ढुवानीमा समय लाग्दा  चितवन ल्याइएका बाह्रासिंगा मरे

ढुवानीमा समय लाग्दा चितवन ल्याइएका बाह्रासिंगा मरे

कसरा । डार्ट गरेर ल्याउँदा पर्याप्त सावधानी अपनाउन नसकेका कारण चितवन आइपुगेका बाह्रासिंगाहरु मरेको निकुञ्जका अधिकारीहरुको अनुमान छ ।
लामो समयसम्म गाडीमा राखेर ल्याउनु गलत भएको हुन सक्ने उनीहरुले बताए । राख्ने खोर पनि उपयुक्त नभएको अधिकारीहरुको भनाइ रहेको छ । पश्चिम नेपालको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेर हालै मात्र पाँचवटा बाह्रासिंगा चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । ल्याएर चितवन निकुञ्जमा छाडेकामध्ये दुईवटा बाह्रासिंगा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
शुक्लाबाट तीन पोथीसहित दुईवटा भाले ल्याइएको थियो । मरेका दुईवटै बाह्रासिंगा पोथी हुन् । अब एउटा पोथी र दुईवटा भाले बाह्रासिंगा मात्रै बचेको छ । वैशाख १३ गतेबाट चितवन निकुञ्जमा बाह्रासिंगा ल्याउन सुरू भएको थियो । चैत १८ र २१ गते मरेको अवस्थामा बाह्रासिंगाहरु फेला परेका हुन् । पुरानो पदमपुर रहेको ठाउँमा ठूलो क्षेत्रमा तारबार गरेर बाह्रासिंगा राखिएको छ ।
सोही ठाउँमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट ल्याएको जंगली भैसी अर्नाहरु पनि राखिएको छ । अर्नाहरु राम्रोसँग बसेका बेलामा बाह्रासिंगा भने चितवनमा नबच्दा अधिकारीहरु दुःखित छन् । मृग प्रजातिमा पर्ने बाह्रासिंगा निकै शंवेदनशील प्राणी हो । गर्मी बेलामा समाएर निकै लामो दूरी पार गरेर ल्याएका कारण बिरामी भएर मरेको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।
शुक्लाबाट १६ घण्टाको लामो दुरी पार गरेर ती जनावरहरु यहाँसम्म ल्याइएको थियो । समाएर खोरमा राखेको जनावरहरु लामो समय एकै ठाउँ बस्दा बिरामी भएको हुन सक्ने कँडेलले बताए । एक ठाउँबाट अर्को ठाउँ दौडी रहने मृग प्रजातिको बाह्रासिंगा लागातार एकै ठाउँ १६ घण्टा बस्दा तनावमा आएको हो कि भन्ने उनको अनुमान छ ।
पछिल्लो पटक मरेको बाह्रासिंगा ल्याउँदा २० घण्टा लागेको थियो । बीचमा गाडी बिग्रदा चार घण्टा थप समय लागेको थियो । गर्मी बढेका बेलामा यसरी संवेदनशील जनावर ओसारपसार हुँदा त्यसको असर अहिले देखा परेको हो । शुक्लाबाट २५ वटा बाह्रासिंगा चितवन ल्याउने सरकारको तयारी छ । तर, अहिले स्थानान्तरण कार्य रोकिएको छ ।
‘अब तत्काल स्थानान्तरण हुँदैन । हामीलाई सुधार गर्ने चुनौती पनि थपिएको छ । अब फरक तरिकाले समाउने र ल्याउने गर्नु पर्ने देखिन्छ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । अब धेरै बाह्रासिंगाहरु एकै पटक समाएर ढुवानी पनि एकै पटक गर्न राम्रो हुने उनको भनाइ छ । समूहमा बस्दा बाह्रासिंगा तनावमा नआउने उनले बताए ।

The post ढुवानीमा समय लाग्दा चितवन ल्याइएका बाह्रासिंगा मरे appeared first on चितवन पोष्ट.