सत्ताको पुनरागमन

सत्ताको पुनरागमन

— धर्मराज अर्याल
ऊ चौबाटो भएर
हाम्रो आँगनमा आइपुग्यो
सुकिलो कपडा
आकर्षक जीउडाल
र कोरिएका लामा कपाल
अनि झोला भिरेको छ काँधमा
हामीले सोध्यौँ उसको परिचय
पछि मात्र थाहा भयो
ऊ त सत्ता पो रहेछ ।

गाउँसहरमा चुनाव आएको छ
घरघरमा झन्डा गाडिएका छन्
त्यसैले त देखिन्छन्
परिवर्तनशील नयाँ अनुहारहरु
मेरो प्यारो गाउँमा ।

यता म भने अलमलमा छु
भोट कसलाई दिने ?
कसलाई जिताउने र हराउने ?
पहिला पनि आउँथे नयाँ मानिसहरु
हाम्रो यो दुर्गम ग्रामीण बस्तीमा,
सडक छैन
बिजुली बत्ती छैन
र गतिलो विद्यालय भवन पनि छैन
गाउँलेले सुनाए दुःखका कुरा
पोकाहरु फुकाए समस्याका
अनि सत्ताले भन्यो–
सबै समस्या समाधान हुन्छ
कृपया भोट मलाई दिनुहोला ।

गाउँमा अस्पताल पनि छैन
चेतना छैन, विवेकशीलता छैन
सोझो धर्का मात्र छ पसिनाको
अनि नुनको सोझो गर्ने प्रवृत्ति ।

यस्तैमा च्याँखे थाप्न आएको छ
सत्ता नामको यौटा नयाँ मानिस
ऊ आश्वासनका पोकाहरु बाँडिरहेछ
गाउँलेहरु हेरिरहेछन् उसलाई ।

चुनावको परिणाम के होला थाहा छैन
त्यो सत्ता पछि गाउँमा आउँछ कि भनेर
प्रतीक्षारत छन् एक हुल गाउँलेहरु ।

The post सत्ताको पुनरागमन appeared first on चितवन पोष्ट.