मेयर उम्मेदवार दाहालको प्रचार गाडी तोडफोड 

मेयर उम्मेदवार दाहालको प्रचार गाडी तोडफोड 

भरतपुर । नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार रेणु दाहालको चुनावी प्रचारमा खटिएको गाडी शनिबार बिहान तोडफोड भएको छ ।
भरतपुर–१० स्याउली बजारस्थित दाहालको मामा हेमराज पौडेलको आइ टेन मोडलको बा ११ च ९०३० नम्बरको गाडीमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शनिबार बिहान तीन जना आएर हेमराज पौडेलको गाडीमा तोडफोड गरेका हुन् । अपरिचित व्यक्तिको तोडफोडबाट गाडीको पछाडिको सीसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, सवारी साधनमा होक्सा बम (नक्कली पटका पेट्रोल बम) राखिएको पाइएको छ । बम प्रहरीले निष्क्रिय पारेको छ । सवारी तोडफोडमा र नक्कली बम राखेर आतंक मच्चाउने तीन जनालाई हुलियाको आधारमा पहिचान गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
स्थानीय तह निर्वाचन विरोधी गतिविधीअन्तर्गत चितवन जिल्लामा विभिन्न मिति र समयमा उम्मेदवारहरुको घरघरमा गई कालो झण्डा गाड्ने, उम्मेदवारी फिर्ताका लागि पर्चा दिने, चन्दा माग्ने, बम राख्ने, धाकधम्की दिने जस्ता गतिविधिहरु गर्दै आएका व्यक्ति गिरफ्तार गरिएको प्रहरी प्रमुख एसपी थापाले बताए । कानुन विपरित कार्य गर्ने १४ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

The post मेयर उम्मेदवार दाहालको प्रचार गाडी तोडफोड  appeared first on चितवन पोष्ट.