भरतपुर महानगरमा ६८४ उम्मेदवार

भरतपुर महानगरमा ६८४ उम्मेदवार

किशोर खनाल
भरतपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा ६८४ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले शुक्रबार महानगरपालिकामा मेयरदेखि वडासदस्यसम्म उम्मेदवार बनेका ६८४ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावली प्रकाशनमा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार भएका दिनेश कोइरालाको नाम समावेश छैन ।
अन्तिम नामावली प्रकाशनमा भरतपुर महानगरको मेयरमा विभिन्न दलका १२ जना र स्वतन्त्रका २ जनासहित १४ जनाको नाम रहेको छ । त्यस्तै महानगरको उपमेयरमा माओवादी केन्द्रका सुरेन्द्र गुरुङको पनि अन्तिम नामावली प्रकाशनमा नाम समावेश छैन । उपमेयरमा अन्तिम नामावली प्रकाशनमा विभिन्न दलका ९ र स्वतन्त्रका दुई जनाको नाम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
अन्तिम नामावली प्रकाशनअनुसार महानगरको वडाअध्यक्षमा १५९ जना र सदस्यहरुको लागि ५०० जना उम्मेदवार रहनेछन् । भरतपुर महानगरको वडा २६ मा एमालेका वडाध्यक्ष र माओवादी केन्द्रका ४ जना सदस्यहरुको नाम पनि अन्तिम नामावलीमा समावेश गरिएको छैन ।
वडा नं. २६ मा एमाले र माओवादी केन्द्रको तालमेल भएअनुसार वडाध्यक्षमा एमालेले माओवादी केन्द्रलाई सघाउने र ४ जना सदस्यमा माओवादी केन्द्रले एमालेलाई सघाउने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई परिचयपत्र पनि वितरण गरेको छ ।
एमालेकी दलित महिला निर्विरोध
राप्ती नगरपालिका वडा नं. ११ मा दलित महिला सदस्यमा एकजनाको मात्र अन्तिम नामावली प्रकाशनमा नाम छ । नेकपा एमालेबाट दलित महिलाको वडा सदस्यमा चन्द्रमाया सुनारको मात्र अन्तिम नामावली प्रकाशनमा नाम रहेको छ ।
अन्तिम नामावली प्रकाशनमा सुनारको मात्र नाम परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा दलित महिलामा अन्य कुनै पनि पार्टी वा स्वतन्त्रले उम्मेदवारी दिएका थिएनन् ।
उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले महानगरमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरेको छ । स्वतन्त्रबाट मेयरमा उम्मेदवार बनेकी अम्बिका मुडवरीले चुनाव चिन्ह व्याडमिन्टन कक पाएकी छन् । त्यस्तै मेयरकै स्वतन्त्र उम्मेदवार प्रेमकुमार सुनारले चुनाव चिन्ह केटाकेटी पाएका छन् ।
महानगरको उपमेयरमा स्वतन्त्रबाट उम्मेदवार दिएका बाबुराम परियारको चुनाव चिन्ह क्याप रहेको छ । त्यस्तै स्वतन्त्रकी उम्मेदवार सुन्दरी विकले चुनाव चिन्ह डाडु–पन्यू रहेको छ ।
१ लाख ५० हजार बढी मतदाता
भरतपुर महानगरपालिकामा कुल १ लाख ५१ हजार ६४१ मतदाता रहेका छन् । ६९ हजार ४५३ जना पुरुष र ८० हजार ८२१ जना महिला मतदाता छन् । भरतपुरमा ११ हजार ३६८ जना महिला मतदाता बढी छन् । भरतपुरमा सबैभन्दा बढी वडा नं.११ मा १००३४ जना मतदाता छन् भने सबैभन्दा कम वडा नं.२४ मा २२५४ जना मतदाता छन् ।

The post भरतपुर महानगरमा ६८४ उम्मेदवार appeared first on चितवन पोष्ट.