राप्तीमा माओवादी केन्द्रको चुनावी सभा

राप्तीमा माओवादी केन्द्रको चुनावी सभा

वीरेन्द्रनगर । स्थानीय तहको निर्वाचनको लागि भोट माग्न राप्ती नगरपालिकामा माओवादी केन्द्रले विभिन्न ठाउँमा घरदैलो र चुनावी सभा गरेको छ ।
मेयर पदका उम्मेदवार रामचन्द्र पाठक, उपमेयर पदकी उम्मेदवार कल्पना लामा मोक्तानसहित नेता तथा कार्यकर्ताहरुले विभिन्न तीन वटा वडामा घरदैलो र कोणसभा गरेका हुन् । राप्ती नगरपालिका–३ मा घरदैलो, वडा नं.१० को समिटारमा घरदैलो र चुनावी सभा, वडा नं.११ को आँपपानीमा घरदैलो र चुनावी सभा गरिएको हो । चुनावी सभामा बोल्दै मेयर पदका उम्मेदवार पाठकले पहाडी क्षेत्रका सिमान्तकृत चेपाङ समुदायको विकासको लागि माओवादी केन्द्रको जित आवश्यक रहेको बताए । राप्तीमा आफूले जित हासिल गर्न सके विकास निर्माणसँग सामाजिक तथा आर्थिकरुपले पछाडि परेका समुदायको शसक्तिकरणका लागि काम गर्ने बताए । उनले जनताको आधारभूत आवश्यकतासँग शिक्षा, स्वास्थ्य र खानेपानीको विषयमा जनतालाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाए ।
वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवार रामबहादुर राईलगायत सदस्यका उम्मेदवारहरु, वडा नं. १० मा भरत चेपाङसहित सदस्यका उम्मेदवारहरु र वडा नं. ११ मा सोमिलाल मोक्तान सहित सदस्यहरु सहित घरदैलो र चुनावी सभा गरिएको थियो । सभामा जिल्ला कार्यालय सदस्य प्रकाश खनाल शैलेसले पनि मन्तव्य राखेका थिए ।

 

The post राप्तीमा माओवादी केन्द्रको चुनावी सभा appeared first on चितवन पोष्ट.