आदर्श नारी सीताको सम्मान गरिनुपर्ने

आदर्श नारी सीताको सम्मान गरिनुपर्ने

देवघाट । सीता नवमीको अवसरमा चितवनको देवघाटमा रहेको रामजानकी गार्गी कन्या गुरूकुलमा बिहीबार सीता पूजन एवम् उनको आदर्शको चर्चा गरिएको छ ।
बालिका आश्रमको अनुगमनको क्रममा गुरूकुल पुगेकी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले आदर्श नारी सीता नेपालकै सम्पदा भएको भन्दै उनको महिमा ओझेलमा पार्न नहुने बताइन् ।
उनले समानतामा आधारित समाज निर्माणका लागि पनि राष्ट्रिय विभूति सीता, योगमायाजस्ता नारीहरुको सम्मान हुनुपर्ने बताइन् । सो अवसरमा नेपाल सरकारले बनाएको बालगृह सञ्चालन मापदण्ड २०६९ अनुरुप आश्रम सञ्चालन गर्न सुझाइन् ।
वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम देवघाटकी सचिव सृजना अर्यालले आदर्श नारी सीताको सम्मान सरकारले गर्न नसकेको भन्दै महोत्तरी र धनुषा जिल्लामा मात्र सार्वजनिक बिदा दिनु केही सन्तोषजनक भएको बताइन् ।
उनले सिता नवमीलाई राष्ट्रिय नारी दिवसको रुपमा मनाउन आग्रह गर्दै चितवन जिल्लालाई सितावनको रुपमा परिचित गराउनुपर्ने धारणा राखिन् । सो अवसरमा राम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले सीता नवमी मनाउनैपर्ने भनाइ राखे ।
उनले धर्तीपुत्री सीताको सम्मान सम्पूर्ण नारी जातिको सम्मान हुनेसमेत बताए । कार्यक्रममा गुरूकुलमा आश्रित बालिकाहरुले राम सीताका भजन तथा मन्त्रोच्चाण गरेका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी बालअधिकार श्रोतव्यक्ति मिठु आचार्य, आश्रमकी अध्यक्ष माता सावित्री टण्डनलगायतको उपस्थिति रहेको थियो ।
सीता नवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिरलगायतका मन्दिरमा पूजाआजा गर्नेको भीड लागेको छ । अघिल्ला वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने सीता नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धूमधामसँग मनाउन लागिएको हो ।
जानकी नवमीको अवसरमा जानकी मन्दिर नवदुलहीजस्तै सजाइएको छ । चिवनको माडी क्षेत्रमा रहेको वाल्मीकि आश्रममा समेत शुक्रबार नेपाल तथा भारतबाट भक्तजनहरु आएका थिए । वाल्मीकि आश्रममा नै सीताले लवकुशलाई जन्माइ हुर्काएको धार्मिक मान्यता छ ।
उनले त्यस क्रममा प्रयोग गरेका सिलौटो, लोहोरो, कुवा, लवकुशको झोलुङगो अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ । सीताले त्यही ठाउँमा आफ्नो देह अन्त्य गरेकोसमेत मान्यता रहिआएको छ । त्यस वनलाई नै सीता वनको रुपमा रहेको र अपभंश भएर चितवन रहन गएको भाषाविद्हरूको टिप्पणी रहेको छ ।
सीताको जीवनकालका मह¤वपूर्ण समय यही क्षेत्रमा बितेकाले यसलाई संरक्षण गर्न सबै लाग्नु पर्दछ ।

The post आदर्श नारी सीताको सम्मान गरिनुपर्ने appeared first on चितवन पोष्ट.