सौराहालाई पर्यटन सिटी बनाउने प्रतिबद्धता

सौराहालाई पर्यटन सिटी बनाउने प्रतिबद्धता

रत्ननगर । नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर, उपमेयरका उम्मेदवार तथा नेताहरुले सौराहाको पर्यटन विकासको लागि गुरूयोजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सौराहामा आयोजित निर्वाचन लक्षित कोणसभालाई सम्बोधन गर्दै उनीहरुले सौराहालाई पर्यटन सिटीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । मेयर पदका उम्मेदवार नारायण वनले पाँच वर्षभित्र गुरूयोजना बनाएर सौराहालाई पर्यटन सिटीको रुपमा विकास गर्ने बताए । अहिले सम्म सौराहालाई हचुवाको भरमा विकास गरियो उनले भने, ‘अब गुरूयोजना बनाएरै पर्यटन सिटीको रुपमा विकास गरिने छ ।’ उनले व्यवसायीसँग सहकार्य गरेर सौराहाको होटलहरुको व्यवस्थापन गरी विदेशी पर्यटकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्ने वातावरण तयार गर्र्ने बताए ।
व्यवसायीले तिर्ने करलाई सौराहाकै विकासमा खर्च गर्ने नीति अवलम्बन गर्ने उनको भनाइ छ । ‘हामी व्यवसायीलाई धेरै कर लगाउँदैनौं’, उनले भने ‘समुचित रुपमा व्यवसायीले तिरेको करलाई पनि सौराहाकै विकासमा खर्च गर्नेछौं ।’ रत्ननगर नगरपालिकाका संस्थापक मेयरसमेत रहेका वनले सौराहाको विकासको लागि यहाँ रिङरोड बनाउने योजना रहेको बताए । ‘निर्वाचन जिते लगत्तै सौराहामा रिङरोडको अवधारणालाई अगाडि बढाउछु’ उनले भने ‘प्रक्रिया सुरू गरेको दुई वर्षभित्र त्यो काम सम्पन्न गरेर देखाउने छु ।’
सौराहाको निकटमा रहेका ग्रामीण बस्तीका बासिन्दाहरुले सौराहामा पर्यटन आएको अनुभूति गर्न नपाएको भन्दै मेयर पदका उम्मेदवार वनले ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई सौराहाको पर्यटनसँग जोड्ने बताए । ‘गाउँको तरकारी, दूध, चामललाई सौराहामा बिक्री गर्ने वातावरण अझै तयार हुन सकेको छैन’ उनले भने । ‘किसानको उत्पादनलाई सौराहाका व्यवसायीहरुले किन्ने वातावरण तयार गर्छौ ।’ पर्यटन विभिन्न जातजातिको संस्कृतिसँग पनि जोडिएको विषय हो । उम्मेदवार वनले सौराहाको पर्यटनसँग थारू जातिसँगै कुमाल, मगर, नेवार, ब्राहम्मणलगायतका जातजातिका संस्कृतिहरुलाई पनि जोडेर आम्दानीको माध्यम बनाउने बताए । ‘सौराहामा अहिले आदिवासी थारू समुदायको स्टिक डान्स मात्र प्रस्तुत हुन्छ’ उनले थपे । ‘कुमाल, मगर र ब्राहमणको पनि संस्कृति प्रस्तुत हुने छ ।’ निकुञ्जका वन्यजन्तुहरु मानव बस्तीमा प्रवेश गरेर सौराहा र यस आसपासका बासिन्दालाई दुःख दिने गरेको छ । यसको अन्यको लागि पनि आफूले निश्चित योजना बनाएको मेयर पदका उम्मेदवार वनले दाबी गरे । वन्यजन्तुको आक्रमणबाट कसैले पनि ज्यान गुमाउनु नहुने उनको विचार थियो । त्यसका लागि निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाइने मेयरका उम्मेदववार वनले बताए ।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार विमला दुवाडीले सौराहामा अहिलेको भन्दा दोब्बर पर्यटक भिœयाउन सरकारी तवरबाटै पहल सुरू गर्ने बताइन् । सौराहामा अझै पनि केही सडकहरु कालोपत्रे हुन नसकेको भन्दै उनले निर्वाचन जितिसकेपछि सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने प्रतिबद्धता जनाइन् । उपमेयरकी उम्मेदवार दुवाडीले रत्ननगरलाई सुन्दर सिटीको रुपमा विकास गर्न उत्तरी क्षेत्रलाई आवास, मध्यमलाई व्यापारिक र दक्षिण क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताइन् । उनले बकुलहरमा घण्टाघर, सौराहाचौकमा आकर्षक प्रवेशद्वार, नगरलाई वातावरणमैत्री, बालश्रममुक्त नगर, एक घर एक व्यक्ति रोजगार, विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना रहेको जानकारी दिइन् । उनले रत्ननगर अस्पतालको स्तरोन्नति गरी ५१ शैयाको बनाउने एमालेको योजना रहेको बताइन् ।
महिला, बालबालिका, दलित, जनजाति, उत्पीडित सबैको अधिकार स्थापित हुने गरी बजेट विनियोजन गरेर काम सुरू गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेले एमालेको पहलमा पाँच वर्षमा ५० लाख पर्यटक भिœयाउने बताए । ‘एमालेले आफ्नो घोषणापत्रमा पाँच वर्षमा ५० लाख पर्यटक भिœयाउने उद्घोष गरिसकेको छ’ उनले भने । ‘यो अवधिमा नेपाल आउने अधिकांश पर्यटकलाई चितवन ल्याउने प्रयास गरिने छ ।

The post सौराहालाई पर्यटन सिटी बनाउने प्रतिबद्धता appeared first on चितवन पोष्ट.