कार्यकर्तालाई निराश पार्ने काम भएको छ ।” कांग्रेसका नेता भूपतिदास सापकोटाले पार्टीको सिद्धान्तलाई त्यागेर सम्झौता गर्न नहुने बताए । “अब सोच्नुपर्ने बेला आएको छ”, उनले भने, “आ–आफ्नो पार्टीको सिद्धान्त बोकेर हिड्न पाइन्छ । तर, एउटै सिद्धान्तमा समेट्न खोज्नु हुँदैन ।”
कांग्रेसका सांसद् रामकृष्ण घिमिरेले बिहीबार बिहान गठबन्धनका सवालमा कुनै छलफल नभएको जिकिर गरेका थिए । “केन्द्र, जिल्ला तहमा कुरा उठेकै छैन, तालमेलको कुरा कांग्रेसविरुद्ध लागेका दलले फैलाएको अफवाह हो”, उनले भनेका थिए । महानगर कांग्रेसको गण भएको भन्दै तालमले कुनै हालतमा नहुने भन्दै पत्रकार सम्मेलनमा बोलेका थिए । महानगरको मेयर पदमा उम्मेद्वारी दर्ता गराए लगत्तै कोइराला चुनावी घरदैलोमा लागेका थिए । सिटौला खेमाका नेताका रुपमा चिनिएका कोइरालालाई मेयर पदबाट पछि हट्न बाध्य पारेपनि कांग्रेस अग्रज नेता पार्टीको निर्णयपछि ज्यादै निराश बनेका छन् ।
चुनावी प्रचारप्रसारमा कमलनगरमा आइपुगेको माओवादी केन्द्रको महानगरको वडा नम्बर तीनको टोलीलाई आक्रोसित भीडले ‘मूर्दावाद’ जस्ता नारा लगाएको थियो । उनीहरुले पार्टी कार्यालयमै माओवादी झण्डा राख्न व्यंग्यसमेत गरेका थिए । महानगरको साविक क्षेत्र नम्बर ४ मा कांग्रेस बलियो मानिन्छ । २०७१ सालको उपनिर्वाचनमा एमाले उम्मेद््वारलाई कांग्रेसले हराएको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा कांग्रेस सभापति सुशील कोइरला दोब्बर मत ल्याएर विजयी बनेका थिए ।