‘कालिकालाई चितवनकै नमूना नगर बनाइने’

‘कालिकालाई चितवनकै नमूना नगर बनाइने’

खोलेसिमल । कालिका नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार गोपी श्रेष्ठले नेकपा एमालेको विजय पश्चात् कालिका नगरपालिकालाई समृद्ध र समुन्नत् नगरपालिका बनाउने बताएका छन् ।
‘हाम्रो कालिका, राम्रो कालिका’ भन्ने मूल नारालाई मध्यनजर गर्दै यस नगरपालिकाभित्र सडक, ढल, बत्ती, बिजुली, खानेपानी, सिंचाइको व्यवस्थापन गरी समृद्ध र समुन्नत नगरपालिका बनाइ चितवनकै नमूना नगरपालिका बनाउन आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार कालिका नगरपालिका वडा नं. ८ को गैरीबारीमा आयोजित कोणसभामा बोल्दै उम्मेदवार श्रेष्ठले नगरपालिका भित्र रहेका लालपुर्जाविहीनलाई आफू विजयी भएको ६ महिना भित्रमा प्रक्रिया अगाडि बढाइ लालपुर्जा दिने काम गर्ने बताए । यस नगरपालिकामा करिब ५० प्रतिशत मतदाता लालपुर्जाविहीन रहेको भन्दै सिद्धि, शक्तिखोर, पदमपुर र जुटपानी क्षेत्रका लालपुर्जाविहीन, सुकुमबासीहरुलाई नेकपाएमालेले लालपुर्जा वितरणसँगै आयमुलक तथा रोजगार प्रवद्र्धन कार्यसमेत अगाडि बढाउने दाबी गरे ।
कालिका नगरपालिकालाई नमुना नगरपालिका बनाइ ‘एक घर, एक रोजगार’ अभियानलाई चरितार्थ पार्ने समेत उनले घोषणा गरे । नेकपा एमालेले नगरको सर्वाङ्गीण विकासको लागि गुरू योजना तयार गरेको बताउँदै ५ वर्ष भित्र चितवनकै नमुना नगरपालिका बनाउन आफू लागिपरेको बताए ।
त्यसैगरी कार्यक्रममा उपमेयरकी उम्मेदवार कमला भट्टराईले महिला, बालबालिकाको हकअधिकार सुनिश्चित गरी वृद्धवृद्धा भत्ता वितरणलाई समेत सहज बनाउने बताइन् । नगरभित्रका सबै सडकहरुको स्तरोन्नति गर्ने, खानेपानी, सिंचाइ, ढल निर्माण गरी ५ वर्ष भित्र समृद्ध कालिका निर्माण गर्ने समेत उनले बताइन् । पहाडीक्षेत्र सिद्धि र शक्तिखोरलाई पर्यटकीय क्षेत्र, चेपाङ पैदलमार्गको रुपमा विकास गर्ने, पदमपुर र जुटपानीलाई कृषिको आधुनिक खेती प्रणालीमा लैजाने र शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रलाई चाँडो भन्दा चाँडो निर्माण गर्ने वातावरण तयार गरी नगर भित्रका सबै घरधुरीलाई रोजगारी ग्यारेन्टी गर्न समेत आफू प्रतिबद्ध रहेको बताइन् ।
सोही अवसरमा माओवादी केन्द्र परित्याग गरी ८ जना र नेपाली कांग्रेस परित्याग गरी ७ जना एमालेमा प्रवेश गरेका थिए । मेयरका उम्मेदवार गोपीश्रेष्ठ, उपमेयरकीउम्मेदवार कमला भट्टराई, वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार इमप्रसाद अधिकारीलगायतका सदस्यका उम्मेदवार तथा कार्यकर्ताहरुले आइतबार न्यूरेनी, देवीटार, गैरीबारीचोक, छेपेढाप, कालिकालगायतकाक्षेत्रमा घरदैलो, मतदाता भेटघाट तथा कोणसभा गरेका थिए । त्यस्तैगरी नेकपाएमालेका वडा अध्यक्षका उम्मेदवारहरु वडा नं. १ का राजु राई, वडा नंं २ का सोमबहादुर गुरूङ, वडा नं. ३ का टीकाराज रिजाल, वडा नं. ४ का आशाराम चौधरी, वडा नं. ५ का रुदलमहतो, वडा नं. ६ का विनोद रेग्मी, वडा नं. ७ का डिल्लीप्रसाद दवाडी, वडा नं. ९ का लेखबहादुर थापा, वडा नं. १० का मंगल सिं प्रजा र वडा नं. ११ का वडा अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजालगायत वडा सदस्यका उम्मेदवारहरु र एमाले कार्यकर्ताहरुले आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाट गरेका थिए ।

The post ‘कालिकालाई चितवनकै नमूना नगर बनाइने’ appeared first on चितवन पोष्ट.