एमाले चितवनको घोषणापत्र सार्वजनिक, ‘भरतपुरमा रेलको केन्द्र बनाइने’

एमाले चितवनको घोषणापत्र सार्वजनिक, ‘भरतपुरमा रेलको केन्द्र बनाइने’

किशोर खनाल
भरतपुर । नेकपा एमाले चितवनले शनिबार बिहान पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय भरतपुरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायत जिल्लास्तरका नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
एमालेको घोषणापत्रमा भरतपुर महानगरलाई पूर्वपश्चिम रेल यातायातको केन्द्र बनाइने कुरा उल्लेख गरिएको छ । त्यस्तै भरतपुरलाई मेघा सिटीको रुपमा विकास गर्ने, नारायणी नदीमा जलयातायातको व्यवस्था गरिने, चितवन राष्ट्रिय निकुञ्ज र यससँग जोडिएको वन क्षेत्रलाई समेत समेटेर विश्वकै आकर्षक प्रकृति र चिडियाखानाको रूपमा विकास गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्र सार्वजनिक गर्दै एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको मध्यभागमा रहेको भरतपुरलाई चीन र भारतका बीच व्यापारिक कोरिडोरको रूपमा समेत विकास गर्न सकिने बताए । उनले भने, ‘भरतपुरलाई योजनाबद्ध ढङ्गले मेडिकल सिटीकोरूपमा विकास गरिनेछ । आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्क गराउन सबै परिवारलाई समेट्ने गरी स्थानीय स्वास्थ्य बिमा लागू गरिनेछ ।’
एमालेको घोषणापत्रमा आधुनिक कृषि प्रणाली, तरकारी तथा फलपूmल खेती, दुग्ध उत्पादन, कुखुरा तथा पंक्षीजन्य उत्पादन, मत्स्यपालन, माहुरीपालन, चिउरी खेतीजस्ता उत्पादनका क्षेत्रको विकास र औद्योगिक, धार्मिक, शैक्षिक, स्वास्थ्य, र पर्यटनसमेतका क्षेत्रमा चितवनलाई प्रमुख गन्तव्य बनाउन सकिने बताइएको छ ।
भरतपुर अस्पताललाई ५०० शैयाको सुविधासम्पन्न अत्याधुनिक अस्पतालसहितको मेडिकल कलेज, रत्ननगर अस्पताल र माडी अस्पताललाई न्यूनतम ५०÷५० शैया तथा हरेक स्थानीय तहमा न्यूनतम २५ शैयाको अस्पताल निर्माण गरिने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए ।
सबै नागरिकलाई स्वास्थ्य उपचारको पहँुच सुनिश्चित गराउने, बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उत्कृष्ट प्रतिष्ठानको रूपमा विकसित गरिने, भरतपुर आँखा अस्पताललाई शिक्षण अस्पतालकोरूपमा विकसित गरिने, मदनभण्डारी ट्रमा अस्पताल स्थापना गरिने, प्रत्येक वडामा बालविकास केन्द्र स्थापना गरिने, जिल्लालाई एक प्रमुख शैक्षिक तथा प्राविधिक केन्द्रकोरूपमा विकास गरिने, जिल्लामा रहेको कृषि तथा वन विश्वविद्यालय, महाविद्यालय र विद्यालयहरूमा गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
आगामी ५ वर्षभित्र सबै स्थानीय तहमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खेलकुद, मनोरञ्जन, स्वच्छ पर्याप्त पिउने पानीको सुनिश्चितता हुने गरी सबै किसिमको पूर्वाधार विकास गरिने एमालेले जनाएको छ । एमालेको घोषणापत्रमा सबै स्थानीय तहको केन्द्रमा न्यूनतम एउटा विचरण पार्क, मनोरञ्जन स्थल, बाल उद्यान, सुरक्षा चौकी, भ्यूटावर, हेलिप्याड, रङ्गशाला, वाचनलय, पुस्तकालय र सामुदायिक भवनलगायतको व्यवस्था गरिने जनाइएको छ ।
प्रत्येक स्थानीय तह वडाहरूलाई अधिकतम आधा घण्टामा राजमार्गमा पुगिने गरी सडक सञ्जालमा जोडिने, चितवनलाई पर्यटनको पहिलो गन्तव्यको रुपमा विकास गरिने, हरेक वडामा एक सहकारी पसलको व्यवस्था गरिने, सबै स्थानीय तहमा सर्वसुलभ इन्टरनेट सुविधाको पहुँच सुनिश्चित गरिने, चितवनमा एउटा राष्ट्रिय पत्रकारिता प्रशिक्षण केन्द्र स्थापित गरिने पनि एमालले जनाएको छ ।
भरतपुर महानगरपालिका, पूर्वीचितवन र माडीमा न्यूनतम एक–एक वटा आधुनिक स्तरको रङ्गशाला निर्माण गरिने, भरतपुर महानगरको केन्द्रमा रहेको विमानस्थल र सैनिक व्यारेकलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा बाल उद्यान, भ्यूटावरसहितको मनोरञ्जन पार्कको व्यवस्था गरिने, युवा उद्यमशीलता जस्ता कार्यक्रमहरू मार्पmत् रोजगार सिर्जना गर्ने, आधारभूत स्वास्थ्यको सुनिश्चितता गर्ने कार्यक्रम पनि घोषणापत्रमा समेटिएको छ ।

The post एमाले चितवनको घोषणापत्र सार्वजनिक, ‘भरतपुरमा रेलको केन्द्र बनाइने’ appeared first on चितवन पोष्ट.