गैँडाकोटमा काँग्रेसका मेयर उपमेयरका उम्मेदवार भन्छन्, विकासकालागि हामी प्रतिवद्ध छौँ (भिडियो सहित)

गैँडाकोट, २३ बैशाख । नेपाली काँग्रेस गैँडाकोटका मेयर पदका उम्मेदवार गजेन्द्रबहादुर आलेमगरले गैँडाकोटको विकासका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । मगरले गैँडाकोटको विकासका लागि यस अघिको स्थानीय निकायको सरकारका लागि पनि आफ्नो क्षमताले भ्याएसम्म पहिले देखिनै सहयोग गर्दै आएको बताउनुभएको छ । आफू जिल्ला विकासमा रहँदा गैँडाकोटका विद्यालय, कालिका मन्दिर, तत्कालिन आदर्श गाविसको भवन निर्माणका लागि सहयोग गरेको स्मरण गर्नुभयो ।

नेपाली काँग्रेस गैँडाकोट १ को चुनावी प्रचार कार्यक्रममा विकास चोकमा बोल्दै मेयरका उम्मेदवार आलेले नेपाली काँग्रेसले धर्म त्याग्यो भनेर भन्नेहरुकालागि जवाफ दिदै भन्नुभयो “नेपाली काँग्रेसले धर्म त्यागेको छैन, आज पनि काँग्रेसले हिन्दुधर्मलाई सम्मान गरेको छ, हिन्दुधर्मावलम्बीलाई उच्च सम्मानका साथ हेरेको छ ।” साथै मगरले धर्म निरपेक्षताको सन्दर्भमा जनमत संग्रह उचित भएको बताउनुभयो । गैँडाकोटमा सुकुम्बासी समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने समेत मगरले बताउनुभयो । स्थानीयतहको निर्वाचनले शान्तिलाई बलियो बनाउँछ, शान्तिले विकासको बाटो खोल्ने मगरको भनाइ छ । यसैगरी मगरले गैँडाकोट १ को रिंगरोडका लागि ५० लाख बजेट परिसकेको बताउनुभयो । गैँडाकोटका विकासका लागि बहुवर्षिय योजना अघि बढाउने मेयरका उम्मेदवार मगरको भनाई छ ।

 

यसैगरी नेपाली काँग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार विष्णु कंडेल सापकोटाले गैँडाकोटको विकासका लागि धार्मिक पर्यटनको विकासलाई काँग्रेसले अघि बढाउने बताउनुभयो । उम्मेदवार कंडेलले मन्दिरको गाँउ गैँडाकोटमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउँदै नेपाली काँग्रेस धर्म विरोधी नभएर धर्मलाई उच्च सम्मान दिने पार्टी भएको बताउनुभयो ।

नेपाली काँग्रेसको मुख्य एजेन्डा भनेको धर्म भएको बताउनुभयो । सरकारले बाँड्ने बृद्ध भत्ता नेकपा एमालेको पेवा नभएको भन्दै कंडेलले सबै नेपालीको करको पैसाको देन भएको बताउनुभयो । कंडेलले सुकुम्बासी, रिंगरोड, बाटोघाटो लगायतका विकास निर्माणका काममा नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट १ को चुनावी सभामा प्रचारप्रसार समितिका संयोजक ओमप्रसाद सापकोटा, वडा अध्यक्षका उम्मेदवार हरिप्रसाद सापकोटा लगायतले विकासका लागि प्रतिवद्धता जाहेर गरेका थिए ।

नेपाली काँग्रेसबाट गैँडाकोट १ को वडा अध्यक्षमा हरिप्रसाद सापकोटा, खुल्ला सदस्यमा राजेन्द्र प्रसाद उपाध्याय, सुरेन्द्र रेग्मी, महिला सदस्यमा रिता सापकोटा र महिला दलित सदस्यमा देवी विक उम्मेदवारको रुपमा रहेका छन् ।