भोट कसलाई दिने ?

भोट कसलाई दिने ?

गीता लामिछाने
निश्चय पनि हामीमाझ आइरहेको स्थानीय चुनावको शुभ अवसरले हामी सबैलाई खुसी लागेको छ । यस घडीलाई आफूअनुकूल गर्न हामी आआफ्नो बलबुताले भेटेसम्म लागेका पनि छौँ । यसरी लाग्नु स्वाभाविक पनि हुन आउँछ । पूरा २० वर्षमा हामीमा आएको अवसर मात्र होइन, हामी प्रत्येकको विचारको उत्कृष्ट नतिजा पनि हुनेछ । जुन अवसर र नतिजाले हाम्रो देशको अन्तरमन छामछुम पार्ने र देशको भविष्यको आँकडा तयार गर्नेछ ।
यहाँनेर एउटा दार्शनिकको भनाइ प्रस्ट गराउन चाहन्छु । एउटा गोलीभन्दा एउटा भोट निकै शक्तिशाली हुन्छ । एउटा गोलीले कुठाउँमा लाग्यो भने एउटा मान्छेमात्र मर्ने, तर एउटा भोट कुकर्म र कुभावना भएको व्यक्तिमा पर्न गयो भयो धेरैभन्दा धेरै मान्छेको जीवन धराशाही हुन्छ । हाम्रो देश शिक्षाबाट वञ्चित छ । धेरै मानिसहरुको बौद्धिक विकास हुन सकिरहेको छैन । एउटा पार्टीलाई अँगालेर आफ्नो निजी स्वार्थमा मात्र लागेका मान्छेहरु छन् । समाजलाई केही दिऊँ, व्यक्तिगत स्वार्थ त केही होइन भन्ने मान्छे हाम्रो समाजमा न्यून छन्, हुँदै नभएको चाहिँ होइन । अब यस शुभ घडीलाई आत्मआलिंगन गरेर व्यक्ति व्यक्तिबाट म केही होइन, मेरो देश नै मेरो जीवनको सार्थक यात्रा हो भन्ने भावनालाई मनभित्र अनुकरण गर्नु समयको माग हो ।
देशमा चुनावको दिन आइपुग्न धेरै समय छैन । अब हामीभित्र देशको दायित्व कति छ, आफ्नै मन छाम्न अलि कम समय छ । कसरी छाम्ने होला मन ? भन्न सजिलो भए पनि व्यवहारमा उतार्न कठिन कुरा हो । यस कुरालाई व्यवहारमा प्रमाणित गर्न सक्यौँ भने ठान्नू हामी आफ्नो जीवनलाई सफल कडी बनाएर सफल गोरेटोमा हिँडाइरहेछौँ । अब अरु अनावश्यक त¤वहरुबाट सुरक्षित हौँ ।
एउटा चुनावमा देशको अरबौँ लगानी भएको हुन्छ । हाम्रो देशमा त यसपटक २० वर्षमा चुनाव हुने भएको छ । बीस वर्ष भनेको हाम्रो सक्रिय जीवनको ३ भागको १ भाग हो । यो समयमा कति मरे, कति जले, २० वर्षअगाडि हामीले कस्तो व्यक्तिलाई भोट दियौँ, कहीँ हाम्रै कमजोरीबाट बुंगो आदर्श, आफ्नै नाताको र आफनै पार्टीको कारण, छिमेकी मनमुटावका कारण, भोट कुठाउँमा त पुगेन ? कसैको चर्को हाउभाउ र बोलीको मिठासले त आकर्षण गरेन ? कि जेसुकै होस्, को आएर के थुपारिदिने हो त ? भन्ने आसयले भोट हाल्न पो जान सकिएनजस्ता यावत कुरा हुन सक्छन् । यी सबै कुराको एउटै कारण हुन सक्छ, हाम्रो व्यक्तित्व विकास भएको छैन । व्यक्तित्व विकासमा सारा देश, समाज, टोल, घर अडेका हुन्छन् ।
अल्छीलाग्दो गर्मीको समय छ । एकातिर मनभित्र चुनाव छ भने अर्कोतिर पाटीले जसरी हुन्छ आफ्नै स्वार्थमा उम्मेदवारहरु चयन गरेको छ । अब जनताले कसलाई भोट देलान् ? भन्ने भित्री मनमा चासोको विषय भएको कारण एउटा लगभग ४० पुग्नै लागेको भाइलाई सोधेँ । भाइले फरक्क टाउको उता फर्काउँदै भने– मलाई यो भोटको, चुनावको केही चासो छैन । मेरो मन चिसो भयो । कतिसम्म आफ्नो जीवनसँग उनी लापर्बाह रहेछन् त, मैले अड्कल काट्न सकिनँ । चितवनजस्तो शिक्षा, सबै सामथ्र्य र सञ्चार भएका ठाउँको त्यो भाइको जीवनलाई मैले कुन संज्ञा दिनु ! त्यस्तो व्यक्तित्वबाट बाबुआमा, छोराछोरी र श्रीमतीले के आशा गर्नु ! भाइलाई घर र देशको अर्थ नै थाहा रहेनछ कि घरको अवस्था पनि आफ्नै काँधमा हुन्छ भनेर । आईएको परीक्षासम्म दिएका उनी जीवन जिउँदै छैनन्, भोग्दै छन् ।
देशमा धेरैभन्दा धेरै सपूतहरु जन्मे पनि हाम्रो आर्थिक, सामाजिक, राजनीतिक स्तर तल नै छ । धेरैभन्दा धेरै सपूतहरुले बलिदान दिए पनि हामी सम्पन्न हुन सकेका छैनौँ । देशलाई कसरी सहयोग गर्ने रुपमा अवसरहरु धेरै भएजस्तै चुनाव एक नम्बरमा नै आउँछ । हामीले सबै लछार्छौं भनेर प्रजातन्त्र पनि ल्याइछाड्यौँ, जुन देशको ठूलो सफलता थियो । तर जे आशा गरेका थियौँ, त्यस्तो केही हुन सकेको छैन । धन्न संविधान पनि पायौँ, यस अर्थमा हामी भाग्यमानी हौँ । संविधान बनेपछिको पहिलो चुनावमा असल व्यक्तित्वलाई भोट दिएर आफ्नो देशमा भएका सबै प्राणीको सुखद अवस्थाका लागि गोरेटो निर्माण गर्नु हाम्रो दायित्व हो ।
स्थानीय चुनावका उम्मेदवारले सरकार बनाउने होइन, आफ्नो स्थानीय ठाउँको विकास हुने हो । संसद्मा खराब व्यक्ति प¥यो भने हाम्रो वडा, नगर, गाउँघरमा प्रत्यक्ष असर पर्छ । उपल्लो स्तरबाट आएको बजेट, विभिन्न संरचना राम्रो भएन भने हाम्रो जीवन धराशायी बन्छ । यसकारण, यसपटकको चुनावमा पार्टीले उठाएका मान्छेलाई आफ्नो नभनीकन जुन व्यक्तिको व्यक्तित्व असल छ र उसबाट समाजले केही उद्देश्य पूरा गर्न सक्छ भने त्यस्ता व्यक्तिलाई मात्र भोट दिऊँ । त्यसपश्चात्, आगामी संसदीय चुनावमा पार्टीले नै राम्रा व्यक्तित्वलाई टिकट दिने निश्चित छ ।

The post भोट कसलाई दिने ? appeared first on चितवन पोष्ट.