८६ वर्षीया चन्द्रमाया चुनावी मैदानमा

८६ वर्षीया चन्द्रमाया चुनावी मैदानमा

केशव अधिकारी
धादिङ । चन्द्रमाया विक अहिले ८६ वर्ष लागिन् । यो उमेरमा समेत जनप्रतिनिधि भएर जनताको सेवा गर्ने भावनावाट प्रेरित भई चन्द्रमायाले उम्मेदवारी दिएपछि उनी अहिले जिल्लामै चर्चाको पात्र बनेकी छन् । धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ५ बाट चन्द्रमायाले दलित महिला सदस्यका लागि उम्मेदवारी दिएकी हुन् ।
नेकपा एमालेको तर्फबाट थांक्रे गाउँपालिका वडा नम्बर ५ को दलित महिला सदस्य पदमा ८६ वर्षीया विकले उम्मेदवारी दिएपछि उनको चर्चा सुरू भएको हो । साविकको केवलपुर, थांक्रे, तसर्पु र भुमेस्थान गाविसको सबै भाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ नम्बर वडा मिलाएर बनाइएको थांक्रे गाउँपालिका जिल्लाकै ठूलो भूभाग भएको गाउँपालिकामा पर्दछ । चन्द्रमाया साविकको तसर्पु गाविस वडा नम्बर ९ दामेचौरका बासिन्दा हुन् । श्रीमतीलाई उम्मेदवार बनाएकोमा चन्द्रमायाका श्रीमानसमेत खुसी छन् । आफूलाई बुढेसकालमा भत्ता दिने पार्टीले उम्मेदवार बन भनेपछि यो उमेरमा पनि जोश आएको चन्द्रमायाले बताइन् ।
उमेरले पाको भए पनि उनको जोशजाँगर भने युवाहरुकै जस्तै फुर्तिलो रहेको थांक्रे गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर तामाङ बताउछन् । ‘हामीहरु भन्दा छिटो उकालोओरोलो गर्छिन् । सबै गाउँ बस्तीमा हिँडेरै पुगेकी छन्, थकाइको महसुसनै गरेकी छैनन्’ तामाङले बताए ।
चन्द्रमाया जस्तै नीलकण्ठ नगरपालिका वडा नं ७ मा नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी चिनिमाया परियार र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनकी बुहारी कलपे परियार पनि चर्चामा रहेका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट सासूबुहारी नै फरकफरक पार्टीबाट उम्मेदवार बनेका हुन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पनि सासु बुहारीको एउटै पदमा उम्मेदवारी परेको छ । राप्रपाले बुहारी राममाया परियारलाई दलित महिला सदस्यबाट उम्मेदवार बनाएको छ भने उनकी सासु मैया परियार नेकपा मओवादी केन्द्रबाट सोही वडाको दलित महिला सदस्यमा उम्मेदवार बनेका हुन् ।
त्यसैगरी जिल्लाकै सिद्धलेक गाउँपालिकामा पनि आमाछोरी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । सिद्धलेक गाउँपालिकाको वडा नं १ मा सरिना सिलवाल भट्टराईले नेपाली कांग्रेसबाट महिला सदस्यमा उम्मेदवारी दिएको छ भने सोही गाउँपालिकाको उपप्रमुखमा राप्रपाबाट सरिनाकी आमा ज्ञानुमाया सिलवालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नीलकण्ठ नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसबाट गौतमहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उनकै दाजु शिवहरि अधिकारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

The post ८६ वर्षीया चन्द्रमाया चुनावी मैदानमा appeared first on चितवन पोष्ट.