कांग्रेस र माओवादी केन्द्रले भने ,‘हामी एकअर्कालाई सघाउँछौँ’

कांग्रेस र माओवादी केन्द्रले भने ,‘हामी एकअर्कालाई सघाउँछौँ’

भरतपुर । नेपाली कांग्रेस र माओवादी केन्द्र चितवनले एकअर्का पार्टीका उम्मेदवारलाई सघाउने प्रतिबद्धता गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी दुवै पार्टीको नेतृत्व पंक्तिले पार्टीको केन्द्रीय नीतिअनुसार नै एकअर्काको उम्मेदवारलाई सघाउने प्रतिबद्धता गरेका हुन् ।
भरतपुर महानगर–पालिकाको मेयर पदमा नेपाली कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सघाउने र कांग्रेसका उपमेयर पार्वती शाहलाई माओवादी केन्द्रले सघाउने केन्द्रीय सहमतिअनुसार नै जिल्लामा सहमति भएको कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए । उनले भने, ‘सहमतिले सुरुमा कांग्रेस कार्यकर्तामा केही आक्रोश भएपनि अब साम्य भइसकेको छ ।’
सभापति श्रेष्ठ पत्रकार सम्मेलनमा लोकतान्त्रिक गणतन्त्रको वकालत गर्ने दुई पार्टीको बीचमा सहमति भएको हुँदा पार्टीको निर्देशन पूर्ण रुपमा कार्यान्वयन
गर्ने बताए ।
माओवादी केन्द्रका चितवन इन्चार्ज ईश्वरी भट्टराईले केन्द्रीय स्तरमै भएको सहमतिअनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाललाई काँग्रेसले र उप–मेयरमा कांग्रेसकी पार्वती शाहलाई माओवादीले समर्थन गर्ने सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताए ।
वडामा सहमति भएको छैन
भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहमति भए पनि वडामा सहमति हुन सकेको छैन । दुवै पार्टीले वडाको तालमेल वडा कमिटीलाई दिएका छन् । ‘कांग्रेस र माओवादीको वडा तहको तालमेल वडा कमिटीले गर्न सक्न सहमति भएको छ’ माओवादी केन्द्रका सहसंयोजक घनश्याम दाहाल ‘अविनाश’ले भने । महानगरको वडामा राप्रपा र एमालेसँग कुनै हालतमा नमिल्ने र मिल्न सक्ने अवस्था भए वडामा समझदारी गरेर कांग्रेससँग मिल्ने समझदारी भएको उनले बताए ।
कांग्रेसका जिल्ला सचिव उत्तम जोशीले वडामा माओवादी केन्द्र र कांग्रेसको कुनै तालमेल नभएको बताए । उनले भने, ‘वडा तहले समन्वय नगरे वडामा स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’
वडाध्यक्षलाई कारबाही
माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं. २६ का वडाध्यक्षका उम्मेदवार ज्ञानप्रसाद खनाललाई निलम्बन गरेको छ । जिल्लासँग कुनै समझदारी नगरी वडा तहमा एमालेसँग तालमेल गरेको भन्दै वडाध्यक्षका उम्मेदवार खनाललाई निलम्बन गरेको केन्द्रका जिल्ला सहसंयोजक घनश्याम दाहाल ‘अविनाश’ले जानकारी दिए ।

The post कांग्रेस र माओवादी केन्द्रले भने ,‘हामी एकअर्कालाई सघाउँछौँ’ appeared first on चितवन पोष्ट.