निर्वाचन सामग्री बोकेर मतदान अधिकृतहरु गाउँगाउँमा

निर्वाचन सामग्री बोकेर मतदान अधिकृतहरु गाउँगाउँमा

किशोर खनाल
भरतपुर । चितवनका मतदान अधिकृतहरु आज बुधबार निर्वाचन सामग्रीसहित प्रत्येक मतदान केन्द्रमा पुग्दैछन् । रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मतदान अधिकृतहरुले मंगलबार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।
निर्वाचनको लागि ६४ प्रकारका सामग्री आवश्यक पर्छ । सबै सामग्रीहरु निर्वाचन कार्यलय भरतपुरले मतदान अधिकृतहरुलाई बुझाएको छ । ‘मतदान अधिकृतको टोलीलाई निर्वाचन सामग्री बुझाइयो, उनीहरु भोलि (बुधबार) २ बजेसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्छ’ निर्वाचन कार्यलय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले भने ।
उनले भरतपुर महानगरबाहेक एक गाउँपालिका र ५ नगरपालिकाका मतदान अधिकृतहरुलाई मंगलबार निर्वाचन सामग्री बुझाइएको जानकारी दिए । बुधबार बिहान महानगरका अधिकृतहरुलाई निर्वाचन सामग्री बुझाइने उनले बताए ।’
एउटा मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी, २ कार्यालय सहयोगी खटिनेछन् । चितवन जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७९० जना कर्मचारी खटिन्छन् । चितवनमा ३७६ मतदान केन्द्र र १६१ मतदान स्थल रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय भरतपुरले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण दिइसकेको जानकारी पनि गराएको छ । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वितरण गर्नेछ भने अन्य सामग्रीहरु निर्वाचन कार्यालयबाट वितरण भएको छ । चितवनमा रहेका ३७६ मतदान केन्द्रबाट २८, २९ र ३० गते फोटोसहितको मतदाता परिचयपत्र वितरण हुनेछ । मतदाता परिचयपत्र लिन आफैँ नागरिकता लिएर जानुपर्ने निर्वाचन कार्यालय प्रमुख हरि ढकालले बताए ।
‘३१ गते चुनावको दिन मतदाता परिचयपत्र वितरण हुँदैन । तीन दिनभित्रैमा परिचयपत्र लिइसक्नुपर्छ’ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने । चितवनमा तीन लाख १३ हजार २ जना मतदाता छन् । चितवनमा ३७६ जना निर्वाचन शिक्षा कार्यकर्ताहरु भोट हाल्ने तरिका सिकाउन फिल्डमा खटिएका थिए । निर्वाचनमा चितवन जिल्लाभर तीन हजार ३७० कर्मचारी खटिने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।

The post निर्वाचन सामग्री बोकेर मतदान अधिकृतहरु गाउँगाउँमा appeared first on चितवन पोष्ट.