पिठुवालाई कृषिको पकेट क्षेत्र बनाउने प्रतिबद्धता

पिठुवालाई कृषिको पकेट क्षेत्र बनाउने प्रतिबद्धता

रत्ननगर । नेकपा एमालेबाट रत्ननगर नगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरुले रत्ननगरको पिठुवालाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी प्रचारप्रसारको लागि वडा नंं. १४, १५ र १६ मा आयोजित कार्यक्रममा उनीहरुले पिठुवामा सिंचाईको व्यवस्था गरी कृषिजन्य उत्पादनको पकेट क्षेत्र बनाउने प्रतिबद्धना जनाएका थिए । एमालेबाट मेयर पदका उम्मेदवार नारायण वनले पिठुवामा सिंचाईको लागि आवश्यक पूर्वाधार निर्माण गरी कृषि उत्पादनलाई बढाउने बताए ।
उनले यस क्षेत्रलाई आवास र अन्न भण्डारको मुख्य केन्द्र बनाउने योजना रहेको बताए । ‘सिंचाईको असुविधाका कारण यहाँका किसानहरुले समस्या झेल्दै आएको मैले पाएको छु’ उनले भने, ‘स्थानीयस्तरमा बनेको अधिकारसम्पन्न सरकारले पिठुवाको सबै समस्या समाधान गर्नेछ । उनले आफूले जित हासिल गरे पिठुवा क्षेत्रको ठूलो समस्या कयरखोलामा तटबन्धन गर्ने बताए ।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार विमला दुवाडीले ग्रामीण क्षेत्रका जनतालाई सामाजिक न्याय दिलाउन आफू क्रियाशील भएर लाग्ने प्रतिबद्धता जनाइन् ।
‘जनताको काम गर्दा राजनीतिक चप्पल बाहिरै खोलेर गर्छु, कसैलाई भेदभाव गर्दिन’ उनले भनिन् । कार्यक्रममा वडा नं. १४ का वडाअध्यक्षका उम्मेदवार हरिकुमार श्रेष्ठले पिठुवालाई नमुना क्षेत्रको रुपमा विकास गर्न यहाँ मिनी रंगशाला र प्राविधिक शिक्षालय बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य तथा कलाकर राजेन्द्र हमाल र पार्टी सदस्य विश्वास खड्काले जनवादी गीत प्रस्तुत गरेका थिए । पार्टीका वडाअध्यक्ष तुलसी पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा नं.१४ की वडाइन्चार्ज विष्णु भण्डारी कट्टेलले एमालेको नीति र सिद्धान्तका बारेमा मतदातालाई जानकारी गराइन् ।
वडा नंं.१५ मा भएको कोणसभामा वडाअध्यक्षका उम्मेदवार हुमनाथ लामिछानेले पिठुवाका जनताले भोग्दै आएको खुख्खा क्षेत्र, कयर खोला र सडकको मर्मत र स्तरोन्नतिको लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम पार्टीका वडाअध्यक्ष आशिष तामाङको अध्यक्षतामा भएको थियो ।
यसैबीच, मेयर पदका उम्मेदवारहरुले शुक्रवार कोणसभासँगै वडा नं. १४, १५ र १६ मा घरदैलो गरी जनतासँग भोट मागेका छन् । वडा नं १ देखि १६ सम्मका सबै वडामा उम्मेदवारसहित चुनावी एजेन्डासहित घरदैलो र कोणसभा गरिएको थियो ।
कालिका नगरपालिकाका एमालेका मेयरका उम्मेदवार गोपी श्रेष्ठ, उपमेयरकी उम्मेदवार कमला भट्टराई, वडा नंं.६ का वडाअध्यक्षको उम्मेदवार विनोद रेग्मी र वडा नं.९ का उम्मेदवार शिव थापासहितको टोलीले दुईवटा वडामा घरदैलो गरेका थिए ।

The post पिठुवालाई कृषिको पकेट क्षेत्र बनाउने प्रतिबद्धता appeared first on चितवन पोष्ट.