अचेल मेरो नि बढेको छ भाउ

अचेल मेरो नि बढेको छ भाउ

राजेन्द्र घायल

हजुरको अमूल्य मतले
जिताइदिनु भनेका छन् नेताले
समाएर पाउ अचेल मेरो नि बढेको छ भाउ

यस्तो लाग्छ, हिजोआज ठूलै मान्छे भा’छु
ठूला ठूला नेताबाट नमस्कार पा’छु
हालखबर सोध्ने गर्छन् नेताजीले कस्तो
दुःख, दर्द क्षणभरमै हरण गर्लान् जस्तो
आउँछन् हात मिलाउँछन् जो पनि
भन्छन् हजुर नजिकको हो भनी
गरेका छन् मान अचेल मेरो नि बढेको छ शान ।

पैला पैला भेट्न खोज्दा भेट्नै नपाउनेलाई
टेलिभिजनभन्दा अन्त देख्नै नपाउनेलाई
लुरूलुरू आफ्नै घर आ’को देख्न पाउँदा
गन्यमान्य भएँ म त ऐले चुनाव आउँदा
आउँदो रै’छ यस्तो दिन कहिलेकाहीँ
भएको छु सबैबाट हाई हाई
गल्ली चोक चोक अचेल नेताले चढाउँछन् ढोग ।

ल्याएका छन् पैलेजस्तै आश्वासनका पोका
हुँदैन रे यसपालि त अघिजस्तो धोका
गल्ती भा’को भए मैले दिनु अरे माफी
ओहो ! अचेल मानसम्मानको ओइरो लाग्यो काफी
भेटैपिच्छे के कसो छ भनी
सोधिहाल्छन् हालखबर जो पनि
भएँ तानातान अचेल मेरो नि बढेको छ मान ।

नेता ज्यादै नरम बने ऐले चुनाव आ’छ
कल्लाई दिन्छु गोप्य मत मलाई मात्र था’छ
हाई हेलो नमस्कार खानसम्म खा’छु
धन्यवाद छ चुनाव तँलाई ठूलो सम्मान पा’छु
नेता भेट्न पाउने ऐले हो
चुनावपछि भेट हुने कैले हो
हुन्छु झारपात चुनाव पछाडि को मिलाउला हात ।

The post अचेल मेरो नि बढेको छ भाउ appeared first on चितवन पोष्ट.