चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ‘अब भोट हाल्ने काममात्र बाँकी’

चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ‘अब भोट हाल्ने काममात्र बाँकी’

किशोर खनाल
भरतपुर । निर्वाचन कार्यालय भरतपुरले चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘निर्वाचनका लागि जिल्लाले गर्नुपर्ने कामहरु पूरा भएका छन्, अब कर्मचारीहरु फिल्डमा जानुपर्ने काम बाँकी छ । अनि भोट हाल्ने काम बाँकी छ ।’
जिल्ला निर्वाचन कार्यालय भरतपुरले यतिबेला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण कार्यक्रम चलाइरहेको छ । चितवन जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७९० जनालाई अनुशिक्षण कार्यक्रम चलाइएको निर्वाचन कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज सोमबार साँझसम्म अनुशिक्षण कार्यक्रम सकिने तालिम समन्वयकर्ता राजेन्द्रबाबु ढकालले जानकारी दिए । उनले भने, ‘६०० भन्दा बढी मतदान अधिकृतलाई अनुशिक्षण दिएर सकिएको छ, अब केही बाँकी छन् ।’
वैशाख २७ गते दिउँसो दुई बजेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगिसक्नुपर्ने हुन्छ । प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत दुई जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगी हुनेछन् ।
‘प्रशिक्षणका सम्पूर्ण कामहरु आज सोमबार पूरा हुन्छन’ निर्वाचन प्रमुख हरिप्रसाद ढकालले भने, ‘अब जिल्लामा गरिने बाँकी कामहरु छैनन, मतदान केन्द्रमा गर्ने कामहरु मात्र बाँकी छन् ।’ वैशाख २६ र २७ गते मतदान अधिकृतको समूहलाई निर्वाचन कार्यालयले निर्वाचन सामग्री वितरण गर्दैछ ।
२६ गते बिहानैदेखि इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा खटिने मतदान अधिकृतहरुको समूहलाई निर्वाचन कार्यालयले निर्वाचन सामग्री वितरण गर्नेछ ।
भरतपुर महानगरपालिकामा २७ गते बिहानमात्र निर्वाचन सामग्री वितरण गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सामग्री ६५ प्रकारका हुन्छन् । ६४ प्रकारका सामग्री निर्वाचन कार्यालयले वितरण गर्छ भने मतपत्रमात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वितरण गर्छ । निर्वाचन सामग्री बुझ्नको लागि मतदान अधिकृतले नियुक्तिपत्र ल्याउनुपर्ने निर्वाचन कार्यालयको भनाइ छ ।
जिल्लाको सम्पूर्ण स्थानीय तहको मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वितरण गर्नेछ । चितवनमा रहेका सम्पूर्ण ३७६ मतदान केन्द्रले २८, २९ र ३० गते फोटोसहितको मतदाता परिचयपत्र वितरण गर्नेछ । ‘३१ गते चुनावको दिन मतदाता परिचयपत्र वितरण हुँदैन । तीन दिनभित्रैमा परिचयपत्र लिइसक्नुपर्छ’ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने । निर्वाचन शिक्षा कार्यकर्ताहरुको मतदाता शिक्षा कार्यक्रम पनि २७ गते सकिदैछ । चितवनमा ३७६ जना निर्वाचन शिक्षा कार्यकर्ता खटिएका थिए ।
चितवनमा ३ लाख १३ हजार २ जना मतदाता छन् । १६६ मतदान स्थल र ३७६ मतदान केन्द्र रहेका निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको सुरक्षा व्यवस्थाको तयारी पनि पूरा भएको जानकारी दिए । उनले भने, ‘निर्वाचनको लागि जिल्लाको सुरक्षा व्यवस्थाका काम पनि पूरा भएको छ ।’

The post चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ‘अब भोट हाल्ने काममात्र बाँकी’ appeared first on चितवन पोष्ट.