साझा उम्मेदवार  जिताउने सहमति

साझा उम्मेदवार जिताउने सहमति

विप्लव काफ्ले
भरतपुर,२४ बैशाख ।
नेपाली कांग्रेस चितवन र नेकपा माओवादी केन्द्र चितवनले साझा उम्मेद््वारलाई जिताउन मेयर तथा उपमेयरको संयुक्त प्रचारप्रसार गर्दैछन् ।
केन्द्रमा शीर्षनेताबीचको सहमतिअनुसार मेयर पदमा माओवादी केन्द्रकी उम्मेद््वार रेणु दाहाल र उमपेयर पदमा कांग्रेसकी उम्मेद््वार पार्वती शाहलाई साझा उम्मेद््वार बनाइएको छ । दाहाल माओवादीको महिला संगठनकी केन्द्रीय महासचिव हुन् भने शाह कांग्रेस चितवनको महिला संघ अध्यक्ष हुन् ।
कांग्रेसका तर्फबाट मेयरमा उम्मेद््वारी दिएका दिनेश कोइराला र माओवादी केन्द्रका तर्फबाट उपमेयर पदमा उम्मेद््वारी दिएका सुरेन्द्र गुरुङको उम्मेद््वारी केन्द्रीय तहबाटै फिर्ता गराइएको थियो । भरतपुरमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई पार्टीले केन्द्रीय सहमति र निर्देशन कार्यान्वयन गराउन चार बुँदे सहमति गरेको जानकारी गराएका छन् । “मेयरमा माओवादी केन्द्र नेता रेणु दाहाल र उपमेयर पदमा कांग्रेस नेता पार्वती शाहलाई दुवै दलले समर्थन गर्ने सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गराइने छ”, नेकपा माओवादी केन्द्र चितवनका ईञ्चार्ज ईश्वरी भट्टराईले भने, “दुवै पार्टीका महानगरस्तरीय पार्टी र भातृ संगठनलाई व्यापक परिचालन गरिनेछ ।”
मेयर तथा उपमेयरको संयुक्त प्रचार गर्दै सम्भव भएसम्म दुवै उम्मेद््वारको संयुक्त उपस्थितिमा चुनावी कार्यक्रम अघि बढाइने उनले बताए । महानगरपालिकाभित्रका अन्य वडामा दुई पार्टीबीच समन्वय गरी कार्यक्रम गर्ने तयारी सुरु भएको बताए । चितवनका अन्य तहमा समेत समन्वय गरी काम अघि बढाइने जानकारी दिए ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनको राजनीतिमा अहिलेको परिस्थितिलाई आश्चर्यको रुपमा लिइएको बताए । “अनौठो यात्राका बीचमा प्रतिबद्धता गरेका छौं”, उनले भने, “लोकतान्त्रिक गणतन्त्रविरुद्ध साँठगाँठ गर्ने दलविरुद्ध भरतपुर महानगरमा तालमेल भएको हो ।” मुलुकमा केही समययता भएका घटनाक्रमलाई मध्यनजगर गर्दै सत्ता साझेदारबीच चुनावी तालमेल भएको उनले दावी गरे । “नमूना महानगर बनाउने संकल्पका साथ दुई पार्टी मेयर र उपमेयर पदमा तालमेल गरेका हौं”, उनले भने, “भ्रममा नपरी साझा उम्मेद््वार जिताउन लागौं ।” भरतपुर महानगरपालिकामा २९ वडामा ६५ मतदानस्थल छन् । १ सय ७९ मतदान केन्द्र छन् । १ लाख ५० हजार २ सय ७४ मतदाता छन् ।
उनले महानगरभित्रका वडामा कुनै भागवण्डा भैनसकेको बताए । “स्थानीय वडाका अवस्था बुझेर माओवादी र कांग्रेस तालमेलमा जान सक्छौं”, उनले भने, “अहिल्यै त्यो टुंगो लागेको छैन ।” उनले चितवनका अन्य तहका वडा तहमा तालमेल हुन सक्ने संकेत गरे । माओवादी केन्द्रका ईञ्चार्ज भट्टराईले जिल्ला पार्टीलाई खबर नगरी माओवादी केन्द्र र एमालेबीच वडा नम्बर २६ मा भएको तालमेल बदर गरिएको बताए । “वडाध्यक्ष माओवादी केन्द्रले लिने, वडा सदस्य एमालेलाई दिने सहमति गराएर उम्मेद््वारी फिर्ता भएको रहेछ”, उनले भने, “वडाध्यक्षका उम्मेद््वारलाई बर्खास्त गरेका छौं, अब कांग्रेस वडाध्यक्ष पदका उम्मेद््वार र वडा सदस्यका उम्मेद््वारलाई जिताउन सर्कुलर भइसकेको छ ।” कांग्रेस चितवनका सभापति श्रेष्ठले महानगरभित्रका कुनै ठाउँमा माओवादी केन्द्रबीच तिक्तता नरहने बताए ।
कांग्रेस र माओवादी केन्द्रबाट भरतपुर महानगरमा साझा उम्मेद््वार बनेका नेताࣝहरुले तालमेलले उत्साह थपेको प्रतिक्रिया दिएका छन् । मेयर पदकी उम्मेद््वार रेणु दहालले विस्तृत शान्ति सम्झौताको सहयात्री दलसँगको सहकार्य, एकता स्थानीय चुनावमा समेत हुनुले मतदातामा उत्साह थपिएको बताइन् ।
“घरदैलोमा जादा जनतामा उत्साह पाएका छौँ”, उनले भनिन्, “केन्द्र तहको निर्णयलाई सबैले स्वीकार गरेका छन्, संविधान कार्यान्वयन गराउन तालमेलले राम्रो सन्देश दिएको छ ।” उपमेयरकी उम्मेद््वार पार्वती शाहले चुनाव जित्ने बलियो आधार भएपनि मुलुकको आवश्यकताले दुई दलबीच भएको तालमेल भएको बताइन् । “झट्ट हेर्दा अस्वाभाविक लाग्न सक्छ, कार्यकर्ता असन्तुष्ट हुन्छन्”, उनले भनिन्, “कार्यकर्ताले विगत र भविष्य हेरेका छन्, विस्तारै वास्तविकता बुझेका छन्, तालमेललाई सफल पार्न हामी सबै प्रतिबद्ध भएर लाग्छौं ।” उनले अन्य दलले तालमेल भाँड्न अनेक प्रचारबाजी गरेको आरोप लगाइन् ।

दीर्घकालीन सोचबाट तालमेल
भरतपुर महानगरपालिकामा दीर्घकालीन राजनीतिलाई आधार बनाएर तालमेल गरिएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अनुशासन विभाग प्रमुख अमिक शेरचनले आस्था, सिद्धान्त बिर्सेर दुई पार्टीबीच तालमेल भएको प्रचार निराधार रहेको बताएका छन् ।
“संविधान कार्यान्वयन गर्न नदिन धेरै षड्यन्त्र भएका छन्, चुनाव गराउन नदिन केही लागेका छन्”, उनले भने, “मुलुकलाई खतरामा पार्न सक्ने अवस्था देखेरै हामीबीच तालमेल भएको हो, आस्था र सिद्धान्त भुलेका छैनौं, तालमेल आवश्यक छ ।” नेपालको राजनीतिको दिशा गलत मोडमा नपुगोस् भनेर नै सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच महानगरमा तालमेल भएको जिकिर गरे । जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त भएका मुख्य ५ आधारभूत नीति कार्यान्वयन गराउन समीकरण बनाइएको बताए ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बहुमतको सरकार नहुँदा सत्ता साझेदार दलबीच हुने तालमेल स्वाभाविक भएको बताइन् । “कांग्रेस सांसद्को सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्”, उनले भनिन्, “देउवा पनि माओवादी केन्द्रकै सांसद्को सहयोगमा प्रधानमन्त्री बन्ने दिन आएको छ, तालमेल पार्टी हितविपरीत छैन ।” उनले मेयर र उपमेयर पदमा दुवै महिला नेतृत्व आउने प्रवल सम्भावा ज्यादै प्रशंसायोग्य भएको बताइन् । उनले एमाले र राप्रपाबीच भएको तालमेलले मुलुक संकटको दिशातर्फ धकेलिने खतरा बढेको जिकिर गरिन् ।

महानगरभित्र विगतका निर्वाचन
महानगरमा गाभिएका विगतका निर्वाचन क्षेत्रलाई अध्ययन गर्दा पश्चिम क्षेत्रमा कांग्रेस पकड बलियो छ । महानगरको पूर्वमा एमाले पकड छ । २०४८ सालमा तत्कालीन क्षेत्र नम्बर ३ मा हाल माओवादी केन्द्रका नेता अमिक शेरचनले कांग्रेस नेतालाई पराजित गरेका थिए । यस्तै तत्कालीन क्षेत्र नम्बर दुईमा नेकपा प्रजातन्त्रवादी हाल कांग्रेस नेता भीमबहादुर श्रेष्ठले कांग्रेस नेतालाई हराएका थिए ।
यस्तै २०५१ सालको चुनावमा तत्कालीन क्षेत्र नम्बर ३ मा कांग्रेस नेता गंगाधर लम्सालले एमाले नेतालाई पराजित गरेका थिए । २०५६ सालको चुनावमा फेरि गंगाधर लम्सालले एमाले नेतालाई पराजित गरेका थिए । २०६४ सालको संविधानसभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ४ बाट तत्कालीन एमाओवादीका नेता चित्रबहादुर श्रेष्ठले कांग्रेस नेतालाई हराएका थिए । तत्कालीन क्षेत्र नम्बर ५ बाट हाल माओवादी केन्द्रका नेता अमिक शेचरनले एमालेलाई हराएका थिए ।
तत्कालीन क्षेत्र नम्बर ५ को आधा जति मतदाता हालको महानगरमा पर्छन् । २०७० सालको दोस्रो पटकको संविधानसभाको चुनावमा कांग्रेस पार्टी सभापति सुशील कोइरालाले दोब्बर बढी मत ल्याएर एमाले नेता पार्वती रावललाई पराजित गरेका थिए । तत्कालीन क्षेत्र नम्बर ३ मा एमाले नेता कृष्णभक्त पोखरेलले कांग्रेस नेतालाई करिब तीन हजार बढी मतले पराजित गरेका थिए । यस्तै तत्कालीन क्षेत्र नम्बर ५ बाट राप्रपाका नेता विक्रम पाण्डेले एमाले नेतालाई हराएका थिए । संविधानसभाको उपनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ४ बाट कांग्रेस नेता रामकृष्ण घिमिरेले एमाले नेता रावललाई नै झण्डै तीन हजार बढी मतले पराजित गरेका थिए ।