राजतन्त्र

राजतन्त्र

– सुरेन्द्र अस्तफल
एक दशक बुढिएर पनि
पटकपटक तर्साइरहेछ ऊ
बुख्याँचा बनेर मलाई
किन दोहोरिइरहन्छ पटकपटक
उही मोहर चढाएको दुःस्वप्न
जसको बनेथेँ मलामी
उसैलाई चढाएको सलामी मात्र
किन देखिरहेछु
सपनामा म पटकपटक ।


म नै राज्य हुँ भन्थ्यो

म नै साध्य हुँ भन्थ्यो
ऊ बिराउँथ्यो पटकपटक
माफी माग्थेँ म ऊसँग
ऊ जिस्काउँथ्यो पटकपटक
साथी बन्थेँ म ऊसँग
अनायास
एकाएक भत्काएपछि उसले
आस्था र विश्वासको पहाड
उठाएको हुँ
विचारको द्रोणाञ्चल
तरेको हुँ क्षीर सागर
र बनाएको हुँ
दुई पाउहरुलाई सङ्गीन
दुई बाहुहरुलाई मार्तोल ।

एक दशकपछि
म आफैँले बनाएको
समानताको तटबन्धमाथि
बनेर लेउ र जलुकाहरु
पुनः अट्टाहास गरिरहेछ
चिरपरिचित मित्र
राजतन्त्र ।

The post राजतन्त्र appeared first on चितवन पोष्ट.