सडक अब महानगरकै पैसामा

भरतपुर, २४ बैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदका उम्मेद्वारहरुले महानगर र जनताको साझेदारीमा बन्ने सडक अब महानगरकै स्रोतमा बनाइने बताएका छन् । कृष्णपुर स्पोर्टस् क्लबले आयोजना गरेको ‘उम्मेद्वारसँग अन्तरक्रिया’ कार्यक्रममा उनीहरुले स्रोत अपुग भएमा दातृ निकायको सहयोगमा सडक सञ्जाल विस्तार गर्ने नीति लिइने बताए ।

कांग्रेसका तर्फबाट श्यामप्रसाद लामिछाने, एमालेका राजेन्द्रमणि काफ्ले, माओवादी केन्द्रका शिव भट्टराई, राप्रपाका रामचन्द्र वस्ती र नयाँ शक्ति नेपालका दिलबहादुर खत्रीले आर्थिक भार जनतालाई थुपारेर सडक सञ्जाल विस्तार गर्ने नीति परिमार्जन गरिने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
माओवादी केन्द्रका शिव भट्टराईले करको दायरा फराकिलो पारेर महानगरकै बजेटमा सकेसम्म सबै सडक बनाउन पहल गर्ने बताए । महानगरभित्रका सडक स्थानीयको ४० प्रतिशत लगानी र महानगरपालिकाको ६० प्रतिशत लगानीमा बन्ने हालको व्यवस्था छ । सोही वडामा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालको सेवा तथा गुणस्तर सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसका श्यामप्रसाद लामिछानेले बिग्रेका मेसिन हटाउने, सेवा छिटोछरितो पार्ने, जनताको सेवामा समर्पित अस्पतालका रुपमा विकास गर्न पहल गर्ने बताएका छन् । क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न लविङ गर्ने बताए । उनी क्यान्सर सेवा समाजमा रहेर धेरै वर्ष काम गरिसकेका व्यक्ति हुन् ।
एमालेका राजेन्द्रमणि काफ्लेले ‘हेल्प डेस्क’ नै स्थापना गरी सेवा प्रवाहबारे चासो दिइने बताए । सो अवसरमा स्थानीय भानुभक्त कँडेलले मेयर÷उपमेयर पदमा भएको तालमेलबारे प्रश्न गरेका थिए । शिव लम्सालले प्रेमबस्ती मावि र कृष्णपुरको सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन बनाइएका योजनाबारे उम्मेद्वारसँग प्रश्न गरेका थिए ।
स्थानीय गौरा खरेलले क्यान्सर अस्पताललाई जनताको सेवामा लाग्ने बनाउन आग्रह गरिन् । त्यस्तै अनमोल अधिकारीले चुनावी अभियानमा राष्ट्रिय झण्डाको दुरुपयोगबारे प्रश्न गरेका थिए । सो कार्यक्रमको पहिलो चरणमा मेयर पदका प्रत्यासीहरु रेणु दाहाल, देवी ज्ञवाली, बद्री तिमिल्सिनाले आ–आफ्नो प्रतिबद्धता जनाएका थिए । कृष्णपुर स्पोर्टस् क्लबका अध्यक्ष दीपेन्द्रराज पौडेलले उम्मेद्वारका एजेण्डाबारे सहजरुपमा स्थानीयले जानकारी लिने अवसर मिलेको बताए ।