त्रिचोकमा कांग्रेसको कोणसभा

त्रिचोकमा कांग्रेसको कोणसभा

भरतपुर । नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं ४ को त्रिचोकमा सोमबार कोणसभा सम्पन्न भएको छ ।
कोणसभामा भरतपुर महानगरपालिकाकी उपप्रमुख पर्वती शाहा, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, तरुणदलका जिल्ला सचिव प्रल्हाद उप्रेती वडा अध्यक्षका उम्मेदवार उप्रेन्द्रराज सापकोटालगायतले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष रेग्मीले अहिलेको समिकरण देशकाल परिस्थिति अनुसार भएकाले कांग्रेसका कार्यकर्तालाई चिन्तित नहुन आग्रह गरिन् ।
कोणसभापछि ¥याली धर्मचोक, अद्वैतचोक, विशाल चोक हँुदै जगन्नाथ चोकमा पुगेर समापन भएको थियो । यस्तै गीतानगरमा पनि घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका जिल्ला सचिव राजिव न्यौपानेले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले केन्द्रीय परिपत्र र स्थानीय व्यवस्थापनमा चुनावको राम्रो तयारी गरेकोले कांग्रेसका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
यता भरतपुर १०, ११, १२ को संयुक्त चुनावी सभा आइतबार सम्पन्न भएको छ । महिला उम्मेदवार भएकाले मतदातामा निकै उत्साहा बढेको पाइएको सभाकी प्रमुख अतिथि महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बताइन् । चुनावी सभालाई सम्बोधन गर्दै चितवन कांग्रेस सचिव उत्तम जोशीले विस्तृत शान्ति सम्झौतादेखि वर्तमान सरकारसम्म कांग्रेस माओवादी गठबन्धन भएकाले यो गठबन्धनलाई अन्यथा नलिन आग्रह गरे । यसैगरी भरतपुर–१९ गुञ्जनगर र भरतपुर–२६ दिव्यनगरमा पनि कांग्रेसले कोणसभा गरेको छ ।
नेपाली कांग्रेस कालिका नगरपालिकामा पनि विभिन्न गतिविधिहरु सम्पन्न गरेको छ । कालिका वडा नम्बर ६ मा आयोजित चुनावी सभामा बोल्दै नगर प्रमुखका उम्मेदवार कमल आचार्यले खोलेसिमल बजारलाई कालिका नगरपालिकाको व्यवस्थित सहर बनाउने, खोलेसिमलदेखि सिराइचुलीसम्म पुग्ने सडक निर्माण गर्ने, वडा नम्बर ६ मा रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई ५ जना डाक्टरको दरबन्दीसहित २५ बेडको अस्पताल निर्माण गर्नेलगायतको प्रतिबद्धता व्यक्त गरे ।

The post त्रिचोकमा कांग्रेसको कोणसभा appeared first on चितवन पोष्ट.