व्रतबन्धमा संकलित रकमबाट छात्रवृत्ति कोष स्थापना

व्रतबन्धमा संकलित रकमबाट छात्रवृत्ति कोष स्थापना

चनौली । पत्रकार वसन्त पराजुलीले आफ्ना छोरा प्रवासको व्रतबन्धमा संकलित रकमबाट स्व. पिता ज्ञहराज पराजुलीको स्मृतिमा शनिबार भीमनगर उच्च माविमा छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
पराजुलीले एक कार्यक्रममा एक लाख एक सय एक रूपैंयाको चेक विद्यालयका अध्यक्ष श्रीलाल अधिकारी र प्राचार्य कोमलनाथ घिमिरेलाई हस्तान्तरण गरेका हुन् । रकमको प्राप्त व्याजले गरिब, जेहन्दार र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति दिने पराजुलीले बताए । पिता ज्ञहराजको पराजुली सानै हँुदा निधन भएको थियो । कोषलाई क्रमश बढाउदै लगिने पनि उनले बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पराजुली गोर्खापत्र दैनिक र चितवन पोष्टसँग आवद्ध छन् । सो अवसरमा विद्यालयका अध्यक्ष अधिकारी र प्राचार्य घिमिरेले अक्षयकोषको रकमलाई सही सदुपयोग गरिने बताउदै अन्य अक्षय कोषहरुको बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा लायन्सका अगुवा रामप्रसाद भट्टले पराजुलीले छोराको व्रतबन्धमा संकलित रकमको अक्षयकोष बनाएर गरिब, जेहन्दार र टुहुरा विद्यार्थीलाई सहयोग गर्नु सहनिय रहेको विचार राखे ।

The post व्रतबन्धमा संकलित रकमबाट छात्रवृत्ति कोष स्थापना appeared first on चितवन पोष्ट.