ठाउँठाउँमा एमालेको चुनावी सभा

ठाउँठाउँमा एमालेको चुनावी सभा

रत्ननगर । स्थानीय तहको निर्वाचनको प्रचारको लागि नेकपा एमालेले रत्ननगरका विभिन्न ठाउँका चुनावी सभा गरेर भोट मागेको छ ।
मेयर पदका उम्मेदवार नारायण वन, उपमेयर पदका उम्मेदवार विमला दुवाडीसहित एमालेका पोलिट्व्युरो सदस्य काशिनाथ अधिकारी, जिल्ला इन्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाललगायतका नेता तथा कार्यकर्ताहरुले वडा नं.८ र ९ मा घरदैलो र चुनावी सभा गरी भोट मागिएको हो ।
वडा नंं. ८ को बाघमारा, नरकट्टा वडा नं. ९ को मोहनाचोक, गड्यौलीचोक, लालपर्सा, गणेश चोक र कपरफोरीमा चुनावी सभा गरिएको प्रचारप्रसार समितिका संयोजक प्रेमनाथ दुवाडीले जानकारी दिए । चुनावी सभामा पोलिटव्युरो सदस्य काशिनाथ अधिकारीले नेकपा एमाले रत्ननगर कमिटीले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बनाएका व्यक्तिहरु सक्षम र जुझारु भएको बताएका छन् ।
नेता अधिकारीले एमालेका उम्मेदवाररुलाई विजयी गराउन आग्रह गर्दै एमालेले मात्रै समृद्ध रत्ननगर बनाउने दाबी गरे । अधिकार सम्पन्न स्थानीय तह बनाउनको लागि एमालेले ठूलो भूमिका खेलेको भन्दै अधिकारीले एमालेको प्रयासबाट हुन लागेको चुनावले एमाले आफ्ना मुद्दामा विजयी भइसकेको बताए । कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा नेकपा एमाले चितवनका इन्चार्ज कृष्णप्रसाद खनालले रत्ननगरमा मध्यवर्ती क्षेत्र धेरै भएकोले वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउन एमालेले भिजन ल्याएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर पदका प्रत्यासी नारायण वनले रत्ननगर–९ मा रहेको मोहना माविलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने बताए । रत्ननगरका युवाहरु विदेश पलायन हुने समस्या बढेको उल्लेख गर्दै युवाहरुलाई यहाँ नै रोजगार सिर्जना गराउनको लागि रत्ननगरलाई पर्यटकीय हब बनाउने आफ्नो योजना रहेको वनले जानकारी दिए ।
रत्ननगरमा पाँच वर्षमा ५० लाख पर्यटक भिœयाउने योजना सहित आफूहरु चुनावी मैदानमा होमिएको उल्लेख गर्दै त्यसको लागि सम्पूर्ण नगरबासीले नेकपा एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा उपमेयरकी उम्मेदवार विमला दवाडी रत्ननगरका नगरबासीलाई अधिकार सम्पन्न बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । खुसी नगरवासी र समृद्ध नगर निर्माणको लागि एमालेलाई मतदान गर्न उनले आग्रह गरिन् । वडा नं. ८ मा भएको कार्यक्रममा वडा अध्यक्षको उम्मेदवार विनोद बस्नेतले नमुना वडा निर्माणको लागि आफूलाई मतदान गर्न आग्रह गरे । सो वडा भएको चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी बालसिंह चौधरी, कृष्ण तामाङ र सुष्मिता तामाङमा प्रवेश गरेका थिए ।
वडा नम्बर ९ मा भएको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार रोशन आचार्य, एमाले क्षेत्रीय सदस्य झलक खनालले रत्ननगरको सुकुमबासी बस्ती व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।

The post ठाउँठाउँमा एमालेको चुनावी सभा appeared first on चितवन पोष्ट.