विकास निर्माणमा भरतपुर महानगरपालिकाका चुनौतीहरु

विकास निर्माणमा भरतपुर महानगरपालिकाका चुनौतीहरु

रामशरण गैरे
sriramgaire@gmail.com
विसं २०३५ सालमा नगर पञ्चायतको रुपमा स्थापना भएको भरतपुर ०४६ सालको राजनीतिक परिवर्तनपछि नगरपालिका भयो । त्यस्तै, आसपासका पाँच गाविसहरु मंगलपुर, फूलबारी, गीतानगर, शिवनगर र पटिहानी गाभिएर विसं २०७१ साल मंसिर १६ गतेदेखि उपमहानगरपालिका भएको थियो । उपमहानगरपालिका भएको छोटो समयमै पश्चिमका चित्रवन र नारायणी तथा कविलास गाभिएर महानगरपालिका घोषणा भएको भरतपुर महानगरपालिकामा थुप्रै चुनौतीहरु देखा परेका छन् । घोषित चारमध्ये एक हो, चितवनको भरतपुर महानगरपालिका, जुन क्षेत्रफलको हिसाबले अरुभन्दा सानो छ । यसको क्षेत्रफल ४३२.९५ वर्र्गिकमी छ । भरतपुर महानगरपालिकाको जनसंख्या दुई लाख ८० हजार ५०२ छ । जनसंख्या थोरै भएको हुनाले यसलाई सहरीकरण गर्दै जनसंख्या बढाउनु पर्ने छ ।
हामीले ठूला ठूला राजनीतिक एवं सामाजिक परिवर्तन गरिसक्यौँ, भलै त्यसको संस्थागत सिकास अहिले प्रक्रियामा छ । अब हामी आर्थिक एवं सांस्कृतिक परिवर्तनको संघारमा छौँ । आर्थिक परिवर्तनको हाम्रो प्रमुख आधारमध्ये पर्यटन विकास पनि एक हो । यस अर्थमा पनि हामी चितवनवासीका लागि यो उपयुक्त समय हो, यहाँको पर्यटन विकास गर्न । संघीय संरचनाअन्तर्गत हाम्रो चितवन अहिले तीन नं प्रदेशमा पर्छ, जुन समग्र नेपालको केन्द्र भागमा रहेको छ । स्रोत र साधनका हिसाबले पनि हाम्रो चितवन पर्यटन, कृषि र जडीबुटीका लागि धनी छ । समग्र तीन नम्बर प्रदेशकै विकासका दृष्टिकोणले पनि यहाँको पर्यटन विकास अबको आवश्यकता हो । यहाँ रहेका हामी सबै धर्म, जातजाति, वर्ग, समुदायहरुबीचको सामूहिकता नै हाम्रो समृद्धिको आधार हो र हामी चितवनवासीको पहिचान हो । माहानगरपालिकाको अस्तित्व बचाउन पनि लड्नैपर्ने छ । तराई मधेसमा दुई प्रदेशको पुरानै माग भन्दै मोर्चाले लडिरहेकै छ ।
महानगरपालिकाको विकासको कुराबाहेक तत्काल यसको व्यवस्थापनमा केही चुनौतीहरु देखिएका छन् । त्यसलाई सहजीकरण गर्दै जानुपर्छ । महानगरपालिकाको विकास खण्डबाहेक स्रोत व्यवस्थापन, जनशक्ति र समायोजनको चुनौती रहेको छ । अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्ने, सार्वजनिक सम्पत्ति संरक्षणलगायतका कार्ययोजना महानगरपालिकाले ल्याउनुपर्छ । चितवनमा जथाभावी गरिएको प्लटिङले ठूलो समस्या निम्त्याएको छ । अव्याहारिक, अवैज्ञानिक र गैरकानुनी रुपमा प्लटिङ गरिँदा पनि जिल्लाका सरोकारवाला निकाय कानमा तेल हालेर बस्नु आपत्तिजनक छ । हिजो केही व्यक्ति र समूहको क्षणिक व्यापारिक मोहलाई आँखा चिम्लिँदा अब महानगरले समस्या खेप्नुपर्ने निश्चितप्रायः छ । ढल, खानेपानीको पनि समस्या छ । चितवनलाई आर्थिक केन्द्र बनाउन पर्यटन, आवास, कृषि, व्यापारिक केन्द्रको भाग छुट्याउनुपर्छ । कृषि क्षेत्रमा लाग्नेलाई अनुदान दिन सक्ने कार्ययोजना महानगरपालिकाले ल्याउनुपर्छ । यति गर्न सके महानगरपालिका अघि बढ्न सक्छ । महानगरपालिकासामु सबैभन्दा ठूलो चुनौतीका रुपमा पूर्वाधारको विकास देखिएको छ । पूर्वाधारको विकास नगरेसम्म महानगर अघि बढ्न सक्दैन । यसको विकासमा महानगरपालिका लाग्नुपर्छ । जग्गाको भाउ अकासिएको हुनाले यहाँ एकीकृत औद्योगिक क्षेत्र बनाउन अब सम्भव छैन । महानगरपालिकाले साना तथा मझौला उद्योगमा जोड दिनुपर्छ ।
देशकै आर्थिक केन्द्र चितवनलाई आर्थिक राजधानी र मेडिकल सिटीको रुपमा विकास गरिनु पर्ने छ । देशको केन्द्र भाग भएकाले सबैको आँखा लागे पनि दीर्घकालका लागि चितवनलाई एक बनाई विकासका पूर्वाधार तयार पारिनु पर्ने छ । चुनौतीहरु धेरै छन् । सडक, सरसफाइ, स्वास्थ्य र सार्वजनिक सम्पत्तिको संरक्षण नै अहिले महानगरपालिकाका ४ मुख्य चुनौती हुन् । सडक सञ्जाल अझ प्रमुख चुनौती हो । यी चुनौती पार गर्न राजनीतिक दल, उद्योगी व्यवसायी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायहरुले एउटा बृहद् गुरूयोजना बनाउन टड्कारो रुपमा आवश्यक छ । चितवनलाई आर्थिक केन्द्र बनाउन पर्यटन, आवास, कृषि, व्यापारिक केन्द्रको भाग छुट्याउनुपर्छ । अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाउनुपर्छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ । कृषि क्षेत्रमा लाग्नेलाई अनुदान दिन सक्ने कार्ययोजना महानगरपालिकाले ल्याउनुपर्छ । यति गर्न सकेदेखि महानगरपालिका अघि बढ्न सक्छ । महानगरको विकासको खाका ल्याएर अघि बढ्न सके महानगरपालिका हुनुको पनि गर्व रहने छ । ढल, खानेपानी र सडकका चुनौतीहरु छन् । यो चुनौती त्यसै पार हुँदैन । यसमा सबैले एकले अर्कालाई आरोप नलगाई आफ्नो भूमिका र दायित्व बुझेर अघि बढ्नुपर्छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो राष्ट्रिय निकुञ्ज तथा चितवन जिल्लाको सदरमुकाम भरतपुरदेखि २५ किमी पश्चिममा पर्ने मेघौली प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न रहेको छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापूजस्तो देखिने मेघौली काठमाडौँबाट करिब ६ घन्टाको दूरीमा गाडीबाट १६० किमीको यात्रा गरेपछि पुगिने प्रख्यात पर्यटकीय स्थल हो । ८ वटा सामुदायिक वनहरु, सिमसार क्षेत्र, घाँसे मैदान तथा थुप्रै तालहरु भएकाले चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा चराचुरूंगीको बाक्लो बासस्थानका रुपमा मेघौली प्रख्यात छ ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन हो । चितवनको पहिलो पर्यटन क्षेत्र सौराहा हो भने दोस्रो मेघौली नै हो । चितवन निकुञ्जसँग जोडिएकाले यहाँ वाइल्ड लाइफ वन्यजन्तु पर्यटन र स्थानीयको संस्कृति हेर्न पर्यटक आउँछन् । बीचमा पर्यटक सुनसान भएकाले मेघौलीको आकर्षण घटेका बेला अहिले पुनः सञ्चालनमा आउँदा स्थानीयमा पर्यटन क्षेत्र फस्टाउने आशा पलाएको छ । भरतपुरबाट मेघौली जाने सडकमा खाल्डाखुल्डी बढी भएको र स्तरोन्नति नहुँदा सो क्षेत्रमा पर्यटक लैजान सकस हुँदै आएको छ । चितवनमा रहेका ४० वटा पर्यटन गन्तव्यमध्ये भरतपुर महानगरमा २१ वटा रहेको छ । पछिल्लो समय मेघौली क्षेत्रमा मात्रै साना तथा ठूला गरी २२ वटा होटल सञ्चालनमा रहेको छ । त्यसमध्ये ३ वटा ठूला, ६ वटा मझौला र १३ वटा साना होटलसहित होमस्टेहरु सञ्चालनमा रहेको छ । मेघौलीमा ४ सय १८ बेड क्षमता रहेका होटल सञ्चालनमा छन् । हात्ती सफारीका लागि १० वटा हात्ती, ६ वटा जिप सफारी र १५ वटा डुङ्गाको व्यवस्था रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदीको सामीप्यतामा रहेको सो क्षेत्र पर्यटनका हिसाबले प्रशस्त सम्भावना रहेको ठाउँ हो । राप्ती र नारायणीको संगमस्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहाँका ठूला–ठूला जंगल रिसोर्टहरु पहिलेदेखि नै पर्यटकका रोजाइ नबनेका हैनन् ।
धार्मिक तीर्थस्थल देवघाटधाम र नारायणी नदीको विशालतालाई पनि नजरअन्दाज गर्न सक्दैनौँ हामी, चितवन पर्यटन विकासका दृष्टिकोणले । फेरि पनि हामीले भन्नैपर्छ– भौगोलिक सुगमता, पूर्वाधार सम्भाव्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, बरन्डाभारअन्तर्गतका सामुदायिक वनहरु र यहाँका गाउँबस्तीहरु नै पर्यटन विकासका प्रमुख आधारहरु हुन् । त्यसका लागि मेघौलीमा रहेको क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल, जिल्लाभित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाति समुदायका बस्तीहरुलाई सुविधासम्पन्न होमस्टेका रुपमा विकास गर्न सक्छौँ । त्यसैगरी, अन्तर्राष्ट्रियस्तरका ठूला ठूला होटल, रिसोर्ट र क्लबहरुको अवधारणालाई अघि बढाउने हो भने विकसित देशहरुका पर्यटकहरु भित्र्याउन पनि सक्षम हुन्छौँ हामी । अहिले मेघौलीमा भारतको ताज होटलको सहकार्यमा चौधरी समूहको मेघौली सेराई सञ्चालनमा आइसकेको छ । मेघौलीमा अहिले पर्यटक राख्न सक्ने साना–ठूला गरी ११ वटा होटल सञ्चालनमा छन् । पछिल्लो समय ठूलो लगानीमा बनेका चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गा हुन् । यहाँका होटलमा मात्र तीन अर्ब रूपैयाँभन्दा बढी लगानी छ । मेघौलीमा एकैपटक पाँच सय पर्यटक राख्न सकिने अवस्था छ । २५० बेड क्षमताका ११ होटल सञ्चालनमा छन् । चितवनमा होटलमा मात्र करिब २५ अर्बको लगानी रहेको छ । तीमध्ये ६० प्रतिशत लगानी विदेशमा बस्ने नेपालीको छ ।
भरतपुर महानगरपालिकाको पर्यटकीय विकासको सम्भावना बोकेको रामसार सूचीमा सूचीकृत बिसहजारी, राइनोलगायतका विभिन्न तालतलैयाहरुलाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गरी पूर्वाधार तयार गर्ने गोलाघाटमा पुल, मेघौली, शुक्रनगर, जगतपुर, पटियानी, गीतानगर, दिव्यनगर, गुञ्जनगर, मंगलपुर आदिकोे नदी तटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी नारायणी र राप्तीको संगम स्थललाई पर्यटकीय प्रमुख गन्तव्य स्थलका रुपमा विकास गर्नुपर्दछ । नारायणी, राप्ती तटबन्धनसहितको रिङरोड र पर्यटकीय क्षेत्र बनाउनुपर्दछ ।
भरतपुर महानगरपालिकाको साबिक मंगलपुर गाविसको सिमानामा रहेको शिवघाट क्षेत्रलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरूयोजना निर्माण गरिनुपर्दछ । मुकुन्देश्वर महादेवको प्राचीन मूर्ति रहेको सो ठाउँमा झन्डै दुई बिघा क्षेत्रफलमा मन्दिर, पार्क, धर्मशाला र पिकनिक स्थल बनाउने योजनाका साथै यस क्षेत्रको धार्मिक मह¤वलाई अझै उजागार गर्ने र पर्यटनको विस्तार पनि गर्ने योजनाका साथ गुरूयोजना निर्माणमा जुट्नुपर्छ । पाल्पाली राजा मुकुन्द सेन प्रथमले विसं १५९५ देखि १६०० सम्मको पाँच वर्षको अवधिमा ११ वटा रूद्र स्थापना गरेका थिए । शिवघाटमा सोही बेला स्थापना गरेको रूद्र रहेको इतिहासकारहरुले पत्ता लगाएका छन् । त्यसैले, यो ठाउँ प्राचीन र धार्मिक पनि छ । यस्तो ठाउँको विकास हुनुपर्छ । धार्मिक स्थलका साथसाथै पर्यटकीय स्थल पनि बनाएमा सर्वसाधारणको जीवनस्तरलाई माथि उठाउन पनि सकिने हुन्छ । मन्दिरले ओगटेको र खाली रहेको समेत गरेर मन्दिरका नाममा ३४ कठ्ठा जग्गा छ । यसका साथै नारायणी नदीको तटबन्धन भएमा थप एक बिघा जमिन प्राप्त गर्न सकिन्छ । व्यवस्थित रुपमा लागेमा सो क्षेत्रको राम्रो विकास गर्न सकिने सम्भावना रहेको छ । साथै, ज्योतीनगरमा रहेको शिवमन्दिर, गुम्बा, मठमन्दिरहरु पर्साढापमा रहेको परशुराम कुण्डको संरक्षण गर्न जरूरी छ ।
नारायणगढबाट नारायणी नदी हुँदै गोलाघाट र राप्ती किनारैकिनार आँपटारीसम्म आउटरिङ रोड बनाउनुपर्छ । महानगरपालिकालाई यसको पनि चुनौती छ । नारायणी नदीमा बोट चलाएर जलमार्गको विकास गर्न सकिन्छ । आउटरिङ रोड बनेपछि जगतपुर, गोलाघाट र पटिहानी दोस्रो सौराहा बन्न सक्छन् । महानगरपालिकाले विकासका रणनीतिक योजनाहरु बनाउन आवश्यक छ । सडकको लागि छुट्टै गुरूयोजना आवश्यक पर्ने छ । सडक विकासको लागि एउटा सडक गुरूयोजना नै चाहिन्छ ।
पर्यटन आकर्षणका रुपमा विकास भैरहेको पूर्वी चितवनको सौराहादेखि गोही प्रजनन् केन्द्रका रुपमा रहेको पश्चिम चितवनको कसरासम्मको निकुञ्ज क्षेत्र र यसआसपासका सामुदायिक वनहरुलाई हामी पर्यटन क्षेत्रका रुपमा विकास गरी त्यस क्षेत्रका गाउँहरुलाई पर्यटन सिटीका रुपमा अघि बढाउन सक्छौँ, जसले समग्र चितवनको विकास र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउन सक्छ । चितवन राष्ट्रिय निकुञ्जको काखमै पूर्वदेखि पश्चिमतर्फ कल्कलाउँदै बग्ने रापती नदी, नदीकिनारका फराकिला बगरहरु, हात्ती तथा गोही प्रजनन् केन्द्र, सुन्दर एवं रमणीय ताल, विविध धार्मिक स्थलसँगै सबै खाले जंगली जनावरहरुका बीच चराचुरूंगीहरुको संगीतमय वातावरणमा हुने डुंगा सयर, हात्ती सयर, फिसिङ, जंगल सफारी र भ्यू–टावर पर्यटन आकर्षणका आधारहरु हुन् । यी सब कुराहरुलाई व्यव्स्थित गर्दै यसलाई पर्यटन प्याकेजकै रुपमा अघि बढाउने हो र पर्यटन बसाइँका हिसाबले सुविधासम्पन्न पूर्वाधार निर्माण गर्न सक्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौँ । त्यसका साथसाथै एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने हो भने चितवनलाई देशकै पर्यटन केन्द्रका रुपमा विकास गर्न असम्भव देखिँदैन ।
स्थानीय क्षेत्रमा प्रचलित संस्कृति, यहाँ भएका ऐतिहासिक तथा पुराता¤िवक मह¤वका क्षेत्रहरुको संरक्षण, प्राकृतिक स्रोतको व्यवस्थापन र उपयोग गर्दै रचनात्मक ढंगले पर्यटन विकासका पूर्वाधार बनाइयो भने चितवन जिल्लाको पर्यटन विकास अझै उँभो लाग्नेमा कुनै शंका छैन । अब गोलाघाटमा पुल हालेर नवलपरासीसँग जोड्ने, रिङरोडको विकास गर्ने, बाटोघाटोको राम्रो विकास गर्ने, महानगरपालिकाको कार्यालय मंगलपुरतिर सार्ने, मेघौली, जगतपुर र पटिहानीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, ऐतिहासिक रानीपोखरीको संरक्षण र थप पूर्वाधार निर्माण गरेर पयर्टक लोभ्याउने, खेलकुद क्षेत्रको विकासको लागि शारदानगरमा निर्माणाधीन चित्रवन रंगशाला निर्माण गरेर राष्ट्रियस्तरकै रंगशाला बनाउने, दासढुंगादेखि गुञ्जनगर, गाँजीपुर–गोलाघाटसम्म तटबन्धनसहितको पर्यटन पार्क निर्माण गर्ने, भरतपुरलाई मेट्रो सिटीको रुपमा विकास गर्ने, माडी–ठोरी नाका सञ्चालन गर्ने, व्यवस्थित आवास, कृषि, व्यापारको अवधारणाको विकास गर्ने, रंगशाला, उद्योग, कलकारखाना, अस्पताल, शिक्षालयको विकेन्द्रीकरण गर्ने, फोहोर व्यवस्थापनमा जोड दिने, नारायणीबाट जलविद्युत् निकाल्ने, खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गर्ने योजनासहित अब अघि आउनैपर्छ । यतिमात्र पनि गर्न सकियो भने पक्कै भरतपुर महानगरपालिका हुनेछ, नत्र काठमाडौँजस्तै अस्तव्यस्त हुनेछ ।

The post विकास निर्माणमा भरतपुर महानगरपालिकाका चुनौतीहरु appeared first on चितवन पोष्ट.