शिक्षा र संस्कृतिसँग सम्बन्धित यात्रानुभूति

शिक्षा र संस्कृतिसँग सम्बन्धित यात्रानुभूति

डा. धनपति कोइराला
dpk2068@gmail.com
क) आमुख :
लेखक उद्योगबहादुर श्रेष्ठ २००५ साल भदौ १० गते पर्वत जिल्लाको फलेवासमा पिता पुन्नारायण र माता मनकुमारी श्रेष्ठको कनिष्ठ पुत्ररत्नका रुपमा जन्मिएका हुन् । गाउँकै भवानी विद्यापीठ उच्च माध्यमिक विद्यालयबाट अक्षरारम्भ गरी देशविदेशस्थित विभिन्न शैक्षिक संस्थाहरुबाट उनले बीए, बीएडसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । २०३१ सालदेखि शैक्षणिक कार्यमा संलग्न रहेका लेखक श्रेष्ठले विभिन्न निमावि मावि, प्रा. शिक्षा परियोजना तथा जिल्ला शिक्षा कार्यालयको प्रमुख पदमा रही लामो प्रशासनिक अनुभव सँगालेका छन् । विभिन्न शैक्षिक एवम् वित्तीय संस्थाहरुको सञ्चालक समितिको सदस्य तथा साहित्यिक संघसंस्थाहरुको सल्लाहकारका रुपमा रहेर सामाजिक, आर्थिक सुधारको अभियानमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका लेखकको भाषासाहित्यको उन्नयन गर्ने कार्यमा पनि उत्तिकै योगदान रहेको छ ।
उनले आफ्नो मुलुकको तराई, पहाड र हिमाली इलाकाहरुका साथै भारत, थाइल्यान्ड र तिब्बतस्थित खासाका व्यापारिक शैक्षिक, ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक क्षेत्रहरुको समेत अवलोकन भ्रमण गरी अथाह ज्ञान बटुलेका छन् । समालोचक गोविन्दराज विनोदीले भनेझैँ उनी कुशल सङ्गठनकर्ता, सुयोग्य प्रशासक, कोमल स्वभाव भएका मृदुभाषी, स्पष्टवक्ता एवम् कर्मठ समाजसेवी व्यक्तित्वका रुपमा परिचित छन् ।
ख) विषयप्रवेश :
प्रस्तुत कृतिको किनारैकिनार विचरण गर्दा द्रष्टा, स्रष्टा एवम् भोक्ताका रुपमा शैशवकालदेखि जीवनको उत्तराद्र्धकाल खण्डसम्म आइपुग्दा आपूmले अनुभूति गरेका विषय र सन्दर्भलाई मासाभर पनि नढाँटीकन उद्धृत गर्ने प्रवृत्ति श्रेष्ठका लेखनीमा फेला पर्दछ । निबन्धात्मक ढाँचामा लेखिएका उनका कृतिहरु अनौपचारिक भाषिक लयमा बगेकाले पाठकलाई लेखकीय वीज पहिल्याउनमा त्यति कठिनाइ अनुभूति नहुने प्रकृतिको देखा पर्दछ । यहाँ उल्लेख भएका रचनाहरु स्वदेश तथा विदेशस्थित ऐतिहासिक शैक्षिक एवम् धार्मिक स्थलहरुबारे जिज्ञासा राख्नेहरुका लागि त यो सुन्दर पथप्रदर्शक एवम् जीवन जगत्का विभिन्न समस्या र चुनौतीहरु पार लगाउने एउटा दरिलो डुङ्गा सावित हुने देखिन्छ । आफ्नो परिवेशमा देखिएका, सुनिएका एवम् आफ्नो जीवनकालमा भोगिएका र मानसपटलमा उब्जिएका सम्पूर्ण पक्षहरुको स्वच्छ विचारहरुको संयोजन साहित्य हो भन्ने लेखकीय दृष्टिकोणको साकार स्वरुप यहाँ फेला पर्दछ । विविध शब्दगुच्छाद्वारा उनिएको सुन्दर मालाको रुपमा प्रस्तुत कृतिले नवलपरासेली साहित्यिक यात्रामा एउटा छुट्टै स्थान प्राप्त गर्ने देखिन्छ ।
ग) विषयवस्तु :
‘दी रेयुकाइ नेपाल र सहिद स्मारक हेटौँडा’ यस सङ्ग्रहको आरम्भिक लेख हो । यसमा सहिद स्मारक हेटौँडाको अवलोकन गर्ने लक्ष्य लिएर २०६१ साल जेठ २३ गते रेयुकाइ प्रगतिनगर उपशाखाद्वारा आयोजना गरिएको भ्रमणमा आपूmसहित अठहत्तर सदस्यहरु रहेका र यात्राका क्रममा झेल्नु परेका समस्या र त्यसदिन भएको सडक दुर्घटनाबाट उत्पन्न मानसिक पीडाको समेत जीवन्त अभिव्यक्ति पाइन्छ । लेखकले रेयुकाइको नीति आदर्श र नीलसूत्रका साथै यात्राका क्रममा उत्पन्न झमेला, सहिद स्मारकभित्रका व्यवस्थापकीय पक्ष, प्रवेश नियम, पुष्पबाटिका, वनभोज स्थल, मूर्ति, सहिद स्तम्भहरुका सम्बन्धमा प्रकाश पारेका छन् । उनले क. मदन भण्डारीको सालिक राखिएकोमा खुशी र दासढुङ्गामा मदन भण्डारीसँगै रहस्यमय मृत्युवरण गर्नपुगेका जीवराज आश्रितको सालिक नराखिएकोमा दुःख प्रकट गरेका छन् । चालक निर्मल लामाले वक्तव्यवाजी गर्दै हिँडे पनि उक्त दुर्घटनाको रहस्य नखोलेको एवम् उनी संलग्न दलको नेतृत्वमा सरकार बन्दासमेत रहस्यको पर्दा यथावतै रहेकोमा लेखकले घोर आश्चर्य प्रकट गरेका छन् । सहिद स्तम्भमा उल्लिखित वीरहरुको नाम र शहादत प्राप्त स्थलको समेत उल्लेख गरी उनले यो स्मारक बनेकोमा खुशी व्यक्त गर्दै यसलाई अझ सुन्दर तुल्याउन आफ्ना राय प्रस्तुत गरेका छन् । फर्कने क्रममा उनले सौराहा भ्रमण गरेको र त्यहाँको वन्यजन्तु एवम् प्राकृतिक सौन्दर्यबाट आपूm ज्यादै प्रभावित भएको रहस्य पनि खोलेका छन् ।
यस सङ्ग्रहको दोस्रो क्रमको अर्को लेख हो– ‘गलेश्वर बाबासँग मेरो साक्षात्कार’ । यसमा २०२७ सालमा धार्मिक तीर्थस्थलका रुपमा प्रसिद्ध देवघाट धामको यात्रा गर्ने क्रममा गलेश्वर बाबासँग भएको आफ्नो भेटघाटको रोचक प्रसङ्ग प्रस्तुत छ । दिनहुँ बढ्ने शिला र १२० वर्षका गलेश्वर बाबाका रहस्यमय पक्षको उद्घाटन गर्दै उनले देवघाट धामका धार्मिक एवम् प्राकृतिक सुन्दरताको सुन्दर वर्णन गरेका छन् । यस सङ्ग्रहको अर्को तेस्रो अनुक्रमको लेख ‘शिक्षामा गुणस्तर ः एक विहङ्गम दृष्टि’ हो । यसमा शिक्षाको अपरिहार्यतामाथि प्रकाश पारी नेपालमा यसको विगत, वर्तमान र भविष्यबारे चर्चा गरिएको छ । शिक्षामा गुणस्तरीयता ल्याउन राष्ट्रिय शिक्षा नीतिमा आमूल परिवर्तन ल्याउनुपर्ने लेखकको सुझाव छ । विद्यार्थी, शिक्षक, अभिभावक र राज्यले वहन गर्नुपर्ने शैक्षणिक दायित्व र भूमिका उनको लामो प्रशासकीय जीवनको अनुभवसँग घोलिएर प्रस्तुत भएको छ ।
तेस्रो अनुक्रममा सङ्गृहीत ‘गया श्राद्ध’ वैदिक सनातन धर्म र संस्कृतिमा केन्द्रित रहेको छ । भारतको बिहार राज्यअन्तर्गत पर्ने गयासँग जोडिएका मानवीय जीवनका औध्र्वदेहिक क्रिया र त्यसको मह¤वबारे शास्त्रीय प्रमाण दिई पुष्टि गर्ने प्रयत्न गरिएको छ । यसमा गया प्रयाग आदि तीर्थस्थलहरुमा कार्यरत पण्डितदेखि लिएर सम्पूर्ण सेवाप्रदायक संस्थाहरुमा देखिएका विकृति र विसङ्गतिहरुलाई चिरफार गरेर देखाई यस क्षेत्रको भ्रमण गर्न इच्छुक तीर्थयात्रीहरुलाई सचेत रहन अपिल गर्दै सम्बन्धित पक्षलाई त्यसको उचित परिशोधन गर्न उनले हार्दिक आग्रह गरेका छन् । पाँचौँ अनुक्रममा रहेको ‘बझाङ जिल्ला एक दृष्टि’ शीर्षकीय लेखमा २०४५ सालदेखि लागू भएको पञ्चवर्षीय आधारभूत तथा प्राविधिक शिक्षा परियोजनाको आपूm संयोजक भई विकट हिमाली जिल्ला बझाङ जाँदाका सुखद एवम् दुःखद क्षणहरु प्रस्तुत भएका छन् । निमित्त जिशिअका रुपमा कार्यरत रहँदाका उनका तीता अनुभवहरु मात्र नभई यसमा त्यस क्षेत्रमा मनाइने चाडपर्व, रीतिरिवाज, सामाजिक कुसंस्कारहरुको समेत वर्णन गरिएको छ । यस सङ्ग्रहको छैटौँ अनुक्रमको लेख हो ः ‘बनारसदेखि इलाहावादसम्म’ । यसमा बनारसको बसाइ, पढाइ र माइग्रेसन लिन इलाहावाद जाँदाका असहज परिस्थिति र वातावरणबारे पाठकलाई सचेत तुल्याइएको छ । भारतीय भूमिमा समेत नेपालीले नेपालीप्रति गरेको अनौठो एवम् आत्मीयताहीन व्यवहारबाट आपूm दुःखी भएको गुनासो यसमा अभिव्यक्त भएको छ ।
सातौँ अनुक्रममा रहेको ‘विद्यालय शिक्षक–अभिभावक संघ र विद्यालय व्यवस्थापन समिति’ निबन्धले पनि शिक्षामा गुणस्तर शीर्षकीय लेखले झैँ शैक्षिक चिन्तन उपस्थापित गरेको छ । यसमा विद्यालयको आर्थिक, भौतिक उन्नतिका लागि समिति सक्रिय रहनुपर्ने, स्थानीय स्रोतको उच्चतम परिचालन गर्नुपर्ने, विभिन्न संघसंस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्ने एवम् शिक्षक–विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध सधैँ पुनर्ताजगीकृत अवस्थामा रहिरहनु पर्ने उनको सुझाव छ । आठौँ अनुक्रमको लेख हो ः ‘सङ्घसंस्थाहरु र त्यसभित्रका सवालहरु’ । नवप्रगति बचत सहकारी संस्थाको एघारौँ वार्षिकोत्सवको अवसरमा तयार पारिएको यस लेखमा सहकारी संस्थाको समुन्नत विकासका लागि अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमबारे चर्चा गरिएको छ ।
यस कृतिको नवौँ अनुक्रमको ‘सडक दुर्घटना र न्यूनीकरणका उपाय’ शीर्षकीय लेख निकै शोधपरक रहेको छ । यसमा दुर्घटनाका प्रकारहरु उल्लेख गरी दुर्घटना हुनुका कारण र त्यसको न्यूनीकरणका उपायहरु अवलम्बन गर्न सके दिनहुँजसो हुने सडक दुर्घटनाबाट सुरक्षित रहन सकिनेमा शङ्का नभएको तर्क गरिएको छ ।
‘थाइल्यान्डको सेरोफेरो शैक्षिक भ्रमण’ उनका सङ्ग्रहमा सङ्कलित दसौँ अनुक्रमको लेख हो । यसमा विद्यालय शिक्षा र शैक्षिक व्यवस्थापन विषयको अवलोकन भ्रमण गर्न डा. तीर्थराज खनियाको अगुवाइमा २०५२ सालमा थाइल्यान्डका विभिन्न सहर र ग्रामीण इलाकाहरुमा भ्रमण गर्ने अवसर मिलेको र त्यहाँको सरसफाइ, शिक्षण पद्धति, रहनसहन, खानपान, सडक व्यवस्थापन, प्राकृतिक दृश्यहरुबाट आपूm अत्यन्त मोहित भएको लेखक श्रेष्ठको कथन छ । विदेशी मुद्रा आर्जनका लागि थाईहरुद्वारा अवलम्बन गरिएको यौनिक व्यवसाय ज्यादै निकृष्ट एवम् मानवताहीन रहेको तर्क गरिएको छ ।
एघारौँ अनुक्रमको ‘बान्नीको चैतेली’ शीर्षकीय लेखमा बझाङमा प्रचलित मष्टादेवीको कथा प्रस्तुत छ । लेखक श्रेष्ठले वैशाख शुक्ल त्रयोदशीको दिन लाग्ने बान्नीको चैतेली पर्वको विशेषता र मह¤वमाथि प्रकाश पारेका छन् । यस कृतिभित्रको बाह्रौँ अनुक्रमको लेख हो ः ‘हिलेमा एकरात’ । यसमा पर्वत जिल्लाका प्रधानाध्यापकहरुले भारतको दार्जिलिङ, कालिम्पोङ आदि क्षेत्रको भ्रमण गरी फर्कने क्रममा धनकुटा, हिले, पाख्रिवास क्षेत्रमा बिताएका क्षण र देखेभोगेका अनुभूति एवम् मनोरम प्राकृतिक छटाको जीवन्त चित्रण गरिएको छ ।
‘अतीतलाई फर्केर हेर्दा’ यस कृतिको तेह्रौँ लेख हो । संस्मरणात्मक शैली आत्मसात् गरी लेखिएको यस लेखमा आफ्नो वंश परम्परा पुर्खौली पेसा, विद्यार्थी जीवन पत्रिका प्रकाशन आदि पक्षको वर्णन गरिएको छ । उनले राजनीतिमा संलग्नता, प्रवेशिका परीक्षाको सुपरिवेक्षक, मतदान अधिकृत एवम् वीरेन्द्र शिल्डको प्रमुख सञ्चालक भई कार्य गर्दा सँगालेका अनुभूतिहरुको निष्कलुष प्रस्तुति प्रदान गरेका छन् । लेखकले गाँजा सेवन गर्ने हुँदा भोगेको असहज शारीरिक एवम् मानसिक पीडाको बढो सजीव चित्रण गरेका छन् ।
यस सङ्ग्रहको अन्तिम लेख हो : ‘हरितालिका र लोप हुँदै गएको संस्कृति’ । यसमा हरितालिका पर्वको पौराणिक मर्म र भावना, हराउँदै गएको र छाडा संस्कृति र संस्कार भित्रिँदै गएकोमा गहिरो चिन्ता प्रकट गरिएको छ । हिन्दु नारीहरुको महान् पर्व ज्यादै सभ्य एवम् धार्मिक भावनाले अभिसिञ्चित हुनुपर्नेमा उनको विशेष जोड रहेको छ ।
घ) विचार तथा संरचना :
यस प्रकार भावना, विचार र अनुभूतिको अनौठो सङ्गम रहेको उनको यो कृतिमा खासगरी ६ किसिमका पुष्पगुच्छाहारको बेजोड प्रस्तुति रहेको छ । पहिलो, दोस्रो, चौँथो, छैटौँ, दसौँ र बाह्रौँ शीर्षकीय लेखहरुले यात्रा संस्मरणात्मक निबन्धको सुमधुर आस्वाद प्रदान गरेका छन् । यथार्थीय भोगाइहरु पस्कन खोज्ने लेखकको कलमले यसमा कलात्मक शिल्प प्राप्त गरेको छ । तेस्रो र सातौँ शैक्षणिक विषयवस्तुमा आधारित आलेख ढपका र आठौँ र नवौँ अनुक्रमको आलेख सन्देशमूलक, सैद्धान्तिक एवम् ज्यादा अनुसन्धानपरक प्रतीत हुन्छ । एघारौँ र चौधौँ रचनाचाहिँ सांस्कृतिक विषय र सन्दर्भसँग जोडिएका छन् । पाँचौँमा स्थानीयताको झल्को र तेह्रौँमा आत्मवृत्तान्त प्रस्तुत छ ।
ङ) निष्कर्ष :
समालोचक डा. नारायण खनालका विचारमा यो कृति पुराना अनुभूति र अतीतका घटनालाई मात्र समेटेर तयार पारिएको सङ्ग्रह मात्र नभई वार्तमानिक सांस्कृतिक विसङ्गति र विकृतिको उछितो काड्ने क्रान्तिकारी रचना हो । क्षयोन्मुख समाजलाई शिष्ट, सौम्य एवम् सभ्य गन्तव्यतर्फ डो¥याएर समुन्नत समाज निर्माण गर्ने कार्यमा अग्रसर यो कृति लेखकीय मौलिकता अभिव्यञ्जित रचनाको रुपमा प्रस्तुत छ । एकातिर विषयवस्तुसँग जोडिएको तस्बिरले कृतिलाई स्पष्ट एवम् सरल तुल्याउनमा मद्दत पु¥याएको छ भने अर्कोतिर यसले कौतूहलता र रोचकता थपेको पनि छ । निबन्धात्मक कृतिभित्र तस्बिर समावेश गर्ने सर्वथा नौलो अभ्यासले प्रस्तुत कृतिलाई प्रयोगपरक रचनाको रुपमा उभ्याएको पनि छ । भाषिक शिल्पमा त्यति निखार आइनसकेको भए पनि अनुभूतिगत तीक्ष्णता, विषयवस्तुगत विविधता एवम् सूचना प्रदान गर्नमा प्रस्तुत कृति उल्लेख्य रहेको छ ।

The post शिक्षा र संस्कृतिसँग सम्बन्धित यात्रानुभूति appeared first on चितवन पोष्ट.