‘एमाले देशको पहिलो पार्टी बन्छ’

‘एमाले देशको पहिलो पार्टी बन्छ’

देवचुली । नेकपा एमाले केन्द्रीय सदस्य एवम् नवलपुर जिल्ला इन्चार्ज तिलक महतले स्थानीय तहको निर्वाचनबाट एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
मंगलबार देवचुली नगर संगठन कमिटीले देवचुली–९ विशालटारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । वयोवृद्ध आमाबुबा, अपांगता भएका व्यक्ति, एकल महिलालगायतले विश्वास गर्ने एक मात्र पार्टी एमाले भएकाले वैशाख ३१ गते हुने स्थानीय तह चुनावबाट एमाले पहिलो पार्टी बन्ने उनको दाबी छ ।
‘संविधान निर्माण र भारतीय नाकाबन्दीको समयमा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडानको कारण देशभर नै एमालेको पक्षमा जनलहर सिर्जना भएको छ ।’ उनले भने, ‘वैशाख ३१ को चुनावपछि एमाले देश कै पहिलो पार्टी बन्छ ।’
उनले चुनावको समयका कांग्रेस र माओवादी केन्द्रले भ्रमपूर्ण प्रचार गरिरहेको अरोप लगाउँदै त्यस्तो भ्रमपूर्ण प्रचारबाट सजक हुन एमाले कार्यकर्तालाई आग्रह गरे । यसअघि भएको स्थानीय निकायको निर्वाचनमा देवचुली नगरपालिकाको साविकका सबै गाविसमा एमाले विजयी भएको स्मरण गर्दै उनले नगरपालिकाको प्रमुख र उपप्रमुखसहित सबै वडामा एमालेले विजय हासिल गर्ने दाबी गरे ।
सो क्रममा चुनावी सभालाई सम्बोधन गर्दै एमालेको तर्फबाट देवचुली नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवारी हरिप्रसाद न्यौपानेले जनतासँगको एकता र सहकार्यबाट मात्रै नगरपालिकाको विकास सम्भव भएको भन्दै एमाले जनभावना अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

The post ‘एमाले देशको पहिलो पार्टी बन्छ’ appeared first on चितवन पोष्ट.