चुनावको मुखमा बढ्दो सुरक्षा चुनौती

चुनावको मुखमा बढ्दो सुरक्षा चुनौती

हेम रोकाहा
भरतपुर २४ बैशाख ।
शनिबार बिहान ३ जना नचिनेका व्यक्तिले भरतपुरका हेमराज पौडेलको आई टेन मोडलको बा. ११ च ९०३० नम्बरको गाडीमा तोडफोड गरे । भरतपुर–१०, स्याउली बजारस्थित आफ्नो घर नजिक पार्क गरेर राखिएको गाडीमा तोफोड भएको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरे ।
प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने क्रममा त्यहाँ नजिकै बियरको बोलमा बन्द गरेर राखिएको बिस्फोटन नभइसकेको पेट्रोल पटाका बमसमेत फेला पा¥यो । प्रहरीले त्यसलाई सुरक्षित तवरले निष्क्रिय पार्न सफल भयो । प्रहरीले यसलाई चुनाव विरोधी समूहको गतिविधिको रुपमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए । हेमराज पौडेल नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेद््वारी दिएकी रेणु दाहालका मामा हुन् । यसकारण पनि यो घटनालाई उम्मेद््वार लक्षित आक्रमणको रुपमा प्रहरीले लिएको छ । तोडफोड गरिएको सो गाडी चुनाव प्रचारमा प्रयोग नगरिएको एक माओवादी नेताले बताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का डीसीएम जयबहादुर कुँवरलाई पक्राउ गरेको छ । अन्य दुईजनाको खोजी कार्य भइरहेको एसपी थापाले बताए ।
स्थानीय निकायको पहिलो चरणको चुनाव नजिकिँदै गर्दा जिल्लामा सुरक्षा चुनौती बढ्दै गइरहेको छ । चुनावमा सहभागी दल तथा कार्यकर्ताहरु प्रचारप्रसारमा लागिरहँदा केही समूहले भने चुनावविरोधी गतिविधि गरेर सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ ।
अबका दिनमा चुनावविरोधी गतिविधि अझ बढ्ने बताउँदै प्रहरी प्रमुख (एसपी) दीपक थापाले त्यसको लागि कडा सुरक्षा रणनीति तयार पारिएको उनले बताए । “चुनावको विरोधमा अपराधिक गतिविधि अझ बढ्दै जाने कुराप्रति हामी सचेत छौं” एसपी थापाले भने, “अघिल्ला चुनावको तुलनामा त यो कम हो । तर, यस्ता गतिविधिलाई निस्तेज पार्न हाम्रो संयन्त्र तयार छ ।” उम्मेद््वारमाथि हुन सक्ने आक्रमणको आँकलन गर्दै प्रहरीले उच्च सतर्कताका साथ सुरक्षा दिइरहेको थापाले बताए ।
चुनावको समयमा हुन सक्ने सम्भावित आपराधिक क्रियाकलापलाई निरुत्साहित पार्न एथेष्ट मात्रामा प्रहरी तैनाथ रहेको उनले बताए । तर, कति प्रहरी तैनाथ छन् भन्ने कुरा उनले खुलाएनन् । उनले भने, “आपराधिक क्रियाकलापको काउन्टरमा प्रहरी लागिरहेको छ । यसको लागि पर्याप्त प्रहरी परिचालन गरिएको छ । अझ परिचालन गरेर बढी भएका २ सय प्रहरीहरु रिजर्भमा छन् ।” अपराधिक कृयाकलापमा लागेका तथा शंकाष्पद व्यक्तिलाई पक्राउ गर्ने र थुन्ने काम भइरहेको थापा बताउँछन् । जसमा हालसम्ममा गुण्डागर्दी गर्ने, तोडफोर्ड गर्ने, चन्दा असुल्ने तथा फरार अभियुक्तसहित चितवन प्रहरीले १६ जनालाई पक्राउ परी थुनामा राखिएको उनले बताए ।