कांग्रेसले माओवादी केन्द्रलाई सघाउने

कांग्रेसले माओवादी केन्द्रलाई सघाउने

–तुलमान गुरूङ
नारायणगढ । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रसँग स–सर्तमा सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाको मेयर पदका लागि माओवादी केन्द्रलाई कांग्रेसले छोडेपछि उप–मेयर र महानगरका अन्य वडाहरूमा नेपाली कांग्रेसलाई जिताउनु पर्ने सर्त अघि सारिएको कांग्रेस चितवनले जनाएको छ ।
माओवादी केन्द्रसँग के–के कुरामा सर्त राख्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको पार्टी सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेसबाट मेयर पदका लागि दर्ता गरेको दिनेश कोइरालाको बिहीबार केन्द्रीय सभापतिले पत्र पठाएर मनोनयन फिर्ता गराएपछि चितवनका कार्यकर्ता रूष्ट बनेका छन् ।
पार्टी कार्यकर्ता रूष्ट बनेकाले उनीहरूलाई सम्झाएर उपमेयरसहित महानगरका सबै वडाहरूमा कांग्रेसलाई जिताउने गरी काम अगाडि बढाउने सभापति श्रेष्ठले बताए । ‘केन्द्रको निर्णयले जिल्लाका पार्टी कार्यकर्ता आक्रोशित बन्नु स्वभाविक हो,’ उनले भने, ‘सबैलाई चित्त बुझ्ने गरी काम गर्न सक्नुपर्ने पार्टीको दायित्व भएकोले महानगरका अन्य वडाहरूमा कांग्रेसलाई जिताउने अभियानमा हामी सक्रिय भएर जुट्छौँ ।’
अर्कोतर्फ मेयर पदका उम्मेदवार दिनेश कोइरालाले पार्टीले आफूमाथि ठूलो अन्याय गरेको बताएका छन् । पार्टीबाट राजनैतिक जीवनमै सबैभन्दा ठूलो घात भएको उनले महसुस गरेका छन् । ‘ममाथि पार्टीले एकदमै ठूलो घात गरेको छ,’ उनले भने, ‘पार्टीको जित सुनिश्चित हुँदाहुँदै पनि षड्यन्त्रपूर्वक ढंगले मलाई धोका दिएको हो । यस्तो धोका पार्टीका कुनै पनि कार्यकर्ताका लागि सह्य हुँदैन ।’
महानगरभित्र भएको १० प्रतिशतका लागि ९० प्रतिशतले सहयोग गर्नुपर्ने कुनै आवश्यकता नै नभएको उनले दाबी गरे । ‘पार्टीको केन्द्रीय निर्णयले गर्दा मेरोमात्रै होइन, सबै कार्यकर्ताको चित्त दुखेको छ,’ उनले थपे, ‘त्यसैले पार्टीबाट मैले सबैभन्दा ठूलो बज्रपात व्यहोर्नुपरेको महसुस गरेको छु ।’ तै पनि सबै कार्यकर्ताको चित्त बुझ्ने तरिकाले काम गर्ने उनले बताए । तर, भोट हाल्ने या नहाल्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने उनले बताए ।
पार्टी कार्यकर्ताले भने पार्टीको सबै निर्णय आफूहरूका लागि योग्य नहुने बताउँदै आएका छन् । त्यसैले बिहीबारको निर्णयबाट पनि कार्यकर्ता असन्तुष्ट हुनु स्वभाविक भएको उनीहरूको भनाइ छ । ‘केन्द्रले गरेको निर्णयको पालना गर्नुपर्छ । तर, गाउँपालिकाका लागि अपाच्य हुने खालको निर्णय हो,’ नेता कर्णबहादुर गुरूङले भने । कोइरालाको विषयमा मनोनयन दर्ता हुनुभन्दा पहिले नै नेता कार्यकर्तालाई थाहा भएको भए राम्रो हुने उनले बताए । ‘अन्तिम समयमा आएको निर्णयले आश्चर्य चकित पारेपछि पार्टी कार्यकर्ता आक्रोशमा आउनु स्वभाविक हो,’ उनले भने, ‘किनकि नेतृत्व लिन सक्ने व्यक्तिले सबैको चित्त बुझ्ने गरी काम गर्न सक्नुपर्छ ।’
बिहीबार नेकपा माओवादी केन्द्र तालमेल भएपछि साँझ मेयर पदका उम्मेदवार दिनेश कोइरालाले मनोनयन फिर्ता लिएका थिए । केन्द्रले गरेको निर्णयविरूद्ध बिहीबार दिनभरजसो कांग्रेस पार्टी कार्यालय तनावग्रस्त बन्यो । यसअघि नेपाली कांग्रेसले भरतपुर महानगरको मेयरका लागि दिनेश कोइरालालाई र माओवादी केन्द्रले रेणु दाहाललाई उम्मेदवार बनाएको थियो ।

The post कांग्रेसले माओवादी केन्द्रलाई सघाउने appeared first on चितवन पोष्ट.