काम गर्नेलाई मतदान गर्नुहोस : बादल

काम गर्नेलाई मतदान गर्नुहोस : बादल

रत्ननगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वरक्षा मन्त्री रामबहादुर थापा ‘बादल’ ले जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
रत्ननगरका विभिन्न ठाउँमा आयोजित चुनावी सभामा उनले माओवादी केन्द्रले जनताको पक्षमा काम गरेकाले उसकै उम्मेदवारलाई भोट हाल्न आग्रह गरे । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालगायतका प्राप्त उपलब्धिलाई रक्षा र संस्थागत गर्न माओवादी केन्द्रलाई जिताउनुपर्ने उनको भनाइ छ । नेता बादलले माओवादी केन्द्रले निर्वाचन हारे प्राप्त उपलब्धि गुम्न सक्ने चेतावनी दिए ।
आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रत्ननगरले मंगलबार रत्ननगरका वडा नं २, १४ र १६ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकोे थियो । चुनाव प्रचारप्रसारको लागि भोट माग्न माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई ‘सुवोध’ ले केन्द्रको जितले नगरको विकास र आर्थिक समृद्धि हुने बताए । सो अवसरमा बोल्दै उपमेयर पदकी उम्मेदवार संगीता भट्टराईले रत्ननगर नगरपालिकालाई नमुना नगर बनाउनको लागि माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गरिन् । भट्टराईले नगरमा शिक्षाका साथै स्वास्थ्य, विकास निर्माण र ग्रामीण बस्तीका समस्या समाधानको लागि आफूले उपमेयर पदको उम्मेदवार दिएको बताइन् ।
कार्यक्रममा नगर इन्चार्ज कञ्चन खनाल, केन्द्रीय सदस्यहरु विजय हमाल, हुतराज पाण्डे, वाईसीएलका प्रकाश पराजुली, वडा नं २ का वडा अध्यक्षका उम्मेदवार नारायणकाजी श्रेष्ठ, वडा नं १४ का वडाध्यक्षका उम्मेदवार विष्णु पोखरेल र वडा नं. १६ का अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

The post काम गर्नेलाई मतदान गर्नुहोस : बादल appeared first on चितवन पोष्ट.